‘मेरा छोरीहरु गसिप गर्दैनन्’

सोमबार, २६ भदौ २०७४, ०९ : १२ शुक्रवार , Kathmandu
‘मेरा छोरीहरु गसिप गर्दैनन्’

अर्जुन रामपाल बलिउडका सबैभन्दा अन्डररेटेड अभिनेता हुन् । उनको अभिनयलाई न्याय गर्ने भूमिका आजसम्म कुनै पनि मेकरले नदिएको बलिउड वृत्तमा बारम्बार चर्चा हुन्छ । फिल्ममा पनि उनको सुगठित शरीर र आकर्षक अनुहारलाई मात्र प्राथमिकतामा राखिँदै आइएको बताइन्छ । अर्जुन यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको कुख्यात अपराधी अरुण गवलीको बायोपिक ‘ड्याडी’मा देखिँदैछन् । उनीसँग एक भारतीय मिडियाले गरेको कुराकानी :
‘ड्याडी’मा त तपाईं निकै फरक अवतारमा आउँदै हुनुहुन्छ । यसबारे तपाईंका छोरीहरुको प्रतिक्रिया कस्तो छ ?
अरु बेलाजस्तै उनीहरु ‘भएन, फेरि भएन’ भन्छन् । ‘रा वन’ फिल्मका लागि मैले तालु चैट पार्दासमेत उनीहरुले यस्तै प्रतिक्रिया दिएका थिए । ‘ड्याडी’का लागि भने म आम आदमीको अवतारमा आउँदा उनीहरुले मैले किन यस्तो गरेको भनेर निधिखुदी गरे । मलाई के लाग्छ भने आफ्नो पात्रलाई न्याय गर्न नयाँ–नयाँ गेटअपमा आउनु जरुरी छ । त्यो कुरा उनीहरु सहज रुपमा स्वीकार्छन् । उनीहरु अहिले हुर्किपनि सके । मेरो कामको गम्भीरता उनीहरुलाई मन परेको छ ।
एक बाबुका रुपमा तपाईंले छोरीहरुलाई फिल्म हेर्न कत्तिको रोकतोक गर्नुहुन्छ ?
अहँ कदापि गर्दिनँ । उनीहरुलाई जे हेर्न मन लाग्छ, निर्धक्क हेर्छन् । अहिले पनि उनीहरुलाई मेरो कुनै फिल्म मन परेन भने हेर्दैनन् । कुन फिल्म हेर्ने, नहेर्ने भन्ने उनीहरुकै मनको कुरा हो । म मेरा सन्तानलाई बलजफ्ती यो गर त्यो नगर भन्न चाहन्नँ । मेरा छोरीहरु मेरा साथी पनि हुन् । बालबालिकालाई बन्देज गर्ने, त्रास दिने काम गर्न थालियो भने सम्बन्धमा रित्तता छाउँछ । अहिले हामीसँग भएका मोबाइल, ट्याब र सामाजिक सञ्जालहरुले यस कुरालाई साथ दिन्छन् । अचेल मानिसहरुको आधा दिन घाँटी बङ्ग्याएर मोबाइलमा आँखा डुलाउँदै बित्ने गरेको मैले देखेको छु । यस्तो कुरा देख्दा अचम्म लाग्छ । बालबालिकालाई असल र इमान्दार बनाउन उनीहरुलाई डर त्रास नदेखाई क्वालिटी समय दिएर मित्रवत् व्यवहार गरियो भने उनीहरु आफूलाई सुरक्षित ठान्छन् र सबै कुरा तपाईंसँग सेयर गर्न सक्छन् ।
तपाईंबारे लेखिएका नकारात्मक कुराबाट छोरीहरुलाई कसरी सुरक्षित राख्नुहुन्छ ?
सामाजिक सञ्जाल अहिले हाम्रो जीवनको हिस्सा नै भइसक्यो । मानिसहरु आफूलाई लागेका कुरा सेयर गरिहन्छन् तर म त्यस्ता कुरालाई मनमा राखेर बस्दिनँ । तपाईंसँग जो मानिसहरु (तपाईंका बालबच्चा, श्रीमती र परिवार) नजिक छन्, उनीहरुलाई तपाईंको यथार्थ थाहा हुन्छ । केही दिनअघि मैलै अल कापोनोको परिवारलाई भेट्न लागेको समाचार पढ्दा निकै हाँसो लाग्यो । अब यस्ता समाचारहरुलाई के नै गर्न सकिन्छ र ? मलाई यस्ता कुराले केही असर गर्दैनन् । तपाईं आज समाचारहरुमा छाउनुभयो भने भोलि मानिसहरुले त्यसलाई अन्तरिक्षसम्म पु¥याइदिन सक्छन् । यस्ता कुराहरुले हाम्रो प्राथमिकताको कामलाई समेत असर गर्छन् । समाचारहरु बिकाउने लोभमा सनसनीपूर्ण बनाइन्छ र यस्तो कुराले पाठकहरु विभाजित हुने सम्भावना धेरै हुन्छ । अहिले बालबच्चाहरु मुर्ख हुन्छन् भन्ने ठान्नु महामुर्खता हो । अहिलेका बच्चाहरु निकै स्मार्ट छन् । उनीहरुलाई आफू वरपर भएका सबै कुराको ज्ञान हुन्छ । मेरा छोरीहरु यस्ता कुराबारे बोल्दैनन् पनि । मलाई लाग्छ, अहिलेका बच्चाहरु गसिप मन पराउँदैनन् र यस्तो कुरा थाहा पाउँदा मलाई निकै खुसी लाग्छ । समाचारहरुमा जेजस्ता कुरा आए पनि उनीहरु आफ्नो ठाउँमा सोचेको भन्दा निकै सकारात्मक छन् । उनीहरु खेलकुद, पढाइ र सूचना ग्रहणमा निकै तेज छन् ।
बाबुका रुपमा तपाईं कत्तिको रक्षात्मक हनुहुन्छ ?
यो स्वाभाविक र प्राकृतिक कुरा हो । जुनसुकै अभिभावक पनि आफ्ना बालबच्चाबारे रक्षात्मक हुन्छन् नै । यो मेरो हकमा पनि लागू हुन्छ । जसै तपाईं अभिभावक बन्नुहुन्छ, तपाईं पक्कै आफ्ना अभिभावकजस्तै रक्षात्मक बन्नुहुनेछ । मैले केही दिन पहिले आर्यन र सुहाना (शाहरुखका छोराछोरी)लाई विमान यात्राका क्रममा भेटेको थिएँ । उनीहरु हुर्किसकेका छन् र सुन्दर पनि छन् । उनीहरुको बानी व्यवहार असल छ र उनीहरु निकै सभ्य छन् । बालबालिकाको व्यवहारबाटै तपाईं कस्तो अभिभावक हो भनेर थाहा हुन्छ तर यस्ता कुराले उनीहरुलाई असर गर्नु भने हुँदैन । त्यसैले मैले अघि भनेजस्तै तपाईं आफ्ना बालबालिकासँग मित्रवत् व्यवहार गर्नुभयो भने उनीहरु आफूलाई सुरक्षित ठान्छन् । यस्तो व्यवहारले उनीहरुको व्यक्तित्वमा समेत असर गर्दैन ।
तपाईं आफ्नो व्यक्तिगत जीवनबारे उनीहरुसँग कत्तिको खुलस्त हुनुहुन्छ ?
पक्कै पनि । मैलै उनीहरुसँग मित्रवत् व्यवहार गर्नु नै यसैको कारण हो । उनीहरु मेराबारे जे पनि जस्तो पनि कुरा खुलेरै गर्छन् । तपाईंले नियम कानुन बनाएर आफ्ना सन्तानलाई केटाहरुसँग नबोल, घरमा कुनै साथी नल्याऊ, घरमा यति समयमा आउनू, यो गर्नू, त्यो नगर्नूजस्ता कुरा गर्न थाल्नुभयो भने तपाईंले सन्तान हैन, घरमा विद्रोह हुर्काउनुहुनेछ । म मेरा बच्चालाई कुनै पनि कुरामा ‘नाइँ’ भन्दिनँ । उनीहरु केही गर्न चाहन्छन् भने म उनीहरुलाई ‘जाऊ एकपटक प्रयास गर अनि आफैँ पत्ता लगाऊ’ भन्छु ।
अनिल कपुरले केही पहिले सोनमका साथीहरु घरमा आउँदा उनीहरु आफूसँग निकट रहेको बताएका थिए । तपाईं माहीका (ठूली छोरी) र माइरा (कान्छी छोरी)का साथीसँग कत्तिको निकट हुनुहुन्छ ?
अहिले मेरो छोरीहरु कलिलै छन् । त्यसैले म उनीहरुका अगाडि काकाजस्तै देखिन्छु (हाँस्दै) । बिस्तारै उनीहरु हुर्कदै जाँदा समयक्रममा म उनीहरुका साथीहरुसँग गफिरहेको हुन सक्नेछु ।
तपाईं र मेहर (श्रीमती)मध्ये को चाहिँ छोरीहरुसँग निकट छ ?
हामीहरु आ–आफ्नो ठाउँमा छौँ । मलाई मेरा छोरीहरुका केही कुरा मन पर्दैनन् । जस्तोः परिवारै बसेर खाना खाने समयमा फोन र आइप्याडमा एकोहोरो घोरिएको मलाई मन पर्दैन तर मेहर यस कुरालाई वास्ता गर्दिनन् । उनी पनि छोरीहरुसँगै भुल्छिन् । म कामको सिलसिलामा प्रायः बाहिर नै हुने हुँदा मेहर नै उनीहरुसँग निकट छिन् ।
छोरीहरुले फिल्म खेल्न चाहे भने ?
म यस कुरामा पूर्ण सहयोगी बन्नेछु । उनीहरु जे काम गर्ने भए पनि यो कुरा लागू हुनेछ । मलाई लाग्छ अभिनय पनि ठूलो अवसर भएको व्यवसाय हो । बलिउडमा आउन निरन्तरता र कडा परिश्रमका साथै शिक्षा र अनुशासनले ठूलो प्रभाव पार्छ । यही कुरालाई आत्मसात गर्दै अघि बढ्न म उनीहरुलाई सुझाउँछु ।

Leave A Comment