इजरायल उड्यो केयरगिभर टोली

बिहिबार, ०६ जेठ २०७३, ०२ : ३६
इजरायल उड्यो केयरगिभर टोली

गत असोजदेखि इजरायल पठाउन थालिएको केयरगिभरको टोली बल्ल यसै साता इजरायल जान पाएको छ । नेपाल र इजरायल सरकारको काम गराइको ढिलासुस्तीका कारण अन्योलमा परेको केयरगिभरको टोली इजरायल उड्न पाएपछि त्यसको प्रतीक्षामा रहेका युवायुवती हर्षित भएका छन् । इजरायल रोजगारी पनि जीटूजी (दुवै देशका सरकारी निकाय) प्रक्रियामा भइरहेको हो । थोरै लगानी गरी राम्रो पारिश्रमिक पाइनुका साथै सहज बसाइ र सुरक्षाको राम्रो व्यवस्था भएका कारण इजरायलको रोजगारीप्रति युवायुवतीको आकर्षण बढ्दो छ । गत जेठमा इजरायल र नेपाल सकारका अधिकाकारीबीच केयरगिभरका लागि नेपालबाट युवायुवती लैजाने सहमति भएको थियो । सोही सहमतिअनुसार पहिलो चरणमा ६० जना कामदार लैजान दरखास्त आह्वान गरिएकोमा तीनमहिने केयरगिभरको तालिम लिएका फेला नपरेपछि सबै नर्सिङ, सीमए र अनमी अध्ययन गरेका छनोट भएका थिए । पहिलो चरणमा सफल भएका उम्मेदवारमध्ये यसै साता १४ जना महिला इजरायल उड्न पाए । उक्त टोलीलाई लिएर वैदेशिक रोजगार विभागका निर्देशक जनकराज रेग्मी पनि इजरायल पुगे । रेग्मीका अनुसार वैशाख महिनाभित्र सबै सफल उम्मेदवारलाई इजरायल पु¥याउने प्रयास भइरहेको छ । पहिलो चरणमा सफल भएकाहरू इजरायल उडेपछि पुनः थप केयरगिभर इजरायल पठाउनेबारे प्रक्रिया थालिने रेग्मीले जनाए ।

सुरुमा एकमहिने केयरगिभरको तालिम लिएकाले प्रतिस्पर्धा गर्न सकिने बताइए पनि पछि त्यस्तो नियमलाई परिमार्जन गरी उम्मेदवारले तीनमहिने केयरगिभरको तालिम लिएको या नर्सिङ, सीएमए, अनमी अध्ययन गरेको हुनुपर्ने बनाइएको थियो । यसपटक केयरगिभरमा छनोेट भएका सबै नर्सिङ, सीएमए र अनमी अध्ययन गरेकाहरू हुन् । भिसा, टिकट लगायतको खर्च ६०–७० हजार रुपैयाँ हुने र मासिक पारिश्रमिक एक लाख रुपैयाँभन्दा बढी हुने भएकाले इजरायलप्रति ठूलो संख्याका युवायुवतीको आकर्षण छ । केयरगिभरको काम भनेको इजरायलमा वृद्धवृद्धा र बालबालिकाको हेरचाह गर्नु हो । दोस्रो चरणमा प्रतिस्पर्धा गर्न तीनमहिने केयरगिभरको तालिम या नर्सिङ, सीएमए तथा अनमी अध्ययन गरेको हुनुपर्ने बताइएको छ ।

 

Leave A Comment