ड्रगिस्ट डाक्टर

सोमबार, २६ भदौ २०७४, ०९ : ०२ पुष्पा थपलिया , Kathmandu
ड्रगिस्ट डाक्टर

ड्रगिस्ट युवाहरूमध्ये अधिकांश उच्च मध्यम वर्गीय र उच्च वर्गीय परिवारका सन्तान हुने गरेको खबर नयाँ हैन तर चिकित्सा अध्ययन गरिरहेका डाक्टर र इन्जिनियर बन्न चाहनेले पनि पढाइमा ध्यान केन्द्रित गर्ने नाउँमा लागू औषधतर्फ आकर्षित हुन थालेका छन् । ड्रगिस्ट डाक्टर तथा इन्जिनियरहरूका बारेमा पुष्पा थपलियाले खोजेको रिपोर्ट ।

दृश्य १ः सम्पन्न परिवारमा जन्मिएका रमेश (नाम परिवर्तन) अहिले २५ वर्षका भए । आमाबुबा दुवै काममा व्यस्त भएकाले उनी सानैदेखि होस्टेल बसेरै पढे । पढ्नमा अब्बल उनी कक्षा १० पढ्दै गर्दा साथीको लहलहैमा चुरोट पिउने भए । एसएलसी निकै राम्रो नम्बरमा पास भएपछि काठमाडौँ मोडल कलेज (केएमसी) बागबजारमा विज्ञान विषय पढ्न थाले । त्यहाँ उनको संगत लागू पदार्थ प्रयोग गर्ने साथीहरुसँग भयो र उनी पनि गाँजा तान्न थाले । गाँजा तानेपछि उनलाई आफू पढाइमा झनै अब्बल भएको महसुस भयो तर नतिजा बाहिरिँदा भने चकित परे, उनले सोचेजस्तो नम्बर आएको थिएन । फलस्वरुप उनी टेन्सन मेन्टेन गर्न ब्राउन सुगरमा उक्लिए । सानैदेखि चिकित्सक बन्ने रहर भएकाले उनी एमबिबिएस पढ्ने तयारीमा लागे तर त्यहाँ नाम निकाल्न उनलाई धौधौ पर्यो । बल्लतल्ल नाम निकालेर पढ्न त थाले, पढेको कुरा दिमागमा यादै नहुने हुन थाल्यो । त्यस समयसम्म उनी कोकिनको लतमा लागिसकेका थिए । कोकिन नेपालमा एक ग्रामको सातदेखि आठ हजारसम्म पर्छ । कोकिनमा लठ्ठिन थालेपछि उनले पढाइ छाडिदिए र अहिले उनी पुनस्र्थापना केन्द्रमा उपचाररत छन् ।
दृश्य २ः पूर्व एसपी रोहिणीकुमार सिंहले २०२२ सालमा जेठा सञ्जय र २०३४ सालमा कान्छा सिद्धार्थ जन्माए । सञ्जय निकै गम्भीर र रचनात्मक प्रवृत्तिका थिए, पढाइमा पनि अब्बल । सञ्जयले जनकपुरको जलेश्वरबाट एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरे र काठमाडौँको अमृत साइन्स क्याम्पसमा आइएस्सी पढ्न थाले । पढाइ राम्रै भएकाले रोहिणीकुमारले छोरालाई इन्जिनियर बनाउन अमेरिका पठाए । कान्छा सिद्धार्थ भने सानैदेखि रक्सीको अम्मली भइसकेकाले उनले खासै राम्रो पढ्न सकेनन् । सिद्धार्थले विभिन्न लागू पदार्थ प्रयोग गर्दै घरमा दुःख दिन थालेपछि आमाबाबुले सञ्जयलाई नेपाल फर्कन धेरै आग्रह गरे तर उनी मानेनन् । आमा आफैँ गएर १४ वर्षपछि जेठा छोरालाई नेपाल ल्याइन् । अमेरिकामा संजयले क्र्यास खाने गरेको उनका साथीहरुले आमालाई सुनाए तर क्र्यास भनेको के हो भन्ने नै थाहा नभएकाले उनले खासै ध्यान दिइनन् । नेपाल ल्याएपछि उनीहरु कान्छा छोरामा नै केन्द्रित थिए, जेठा नर्मल नै लाग्यो । केही समयपछि जेठा अस्ट्रेलिया जान्छु भनेर कर गर्न थाले । बिहे गरिदिए छोरा नेपालमै बस्ला कि भन्ने सोचेर उनको बिहे गरिदिए तर त्यो बिहे चार महिना पनि टिक्न सकेन । यस बीचमा कान्छा छोरा सुध्रेला भनेर उनीहरुले भारतको बेंगलोर पढ्न पठाए । सिद्धार्थ बेंगलोर गएपछि सञ्जय एक्लै भए । वैवाहिक जीवन पनि सफल हुन नसकेकाले उनी निकै निरास देखिन्थे । २०५५ सालको एक बिहान उनी निकै अबेरसम्म पनि उठेनन्, कोठामा गएर हेर्दा सञ्जयको नाकबाट रगत बगिरहेको थियो र उनले सास फेर्न छाडिसकेका थिए । त्यसदिन उनले ओभरडोज लिएका रहेछन्, त्यो कुरा उनका परिवारले धेरैपछि मात्रै थाहा पायो ।
दृश्य ३ः समर (नाम परिवर्तन) लाई सानैदेखि हिरो बन्ने रहर थियो । धरानको हुनेखाने परिवारमा जन्मिएका उनी राम्रो पढ्ने विद्यार्थीमा गनिन्थे । जसका कारण उनका बाबुलाई छोरो डाक्टर बनाएर समाजमा आफ्नो सान बढाउने सोच आयो र उनी समरलाई डाक्टर बनाउन लागिपरे । रुचि एउटा र पढ्नुपर्ने विषय अर्को भएकाले उनी तनावमा परे र ट्याब्लेट खाएर धुम्म पर्न थाले । नाचिरहने, हाँसिरहने र भिडभाड मन पराउने चञ्चले स्वभावका समर बिस्तारैबिस्तारै एक्लै बस्न मन पराउने हुँदै गए । यता परिवारका सदस्यहरु समर परिपक्व हुँदै गएको र पढाइमा मात्रै फोकस भएको सोचेर खुसी भए । उनीहरुले समरको हरेक माग पूरा गरे । पैसा भन्यो पैसा, रोजी–रोजी बाइक, नयाँ–नयाँ ब्रान्डका मोबाइल, उनले कुनै कुराको गुनासो गर्नु परेन । एमबीबीएस पढ्दै गरेका उनी जब झगडालु बने, फोहोरी बने, पढाइ छाडे र कहिले हाँस्ने, कहिले रुने गर्न थाले अनि मात्रै परिवारका सदस्यले उनी कुलतमा फँसेको थाहा पाए । अहिले उनी पुनस्र्थापना केन्द्रमा उपचाररत छन् । उनलाई अझै पनि आफ्नो गल्तीप्रति कुनै गुनासो छैन, न त पश्चाताप नै । केन्द्रमा उपचार गर्न थालेको चार वर्ष पुग्न लाग्दा पनि उनी आफ्ना बाबुलाई दोषी देख्छन् । आफ्नो केही गल्ती नभएको भन्दै उनी परिवारका सदस्यलाई कारबाहीको माग राख्छन् । समर भन्छन्, ‘मलाई बाँच्नु छैन, बाँचेँभने पनि गोटी (ट्याबलेट) खाएरै बाँच्ने हो, हेरौँ कति दिन थुन्न सक्छन् !’
माथि उल्लेखित घटनाहरु हुनेखाने परिवारका हुन् । हुँदा खानेहरुले त सायद पुनस्र्थापना केन्द्रमा पाइला टेक्नसमेत पाएका छैनन् । यसका दुई कारणहरु छन्, रिबर्न रिह्याबिटेसन सेन्टरका प्रमुख किरण प्रजापतिले भने, ‘पहिलो त उपचारको शुल्क नै महँगो हुन्छ र दोस्रो चाहिँ अशिक्षाले पनि ।’ नेपालमा करिब एक लाख ५० हजार युवा लागू पदार्थको दुव्र्यसनी रहेको तथ्यांक छ, जसमा उच्च र मध्यम वर्गका मानिस बढी छन् ।
राजपरिवारदेखि भिखारीसम्म कुलतमा
लागू पदार्थ दुव्र्यसनीले न धनी भन्छ न गरिब नै । नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहका छोरा पारस थाइल्यान्डमा लागू पदार्थसहित समातिए । त्यस्तै पशुपतिमा भिख माग्ने भिखारीको टोली नै गाँजामा मस्त झुमिरहेको हुन्छ । बाटोका सडक बालक प्लास्टिकका झोलामा मुख गाडेर लामोलामो श्वास भित्रबाहिर गर्दै नशामा भुलिरहेका हुन्छन् । त्यसैले लागू औषध दुव्र्यसनीले न त वर्ग हेर्छ, न जातजाति न त उमेर नै । गरिबको तुलनामा हिजोआज धनी परिवारका छोराछोरी यसको निसानामा पर्ने गरेका छन् । जसमा डाक्टर र इन्जिनियरको संख्या दिनदिनै बढ्दै गइरहेको छ । लागू पदार्थ व्यापारीका नजरमा धनी परिवारको एक्लो छोरो पर्ने गरेका छन् ।
पूर्व आइजिपी वसन्त कुँवर भन्छन्, ‘धेरैजसो धनीका छोराछोरी पढ्ने स्कुल, कलेजमा लागू औषधको जालो बिच्छ्याइएको हुन्छ । तस्करले सुरुमा एउटालाई साथी बनाउने र हप्ता दस दिन सित्तैमा ड्रग्स दिइन्छ । त्यतिञ्जेलसम्म सित्तैमा दिइन्छ, जबसम्म ऊ आफैँले माग्दैन ।’
विज्ञहरुका अनुसार कुनै नव प्रयोगकर्ताले ड्रग्स माग्न थालेपछि भने पैसा लिन थालिन्छ । पैसा ल्याउञ्जेलसम्म पैसाले आउनेसम्म लागू औषध दिन्छन् । कुनै दिन पैसा ल्याउन सकेन भने तीन जना साथी ल्याइस् भने, सित्तैमा दिन्छौँ भनेर उसलाई अह्राइन्छ ।
आफ्नो आवश्यकता पूरा गर्न उसले पनि आफ्ना तीन जना साथीलाई ड्रग्स बेच्न थाल्छ र थप फ्रेस तीन जना कुलतमा फँस्छन् । यसरी नै जालो फैलँदै जाँदा नेपालमा ८० प्रतिशत दुव्र्यसनी स्कुल तहबाटै सुरु भएको नार्कोनन् नेपालको अनुसन्धानले देखाएको छ ।  

ड्रगिस्ट डाक्टर
लैनचौरका २० वर्षीय विवेक पढाइमा अब्बल थिए । एसएलसीसम्म उनी आफ्नो विद्यालयमा प्रथम भए । कलेज पढ्न थालेपछि भने उनको पढाइ कमजोर हुँदै गयो ।  राजधानीकै एउटा चर्चित कलेजमा विज्ञान विषय अध्ययन गरिरहेका विवेकको १२ कक्षामा विषय ब्याक लाग्यो । बुबाआमा नै व्यापारी भएकाले उनका लागि राम्रो कलेजमा अध्ययन गर्नु र महँगो मोटरसाइकल चढ्नु नयाँ कुरा थिएन । अभिभावकले पनि एक्लो छोराको पढाइ राम्रो होस् भन्नका लागि प्रायः सबै माग पूरा गरिदिएका थिए ।  छोराका क्रियाकलाप बारेमा पटक्कै ध्यान दिएनन् ।
अभिभावकले छोराका क्रियाकलापबारे हेक्का नराख्दा कलेज पढ्दै गरेका विवेक अहिले मासिक १२ हजार शुल्क तिर्ने गरी कलेज नगई सुधार गृहमा पुर्याइएका छन् । लागू औषधको कुलतमा फँसेका विवेक खुरुखुरी पढेका भए डाक्टर भइसक्थे र सैयौँको उपचार गरिरहेका हुन्थे । उनी यतिखेर अभिभावकका लागि दुःख र पीडाको भारी बनेका छन् । त्यस्तै काठमाडौँको महाराजगञ्जमा रहेको शिक्षण अस्पतालमा स्टाफ नर्सको पदमा कार्यरत एउटी आमा (परिवर्तित नाम आशा) को पीडा पनि विवेकका आमा–बुबाको भन्दा कम छैन । आफू डाक्टर बन्न नसके पनि छोराछोरीलाई डाक्टर बनाउने उनको सपना विपनामा परिणत हुन सकेन ।
पढाइमा राम्रो गरुन् भनेर आशाले आफ्ना छोरा र छोरी दुवैलाई ‘बोर्डस’ गरेकी थिइन् । छोरा र छोरी दुवै जना कुन बेला लागू औषधको कुलतमा फँसेपछि उनले चालै पाइनन् । छोराछोरी दुवै लागू औषधको कुलतमा परेर इन्तु न चिन्तुमा परेपछि व्यापारको सिलसिलामा अस्टे«लियामा रहेका श्रीमान्लाई समेत फिर्ता बोलाइन् । उनले दुवै छोराछोरीलाई कुलतबाट छुटाउने सजिलो उपाय ठानिन्, दुवैलाई विदेश पठाउने । विदेश पठाएपछि उनीहरुले लागू औषध खान पाउँदैनन् र क्रमशः सुध्रन्छन् भन्ने उनको विश्वास थियो तर उनले सोचेजसरी भिसा पनि सजिलै लागिदिएन । अन्ततः दुवै छोराछोरी यतिबेला सुधार गृहमा उपचाररत छन् ।
रिचमन्ड रिह्याबिटेसन सेन्टरमा एक नाम बताउन नचाहने दुव्र्यसनीले कुराकानीका क्रममा आफू चिकित्सक भएको खुलासा गरे । पढाइमा मत्थर भए पनि आफ्नै चिकित्सक बन्ने सोख र परिवारको साथले निकै मिहेनत गरेर उनी एमबिबिएस डाक्टर बने । पढाइमा ध्यान लगाउने भन्दै गाँजा पिउन थालेपछि बिस्तारै उनी दुव्र्यसनमा फँसे । जनरल फिजिसियन डाक्टर बनेर एक अस्पतालमा काम पनि गरे । उनी भन्छन्, ‘अरु बिरामीलाई यो नखानुस्, त्यो नखानुस् भनियो तर आफू भने नखाई बस्नै सकिँदैनथ्यो ।’ पछि उनी आफैँलाई आत्मग्लानि भयो र अहिले पुनस्र्थापना केन्द्रमा छन् ।
टौखेलमा अवस्थित कन्ट्रोल एडिक्सन नेपाल (क्यान) का एक सञ्चालक मुन्ना लामा धेरैजसो विदेशमा बसेर डाक्टरी पढिरहेकाहरु बिदा मनाउन नेपाल आउँदा केन्द्रतिर धाउने गरेको बताउँछन् । उनले भने, ‘हामी उनीहरुको पेसा तथा व्यवसाय त सोध्दैनौँ तर राम्रो घुलमिल हुनेहरुले चाहिँ आफ्नो वास्तविकता खुलाउँछन् ।’ उनको अनुभवमा धेरै अम्मली भने आफ्नो पेसा व्यवसाय खुलाउन नचाहने हुन्छन् । मुन्नाका अनुसार आफ्ना छोराछोरीले राम्रो शिक्षा हासिल गरून् भनेर अभिभावकले विदेश पठाउँछन् तर उनीहरु त्यहाँदेखि कुलतमा फँसेर नेपाल आउँछन् । भारी मात्रामा खर्च गरेर विदेश पठाउने अभिभावकका लागि सुधारगृहमा राख्न त्यति गाह्रो पनि नपर्ने भएकाले डाक्टरको मात्रा सेन्टरहरुमा बढेको हुनसक्ने उनको बुझाइ छ । मुन्नाले भने, ‘यहाँ सबै वर्ग र पेसाका मानिसहरु कुलतमा छन् तर पुनस्र्थापना केन्द्रमा पहुँचवाला र पैसावालाका छोराछोरी मात्रै पुग्छन् र उनीहरु मात्रै नोटिसमा पर्छन् । त्यसैले यहाँ डाक्टरहरु पनि देखिएका हुन् ।’
त्यसैगरी अन्तर्राष्ट्रिय मापदण्डको भनिने नार्कोनन् नेपालकी सञ्चालक पूजा कुँवरले एमबिबिएस पढ्दै गरेका र केही अस्पतालमै काम गरिरहेका चिकित्सकहरु पनि उपचारमा आएका तर उनीहरुबारे बताउन नमिल्ने बताइन् । उनी भन्छिन्, ‘हाम्रो पहिलो शर्त नै उनीहरुको गोप्यता कायम राख्नु हो । तपाईंले भनेजस्तै दुव्र्यसनीहरुमध्ये डाक्टरहरु पनि पर्छन् र छन् तर कति मात्रामा छन्, को को हुन् भन्न मिल्दैन ।’

डाक्टरले ताने कुलतमा  
कलंकी घर भएकी ३० वर्षीया सबिता (नाम परिवर्तन) लाई २०६५ सालमा गाडीले ठक्कर दियो । उनलाई कलंकी चोकमै रहेको सहिद मेमोरियल अस्पतालमा दुई महिनासम्म राखेर उपचार गरियो । त्यस समयमा उनलाई दुखाई कम गर्ने भन्दै विभिन्न ट्याबलेट र क्याप्सुल दिइयो । जसमा लागू औषधअन्तर्गत पर्ने नाइट्रोजेपाम, भेलियम, एस्पिरिन, एभिल, कोडिन, इफिडिन, क्लोफोमार्जिन, गार्डेनर, कामपोजजस्ता क्याप्सुल र ट्याबलेटहरु दिइएको थियो । यी सबैका नाम फरक भए तापनि काम एकै प्रकृतिका हुने लागू औषध हुन् । थोरै प्रयोग गर्दा औषधिका रुपमा काम गर्ने यस्ता ट्याबलेट दुई महिनासम्म लगातार प्रयोग गर्दा उनी यसकै अम्मली बनिन् । पछिपछि उनलाई अझ कडा र झन् कडा लागू औषध आवश्यकता पर्दै गयो । ‘औषधि खान नपाए शरीर दुख्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, कतिखेर औषधि खाउँ हुने हुँदोरहेछ । त्यसैलाई सिक भन्दारहेछन् तर त्यो मलाई अचेल मात्रै थाहा हुँदैछ,’ उनी आँखाभरि आँशु पार्दै भन्छिन्, ‘डाक्टरले कस्तो औषधि दिइरहेको छ, कति समयसम्म मात्रै खानुपर्ने हो भन्ने कुरा हामीले सोध्नुपर्ने रहेछ नत्र मेरोजस्तै हालत जो कोहीको पनि हुनसक्छ ।’

एक पटकको चोर, सधैँको चोर
नेपाली समाजमा कोही दुव्र्यसनमा प¥यो भने त्यस्ता सन्तानका बारेमा अभिभावकले गोप्यता राख्ने र कसैलाई पनि थाहा नहोस् भनेर ढाकछोप गर्ने गर्छन् । छिमेक र समाजमा यस्ता समस्या लुकाउने र हदै भए रिह्याबिलिटेसनसम्म पुग्ने गर्छन् । ‘यस्ता घटना समाजमा थाहा भए विभिन्न समस्या पर्ने मेरो निजी अनुभव छ,’ एउटा पुनस्र्थापना केन्द्रमा भेटिएका एक अभिभावक हरिबहादुर गुरुङले भने, ‘एक पटकको चोर, सधैँको चोर । आफ्ना सन्तान सुध्रिएर राम्रो भए पनि समाजको हेर्ने नजर भने परिवर्तन नहुँदो रहेछ ।’
समाजको हेर्ने दृष्टिकोण सुधार नभएका कारण पनि उनकी छोरीको बिहे हुन सकेको छैन । ‘समाजमा थाहा भए जति सबैले बिग्रेकी केटी भनिदिनाले उसको घर बस्न सकेको छैन,’ गुरुङले दुखेसो पोख्दै भने, ‘छोरी चाहिँ सुध्रिसकी । उसले छुटेको पढाइलाई निरन्तरता दिन थालेकी छन्, पढाइ पनि राम्रो छ । उनी काम गर्न चाहन्छिन् तर उनका बारेमा थाहा पाउनेहरुले काममै राख्दैनन् ।’
गुरुङ थप्छन्, ‘नर्क के रै’छ भनेको त कुलतमा फँसेका छोराछोरी हुनु पो रै’छ !’
कडा कानुन अभाव
नेपालमा सन् १९६० तिर हिप्पीहरुको आगमनसँगै विभिन्न प्रकारका लागू पदार्थको प्रवेश भएको पाइन्छ । त्यस समय लागू पदार्थ सीमित ठाउँमा खुल्लमखुला बिक्री हुने गथ्र्यो । यसले विकृति फैलाउन थालेपछि लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ मा लागू औषधसम्बन्धी कसुर तथा सजायको व्यवस्था भयो । लागू औषध सेवन, कारोबार, निकासी, पैठारी र भण्डारण लगायतका कामलाई निषेध गरेर लागू औषधका किसिम, सेवन, कारोबार, उत्पादन र परिमाणका आधारमा पृथक् सजाय हुने व्यवस्था गरिएको छ ।  सजाय तोक्दा अपराधको मात्रालाई हेरेर न्यूनतम एक वर्ष जेल सजायदेखि एक लाख रुपियाँसम्म जरिवाना छ ।
अन्य मुलुकमा लागू औषध ओसारपसार र कारोबारलाई जघन्य अपराधको रूपमा लिने गरिएको छ । यस्तो अपराधले व्यक्तिविशेषलाई मात्र नभई सिङ्गोे परिवार, समाज र राष्ट्रलाई नै घात गर्ने भएकाले आजीवन काराबास तथा मृत्युदण्डको व्यवस्था छ । नेपालमा भने कमजोर कानुनका कारण एक पटक पक्राउ परेर सजाय भुक्तान गरी छुटेका व्यक्ति पुनः त्यस्तै कसुरमा पक्राउ पर्ने गरेका छन् । अन्तर्राष्ट्रिय आपराधिक समूहले पनि विश्वका अन्य देशमा लागू औषध निर्यात गर्न नेपाललाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाउने गरेको पाइन्छ ।  यसकारण लागू औषध सेवन र कारोबार नियन्त्रणमा अपेक्षाकृत सफलता हात पर्न सकेको छैन ।

‘अभिभावकको गल्ती ५० प्रतिशत’
डा. यादव विष्ट

मनोचिकित्सक, नर्भिक अस्पताल
कुलतमा फँस्ने डाक्टर, इन्जिनियर मात्रै होइनन्, उनीहरुलाई समयमै पुनस्र्थापना केन्द्रमा लगेर उपचार गरेकाले अगाडि आएका हुन् । लागू औषध सेवन र कारोबारमा किशोर उमेरका युवायुवती फँस्नुको मुख्य कारणमा ५० प्रतिशत कमजोरी अभिभावकको देखिन्छ ।  त्यसपछि मात्र साथीसङ्गी, बढ्दो उमेर, लहड, रहर, फ्रस्टेसन र फरक जीवनशैली लगायतका कारण पर्छन् । अभिभावकले बालबालिकाको भविष्यप्रति चिन्ता लिए जति उनीहरूका क्रियाकलापप्रति चासो र चिन्ता नलिएकै कारण स्वतन्त्र वातावरणसँगै बिग्रने र कुलतमा फँस्ने सम्भावना बढी हुन्छ । अहिलेका बालबालिकामा पढाइको प्रेसर बढी छ । बालबालिकालाई कुलतबाट जोगाउन हामीले विभिन्न सतर्कता अपनाउन सक्छौँ । जस्तै :
१.    फजुल खर्चमा नियन्त्रण गर्ने,
२.    विद्यालय/कलेजसम्मका क्रियाकलाप रेखदेख गर्ने वा ध्यान दिने,
३.    छोराछोरी तथा कलेजसँग नियमित सम्पर्कमा रहने,
४.    छात्रावास (होस्टेल) मा राख्नु वा बोर्डस गर्नुभन्दा पढ्नका लागि घरमै उपयुक्त वातावरण बनाउने,
५.    विलासिताका सामग्रीहरू किन्न नियन्त्रण गर्ने,
६.    छोराछोरी सुत्ने घर÷कोठाको नियमित जाँच गर्ने,
७.    उनीहरूले बोक्ने पर्स वा वालेट तथा ब्याग जाँच्ने वा हेर्ने,
८.    साथीसङ्गीसँगको सम्बन्धका बारेमा सोधपुछ गर्ने,
९.    मदिरा वा चुरोट पिउने लतका विषयमा जानकारी लिने,
१०.    पारिवारिक तथा पढाइको तनावबाट मुक्त राख्ने ।  

ड्रगिस्टकाे प्रेम, बैबाहिक जीवन र यौन 

नवीन प्यासी

लागू पदार्थ दुव्र्यसनीमा फँसेकाहरुले सम्बन्धलाई कसरी बुझ्छन् ? उनीहरु सम्बन्धको कुन हदसम्म पुगेर सम्झौता गर्छन् ? प्रेमको कुन उचाइमा पुगेर प्रेमलाई महसुस गर्छन् ?

नाम सुमाना श्रेष्ठ । घर चाबहिल गणेशथान । पाउनुपर्ने सबथोक माया पाएर हुर्केकी । अहिले लिभ इन रिलेसनसिपमा छिन् । एउटी छोरी छे ।
कपन खरिबोट बस्छिन् । केही दिन भयो म उनीसँग नजिक छु । हामी चुरोट खाने बहानामा नजिक भएका हौँ । उनी रक्सी जति भए पनि पिउँछिन् । लागू पदार्थ चाहिँ प्राय पहुँचले भ्याएसम्म सबै प्रयोग गर्छिन् ।
मलाई उनकाबारे बुझ्न मन लाग्यो । जिज्ञासा राख्दा उनी आफ्नो विगत सम्झन्छिन् । क्लिन्टन स्कुल पढ्दा ताका एकजना सँग रिलेसन भयो । पछि उसले धोका दिएपछि पीडा भुलाउन चुरोट तान्न सिकिन् । साथीहरु पनि उस्तैसँग संगत भयो । कलेज चाबाहिल सेन्ट लरेन्स पढेकी । कलेजताका उनले कुनै कुरा पनि बाँकी छाडिनन् । गोटी, ट्याङ्गो, सिरिन्ज सबै हालिन् । उनीहरुको जक्सन पशुपतिको जंगल थियो । कतिपटक पुलिसले समात्यो तर एक हजार रुपैयाँ दिएपछि छोड्दिन्थे । प्राय ‘गोटी’को जोहो उनी गर्थिन् । घरबाट पैसा चोरेर ल्याउँथिन् । कारण उनको ड्याडीको ठूलो किराना पसल थियो गणेशथानमा ।

पछि प्लस टु सकिएपछिको ६÷७ महिना उनीहरुको जक्सन फेरियो । जक्सन चाबहिल गोपीकृष्ण पुलमुनि हुन थाल्यो । नयाँ तीन जना केटाहरु पनि थपिए  ग्याङमा ।  जम्मा ११ जनाको जम्बो टिम बन्यो । बेलुका ७ बजेपछि भेला भएर खान्थे । बिबिए पढ्ने भनेर इन्ट्रान्स प्रिपेरेसनका लगि भनेर घरबाट ल्याएको तीस हजार पैसा खाएरै सकियो । घर जाने बाटो पनि बन्द । सम्पर्कविहीन भइन् उनी घरबाट । सम्पर्कविहीन भएको दोस्रो दिन सबै जना ‘झ्याप’मा सुतिरहेका बेला रामेछापको रिजन तामाङ भन्ने केटासँग उनको यौन सम्बन्ध भयो । केटाले सँगै बस्ने  प्रस्ताव राख्यो । उनले केही सोचिनन्, ठाउँ र ठहर नै नभएका बेला आएको प्रस्तावलाई उनले स्वीकारिन् । ‘केटाकेटी सँगै बसे भइहाल्छ नि ! बिहे नै गर्नुपर्छ र ?’ उनको धारणा छ । रिल्याक्स गरेर बाँच्नु हो जीवन । जिम्मेवारी फिल गरियो भने इन्जोय गर्न पाइन्न । प्रेममा उनलाई रत्तिभर विश्वास छैन उनलाई । नियम–कानुनभन्दा परको संसारमा बाँच्न चाहन्छिन्, उनी ।
प्रेमको बारेमा उनको दार्शनिक तर्क पनि रहेछ– ‘प्रेमले मान्छेलाई बाँध्छ । भावुक बनाउँछ । कमजोर बनाउँछ । बन्धनमा बाँच्नु पनि के बाँच्नु ? हामीले बिहे गरेका हौइनौँ, सँगै बसेका मात्र हौँ ।’
सेक्स पनि जोसँग मन लाग्यो उसैसँग गर्ने हो भन्ने उनलाई लाग्छ । उनी भन्छिन्, ‘जतिबेला मन लाग्छ, त्यतिबेला गर्ने हो ।’ उनले अर्को रहस्य पनि खोलिन्, ‘हाम्रो लाइनमा सेक्स नर्मल हुन्छ । सिक भएको बेला कसैले ‘सामान’ दियो भने बदलामा सेक्स दिनु ठूलो कुरा हुँदैन ।’
उनी थप्छिन्, ‘सधैँभरि झ्याप भइरहनुपर्छ । फ्रेस भयो भने तनाव धेरै हुन्छ । जिन्दगी र भविष्यका बारे धेरै सोचिन्छ । भोलिको के ठेगान ! आजका लागि बाँच्ने हो । अहिलेका लागि बाँच्ने हो !’
उनको पार्टनरलाई पुलिसले समातिरहन्छ । पार्टनर धेरै पटक रिह्याब सेन्टर ट्रान्सफर्मेसन नेपाल सुकेधारामा बसेर फिरेका हुन् तर पनि सुधार केही भएन । अस्ति चुनावको बेला समातेर छाडेछन् पुलिसहरुले । जेलमा राख्ने ठाउँ नभएर ! दुवैले जसोतसो गुजारा चलाइरहेछन् । छोरीका बारेमा उनको आफ्नै तर्क छ । जन्माइसकेपछि पाल्नु त परिहाल्छ तर यसै गरोस् चाहना छैन । भन्छिन्, ‘आफूले जसरी चाह्यो उसैगरी बाँचोस् । जिन्दगी उसको हो, उसैले बाँच्नुपर्छ । मैले पनि त आफैँले चाहेजसरी बाँचे ! म हरेक कुराबाट फ्रि रहन चाहन्छु । मेरो जिन्दगी हो मैले जसरी चाहन्छु, उसैगरी बाँच्छु । नियम कानुनभन्दा पर रहन चाहन्छु ।’
हामी समाजमा छौँ, त्यसको एउटा नियम काइदा भन्ने पनि त हुन्छ नि ? उनको भनाइ छ, ‘यो समाज त स्वार्थीहरुको ग्रुप हो । आरिसेहरुको ग्रुप हो । मतलब गर्नुहुन्न यार ! उनको भाडाको कोठाका ¥याकमा केही किताबहरु छन् । भनिन्, ‘म एक्लै झ्याप हुँदा अलिअलि पढ्छु ।’

उनी अहिले जोसित बसेकी छन्, उसले छाड्यो भने ? त्यसले छाडेर मेरो के जान्छ ? अर्को भेटिहाल्छु नि !’
भोलिका बारे कुनै पीर छैन उनलाई, भन्छिन् ‘बालै भएन ! भोलिको दिन जस्तो आउँछ, उसैगरी चल्छ ।’

उनीजस्तै अर्को एउटा जोडी पनि तल्लो फ्ल्याटमा बस्छन् । ती पनि लागू पदार्थ दुव्र्यसनीमा फँसेका हुन । पति रोहित (खोटाङ) र पत्नी सुनिता (सिन्धुपाल्चोक) । उनीहरुको भेट पाटन कलेजमा भएको थियो । जाउलाखेलबाट उता भैँसेपाटी जाने बाटोमा खरीको बोट छ । त्यहाँबाट देब्रेतिर हिँडेपछि आउँछ, उनीहरुको जक्सन । त्यहीँ उनीहरुबीच प्रेम भयो । उनीहरु दुवै भने प्रेममा विश्वास गर्छन् । प्रेमकै कारणले अहिलेसम्म वैवाहिक जीवन टिकेको उनीहरु बताउँछन् । रोहित भन्छन्, ‘प्रेममा जिम्मेवारी छ, सपना हुन्छ । भविष्यको चिन्ता छ ।’ त्यसैले पनि उनीहरु एउटा रेस्टुराँमा काम गर्छन्, भन्छन्, ‘दुव्र्यसनबाट मुक्त हुन रिह्याब होइन, आफूप्रति जिम्मेवार भए पुग्छ ।’
यो जोडी विस्तारै दुव्र्यसनबाट मुक्त हुने प्रयास गरिरहेको छ । कारण एउटै रहेछ ! रोहितले भने, ‘हामी दुव्र्यसनी भएपछि हाम्रो घरपरिवारले हेला गरे र त्यो हेलाको बदला परिवारलाई केही गरेरै छाड्ने, जीवनमा सफल भएरै छाड्ने वाचा ग¥यौँ । त्यो वाचाले हामीलाई जिन्दगीको उज्यालोतर्फ हिँड्न प्रेरित गरेको छ ।’

 

Leave A Comment