मण्डलामा ‘लाटीको छोरो’

आइतबार, २५ भदौ २०७४, ०१ : १८ शुक्रवार , Kathmandu
मण्डलामा ‘लाटीको छोरो’

काठमाडौं, अनामनगरस्थित मण्डला नाटक घरमा मंगलबारदेखि श्याम शाह कृत नाटक ‘लाटीको छोरो’ मञ्चन भइरहेको छ । यस नाटकबाट ३६ वर्षपछि अभिनेता टीका पहारी रंगमञ्चमा देखिदैछन् ।

नाटकमा सुन्दर बजारको कथा छ, जहाँ परापूर्वकालदेखि बसोबास गर्दै आइरहेका डोम समुदायमाथि त्यहाँ बसोबास गर्ने असुन्दर मान्छेहरुले कसरी राजनीतिक, आर्थिक र सामाजिक रुपमा हस्तक्षेप गरे भन्ने कुरा देखाउन खोजिएको छ । यसै बस्तीभित्र बोल्न नसक्ने, मानसिक सन्तुलन गुमाएकी लाटी पनि बस्छे । उनीमाथि समाजले के–कस्तो दृष्टिकोणबाट असमान व्यवहारहरु गर्छ त्यसकै वरपर नाटक घुमेको छ ।  

३६ वर्षपछि नाटकमा फर्किएका टीका नाटकमा नेता विषनाथको भूमिकामा छन् । नयाँ पुस्ता र नयाँ माहोलबीच काम गर्न पाउँदा उनी दंग छन्, भन्छन्, ‘नयाँ पुस्ता र नयाँ माहोलबीच काम गर्न पाउँदा आफूलाई म तन्नेरी महसुस गरिरहेको छुँ ।
नाटकमा केनिपा सिंहले लाटीको भूमिका निर्वाह गरेकी छन् । ‘चरित्र बोल्न र सुन्न नसक्ने भए पनि मैले नाटकमार्फत केही बोलेकी छु भन्ने लाग्छ, कति सफल भए थाहा छैन,’ केनिपाले भनिन् ।

यस नाटकबाट आफूहरुले सम्भवतः पहिलोपल्ट प्रोडक्सन डिजाइनको अभ्यास थालेको नाटकमा हवल्दारको समेत अभिनय गरेका प्रोडक्सन डिजाइनर प्रकाश दाहालले बताए । ‘कथाको मर्मलाई अन्याय नगरी नाटकीय कला कसरी प्रस्तुत गर्न सकिन्छ भन्नेतर्फ हामीले हरसम्भव प्रयास गरेका छौँ,’ उनले भने, ‘यो अभ्यास सफल भएमा नाटकले टिकटबाट मात्र आम्दानी गर्नुपर्ने बाध्यता हट्न सक्छ । टिकटबाहेक बुकिङ सो पनि हामी गर्दैछौँ ।’

सुलक्षण भारतीको निर्देशन रहेको नाटकमा पशुपति राई, सन्देश लामिछाने, कुन्दन चौधरी, रियर राई, रोशन सुवेदी, राजन काफ्ले, सुदीप खतिवडा, आयान खड्का, मिलन कार्की, अर्बिन खड्का, अर्चना पन्थी र सपना कुमारी चौधरीको पनि अभिनय रहेको छ । श्यामको कथालाई नाट्य रुपान्तरण पनि निर्देशक भारतीले नै गरेका हुन् । किसन श्रेष्ठ र सम्यक महर्जनको संगीत रहेको नाटकमा सुलक्षणकै नाट्य र प्रकाश परिकल्पना रहेको छ । बजार व्यवस्थापनको काम सन्दीप पौडेलले सम्हालेका छन् भने सुलक्षणलाई अर्चना पन्थीले निर्देशनमा सघाएकी छन् ।

साँझ साढे पाँच बजेबाट सुरु हुने नाटक असोज ८ गतेसम्म चल्नेछ ।

Leave A Comment