‘अहिलेको बाटो त गर्लफ्रेन्डका लागि’

आइतबार, २५ भदौ २०७४, ०१ : १० शुक्रवार , Kathmandu
‘अहिलेको बाटो त गर्लफ्रेन्डका लागि’

मेघराज राई,गोंगबु
बा१ज ४३१६
के छ खबर तपाईंको ?
ठीकै छ । चलिराखेको छ ।
तपाईंले ट्याक्सी चलाउन थाल्नु भएको कति वर्ष भयो ?
मैले ? ५ वर्ष भयो ।
यसभन्दा अगाडि के गर्नुहुन्थ्यो ?
भक्तपुरको पस्मिना पसलमा काम गर्थें । त्यहाँ मैले ९ वर्ष जति काम गरेँ । त्यसपछि  एक वर्ष सिङ्गापुरमा काम गरेँ ।
सिङ्गापुरमा पनि ट्याक्सी नै चलाउनु भयो कि क्या हो ?
होइन । काँ पाएर चलाउनु नि ! त्यहाँ त पानी जहाजमा हिँड्ने काम थियो । एक ठाउँबाट अर्को ठाउँमा सिपमा जाने, अनि काम गर्ने । त्यहाँ त माछाले मान्छे नै खाएको देखेँ बाबै ! एकदम खतरा लाग्यो ।
अनि ?
त्यसपछि नेपाल फर्किएँ । मलाई पहिलादेखि नै गाडी चलाउने सोच थियो तर परिस्थिति मिलेको थिएन । त्यसपछि मैले यहाँ पसलमा बस्दाखेरी समय मिलाएर सिकेँ । तुरुन्तै लाइसेन्स पनि लिएँ । अनि आफूले गाडी लिएर चलाउन थालेको हो । मलाई ९ वर्ष काम गर्दा साहूको किचकिच सुन्नु पर्दथ्यो । यसमा भए आफू नै साहू आफू नै कामदार !
तपाईंले त आफ्नो गाडीलाई फूलैफूलले सजाउनु भएको रहेछ त ?
यो मेरो गाडीलाई म भगवान् मान्छु । मेरो आम्दानी गराउने, घर चलाउन मद्दत गर्ने भगवान् नै हो नि, हैन त ! यो मेरो जीवनको अभिन्न अंग हो । यसबिना त मेरो घरको चुलो चल्दैन, त्यसैले म यसलाई सधैँ यसरी नै सजाएर राख्ने गर्छु ।
ड्राइभर धेरै गफाडी हुन्छन् रे हो ?
त्यो त हो तर म त्यसमा पर्दिनँ किनभने म रक्सी, चुरोट र मासु खाँदिन । त्यसैले मेरा साथीहरु पनि कम छन् । मलाई बिनाकारण यत्तिकै कुरा गरेको मनपर्दैन, गर्दिनँ पनि ।
तपाईंहरुका लागि अहिले मुख्य समस्या ?
के हुनु ? बाटो नै त हो नि ! अहिलेको बाटो भनेको गलफ्रेन्ड ब्वाइफ्रेन्डका लागि मात्र हो । किनभने काठमाडौँको बाटो जहाँ पनि खाल्डाखुल्डा मात्रै छन् । अनि गाडी कहिले यता ढल्किन्छ, कहिले उता । त्यतिबेला कहिले ब्वाइफ्रेन्ड गःलफ्रेन्डसँग टाँसिन जान्छ त कहिले गःलफ्रेन्ड ब्वाइफ्रेन्डसँग । यो बाटो त उनीहरुका लागि एउटा नजिकिने पाटो बनेको छ । डाइभरको चैँ धेरै समस्या !
ट्राफिकले कतिको दुःख दिन्छ ?
अब के मात्र भन्ने ? दसैँ आउन ला’को छ । यसबेला झन् केही पैसा कमाउँला भन्छु । ट्राफिकहरु प्यासेन्जर भएर आउँछन् अनि मिटरमा जान मान्दैनन् अनि यत्तिकै लग्यो भने समात्छन् । यसरी आएपछि हामीले कसरी कमाउने ? कहिले केटा, कहिले केटीहरु बनेर आउने गर्छन्, अनि हामीलाई समात्छन् ।
तपाईंको गाडीमा कस्ता खालका यात्रु आउने गर्छन् ?
म अलि सोझो किसिमको परेँ । मेरो ट्याक्सीमा राम्रो प्यासन्जर नै आएको छ अहिलेसम्म किनभने म नराम्रो मान्छेलाई यो गाडीमा चढाउँदिन । कोही पिएर आएका यात्रु  परे भने खाली छैन भन्दिन्छु । पिएर आउनेको भर नै हुँदैन नि त ! पैसा दिन पनि सक्छन्, नदिन पनि । कसैले त कुट्न पनि पछि पर्दैनन् । त्यसैले म यस्तो खाल्को मान्छेलाई ट्याक्सीमा चढाउँदिन । बरु खाली बस्छु ।
गुरुजी तपाईंलाई कहिलेकाहीँ केटीहरुले ठगेका छन् त ?
एकचोटि त भुसुक्कै पारे नि ! आजकलका केटीहरु एकदम बदमास ! एकदिन म स्वयम्भूमा बसिराखेको थिएँ । एकजना केटी आयो र खाली छ भन्यो । मैले छ भनेँ । त्यसपछि ऊ चढी । एक ठाउँमा रोकाई र म एकछिनमा आउँछु है ! फर्कनु पर्छ भनी । मैले पैसा दिएर जानुस् भनेँ । फर्किहाल्छु भनेर जवाफ फर्काई । होला तानि भनेर केही भनिनँ । पछि त आउँदै आइन । यस्ता केटीहरु पनि परे । मौका पर्दा यत्तिकै गायब हुन्छन् ।
यात्रुहरु मिटरमा जान मान्छन् कि त्यत्तिकै ?
धेरैजसो त्यत्तिकै नै जाने गर्छन् । उनीहरु पहिला पैसा फिक्स गरेर जान्छन् ।
तपाईंलाई मिटरमा ठीक लाग्छ कि मिटररहित ?
मलाई त मिटरमा नै ठीक लाग्छ किनभने मिटरमा जाँदा मिटरमा उठेको अनुसार पैसा लिने हो । यसमा बढी भनेको वा अरुलाई ठगेजस्तो पनि हुँदैन । काठमाडौँमा जहिले पनि जामैजाम हुने भएकाले मिटर नै ठीक हुन्छ ।
परिवारलाई ट्याक्सीमा राखेर घुमाउनुहुन्छ ?
घुमाउँछु नि ! समय मिलाएर समय–समय ठाउँ–ठाउँमा घुमाएको छु ।
अहिले दसैँ नजिकिँदै छ । दसैँमा के गर्ने विचार छ नि तपाईंको ?
मेरो त केही छैन प्लान । म त दसैँमा पनि ट्याक्सी नै चलाउँछु । सबैको दसैँ भनेर गाउँ जाने, काम नगर्ने भन्छन् तर म चाहिँ पैसा कमाउने बेला यही हो भनेर खट्छु किनभने कसै–कसैलाई दसैँको बेलामा पनि ट्याक्सी चाहिएको हुन्छ । कसैलाई त अकस्मात इमर्जेन्सी पनि पर्छ । त्यसैले म चाहिँ दसैँमा यात्रुलाई सेवा दिन्छु ।
तपाईंलाई खाली समयमा के गर्न मनपर्छ ?
मलाई काम नै प्यारो लाग्छ । मलाई त काम गर्न नै मनपर्छ । अनि परिवारसँग समय बिताउँछु ।
 प्रस्तुति: रेणु त्वानाबासु

Leave A Comment