जय शिक्षक ! धन्य दीक्षक !!

शनिबार, २४ भदौ २०७४, ०१ : ०६ शुक्रवार , Kathmandu
जय शिक्षक ! धन्य दीक्षक !!

बद्रीप्रसाद  दाहाल           

संवैधानिक अङ्ग लोकसेवा आयोगदेखि चोक वा डबली सेवा आयोगसम्म, मदिरा पिलाइसेवादेखि कोक–फेन्टा तन्काउनेसम्म अनि  भुटन, करी, तास र थरीथरीका रमसम्म बेच्ने काममा असफल भए’छि ‘अल्छी तिघ्रो स्वादे जिब्रो’ म मोरो गोबर गणेश शिक्षण सेवामा प्रवेश गर्न पुगेँ । सरकारी शिक्षक भएर स्कूल पसे’छि आन्दोलनको हुण्डरीमा लाग्दा लाग्दै स्वतः स्थायीको भाग्यशाली चिट्ठा पारियो । कुनै आयोग सायोगको झन्झटमा नपरी वाक्परीक्षामै कागजस्तो ठहरिएँ । घरपायकको जागिर खाएर शिक्षक नायक भई संघसंगठनको मूल गायक नै बनियो । सत्ताधारी राजनीतिक दलको शुभेच्छुक झर्रो भाषामा भन्नु पर्दा झोले बनेर कयौं स्थानीय चुनावहरु हाँक्ने, जनमत आक्ने, विरोधी विचारका योग्यै भए’नि फ्याँक्ने र न्याक्ने काममा लाग्दालाग्दै विद्यालयमा पूर्ण समय दिन सकिनँ । रातारात चुनाव प्रचार गर्न, मिटिङ धान्न, बाँदरे र हल्लुँडे नायक भनाउँदाको भाषण लेख्न तथा यथायोग्य पम्प्लेट पर्चा बनाउनेदेखि छर्ने कामसम्म व्यस्त हुँदा स्कुलमा त अतिथि शिक्षकजस्तै बन्न प¥यो कयौँ वर्ष । बल्ल–बल्ल गान्धी डिभिजन ‘गाइड—चिट उद्योग खरखजना केन्द्र’को सहयोगमा हासिल गरेँ । त्यही बासी डिग्रीलाई तालिम, प्रशिक्षण, कार्यशालाका पालिस चढाएँ, आफ्नो लाइनअनुसार भत्ता बढाउन त्यहाँ पनि आन्दोलक बन्नै पर्ने भयो । अस्थायी शिक्षक जति प्रतियोगितामा भाग लिई स्थायी बन्न पाउनु पर्छ, फेल भए आकर्षक उपदान दिनुपर्छ भनेर धर्ना, रिले अनसन, आमसभा, पिकेटिङका सिङले घोचेर तहल्का मच्चाउन अहिले पनि उत्तिकै खटेको छु । दुवै हातमा लड्डू फलाउन सरकारका ढड्डूहरुलाई भर्खरै घुँडा टेकाएको हजुरहरु सबैलाई थाहा भएकै कुरा हो । यसरी आन्दोलनमै व्यस्त हुनु परेकाले पाठयोजना बनाउने तरिका, मनोवैज्ञानिक शिक्षण प्रणाली, विद्यार्थी केन्द्रित विधि, प्रदर्शन एवं प्रयोगात्मक अभ्यासहरुलाई ग्रहण गरेर भुराका पढाइमा जुरा हलिदिन सकिनँ । त्यसै शिक्षक र दीक्षकको उपाधिमा रङ्गिएँ बा ! किनभने आफूलाई सधैँ संगठनकै राप र तापले च्यापाच्याप पार्ने हुँदा  प्राज्ञिक वा व्यवसायिक दक्षतामा अक्षता झैँ बनियो । ‘अल्छीका ओठमा आहानका झुप्पा’ भने आफूभन्दा तलका अन्जानहरुलाई उपदेश, अर्ती र निर्देशन दिएर ‘अल्प विद्या भयङ्करी’ लाई चरितार्थ गर्न म कैल्यै पछि परिनँ । ‘आधा गाग्रो पानी बढी छचल्किन्छ’ भनेझैँ म पनि बोल्ने काममा बकबकबहादुर नै छु । ‘लिटिल नलेज इज् डेन्जरस् थिङ्’ भनेर उडाउने कनसुत्ला पनि नभएका भने होइनन् । यसैले त सत्तामा राइज जुन पार्टी भयो त्यहीसित साइज मिलाएर ताकपरुन्जेल तिवारी नपरेमा अनि गोतामे, दाहाल, ओली, नेपाल, खनाल, पौडेल, भाटराई के के बन्न पर्ने हो, त्यो मामला कण्ठै छ ।
 शैक्षिक सामग्रीको प्रयोग कुन चराको नाम हो अहिलेसम्म प्राक्टिसको झन्झटमा फसेको छैन । भएभरका आफ्ना बकुन्द्रालाई बोर्डिङ स्कूलमा धकेलेर सरकारी स्कुलको खबरदारी गर्न कम्मर कसेको झन्नै तीन दसक भएछ गाँठे । आपूmले पढाएको स्कूलमा कयौं प्रतिभाशाली प्रथम, द्वितीय हुनेलाई आफ्नै सेयर होल्डरमा खोलेको जोनीवाकर एकेडेमी, ससुराले खोलेको एडिसन मेडिकल रिसर्च सेन्टर, सालोले भर्खरै स्थापना गरेको क्युरी मेमोरियल पार्कतिर कानेखुसी गर्दै काजमा पढाइदिन्छु । पुस्तकालय, वाचानलय, ल्यापटप, कम्प्युटर र प्रोजेक्टर मास्टरको अगाडि टर्टराउन सक्दैन भन्ने मेरो दर्बिलो सिध्दान्त भएको हुँदा ती मेरो लागि माइनरजस्ता छन् । विद्यालय निरीक्षक, विषयविज्ञ र स्रोतव्यक्तिसित मैले ज्ञानगुनको लागि कैल्यै ओत लाग्ने कष्ट गरिनँ । प्रायः मैले पढाउने पाठ्यपुस्तक वार्षिक परीक्षाको अन्त्यतिर आइपुग्दा पनि पाठहरु आधाभन्दा मास्तिर पुग्दैनन् । सधैँ शिक्षककेन्द्रित विधि अपनाई जोक, चुड्का, कथा, हँसिमजक पस्किएर हिसाब जस्तो विषयमा पनि निसाफ साथ पढाउने जोखिम उठाइनँ ।
दैनिक पाठ योजना गर्ने, साप्ताहिक वा मासिक शैक्षिक योजना कोर्ने कागजी झम्मारमा नलागी सबै प्लानलाई मौखिकमै ढाल्न सफल छु । मेरो शिक्षण कलालाई कसैले तलमाथि गरेर विपरीत गला दियो वा जिब्रो फट्कार्यो भने तुरुन्तै ‘यहाँ राजनीति घुस्या छ है !’ भनेर  सम्बन्धित टाउके, लाउके र सुल्सुलानन्दहरुलाई सूचना दिई चना र चिया ज्युनार गराएर स्कुल क्यान्टिनमै साँढा पल्टिन्छु । सत्ताधारी राजनीतिक दल त्यसमा पनि संस्थापन पक्षकै कोर ग्रुपको मान्छे भएकोले जिशिअ लगायतका सबै ‘स’, प्रजिअ, एसपी र विज्ञहरु अज्ञ बनेर मसित मजैले हच्कन्छन् । ज्ञान न गुठुरी शिक्षकको कुटुरी बोक्ने म मोरो छेवर, व्रतबन्ध र अन्य मन्त्रदान कार्यक्रममा दीक्षक भई टोपलेको छु । किनकि हामी शिक्षक त इन्डियन हिरोजस्तै जे विषयको पनि ज्ञाता हो । जे होस्, यो जुनिमा मजाको सरकारी शिक्षक जागिर राम्ररी ठम्याएर अँगालेको हुँदा गर्व साथ भन्छु, ‘जय — शिक्षक’ जय — दीक्षक !

 

Leave A Comment