सम्भावना सकिएको छैन

शनिबार, २४ भदौ २०७४, ०१ : ०४ कमल खत्री , Kathmandu
सम्भावना सकिएको छैन

घरेलु मैदानमा ताजकिस्तानसँग २–१ ले पराजित भएपछि एएफसी एसिया कपको फाइनल चरण खेल्ने नेपालको सम्भावनामा थप चुनौती थपिएको छ । समूह चरणका तीन खेलबाट नेपालले एक अंक मात्र जोडेको छ । समूहको अन्तिम स्थानमा पुगेपछि नेपालको फाइनल खेल्ने सम्भावना चुनौतीपूर्ण बन्दै गएको हो ।
छनोट खेलको समूह ‘एफ’ रहेको नेपालले यसअघिका दुई खेलबाट १ अंक मात्र जोडेको थियो ।
यमनसँग काठमाडौँ हल्चोक मैदानमा गोलरहित बराबरी खेल्दै १ अंक जोडेको थियो । समूह चरणका दुई खेल हारिसकेको ताजकिस्तानलाई घरेलु मैदानमा नेपालले हराउँदै छनोट हुने सम्भावनालाई बलियो बनाउने लक्ष्यमा थियो तर जापानी प्रशिक्षक ग्याटुको कोजीको प्रशिक्षणमा रहेको नेपालले घरेलु मैदानको फाइदा उठाउन सकेन ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानको पहिलो हाफ नेपालका लागि सुखद् थिएन । आफ्नो परिचित मैदानमा नेपाली खेलाडीको नियन्त्रणमा खेल थिएन । डिफेन्स कमजोर हुँदा नेपालले सुरुआतमा दुई गोलको सामना गर्नु परेको थियो । मिडफिल्ड र सुरुआती स्ट्राइकरको रुपमा मैदानमा आएका भरत खवास र नवयुग श्रेष्ठले ताजाकिस्तानको पोस्टमा दबाब दिन सकेन । आफूले बनाएको योजना अनुसार स्ट्राइकरले जिम्मेवारी पुरा गर्न नसकेपछि कोजीले नवयुगलाई ३८ र भरतलाई ५८औं मिनेटमा मैदान बाहिर बोलाए । नवयुगको स्थानमा आएका बिमल घर्तीमगरले भने केही लामो प्रहार गर्दै ताजकिस्तानका गोलकिपरलाई केही समय व्यस्त बनाउने कोसिस गरे ।
२५ औँ मिनेटमै ताजकिस्तानले डिजाली लोभको गोलबाट अग्रता लिएको थियो । कर्नर प्रहार गरेको बल नेपालका गोलकिपर किरण जेम्जोङले नियन्त्रणमा लिन नसकेको बेला हुलमुलमा डिजाली लोभले गोल गरेका थिए । २९औं मिनेटमा भैसिभ डिलसुडले ताजकिस्तानको अग्रतालाई दोब्बर बनाए । एलिभ जाहोन्जिरको क्रसलाई किरणले हातबाट छुटाएपछि डिलसुडले गोल गर्ने अवसर पाएका थिए । किरणले नियन्त्रणमा लिइसकेको बल हातबाट फुत्ताएपछि खाली खाली पोस्टमा डिलसुडले गोल गर्दै नेपाली दर्शकलाई शान्त पारेका थिए ।
२ गोलले पछि परेको नेपालका लागि ६१ औं मिनेटमा विमलले गोल गर्दै खेलमा फर्कने आशा जगाए । अञ्जन बिष्टको पासमा विमलले एक्लो प्रयासमा गोल गर्दै नेपाली टोलीको हौसला बढाएका थिए । विमलले ताजकिस्तानका गोलकिपर माहाकामोभ अब्दुजिजलाई चिफ गर्दै गोल गरे । विमलको गोलबाट उत्साही भएको नेपालका लागि कमल श्रेष्ठले ८१ औं मिनेटमा सशक्त प्रहार गरेका थिए । कमलको लामो प्रहारलाई ताजकिस्तानका गोलकिपरले पन्च गर्दै खेल बराबरी हुनबाट जोगाए ।
कमलको प्रहारपछि भने नेपाली टोलीले विपक्षीको पोस्टमा गतिलो प्रहार गर्न सकेन । ताजकिस्तानी डिफेन्स खेलको अन्त्यतिर तनावमा देखिए पनि नेपाली खेलाडीलाई गोल गर्नबाट भने रोक्न सफल भए । खेल जितेसँगै ताजकिस्तान खेलाडीले ३ अंक बटुलेको खुसी नेपाली समर्थक माझ साटे । ताजकिस्तान टोलीले प्यारापिटमा उपस्थित दर्शकलाई ताली बजाएर आभार प्रकट गर्दै मैदानबाट बाहिरिएका थिए । ताजकिस्तानका प्रशिक्षक खाकिम भुजाएलोभले ३ अंक जोडन टोलीको लक्ष्य पूरा भएको बताए ।
हारसँगै नेपाल समूह ‘एफ’ को पुछारमा पुगेको छ । नेपालले मंगलबार घरेलु मैदानमा ताजकिस्तानलाई हराउँदै छनोट हुने सम्भावना बलियो बनाउने लक्ष्य लिएको थियो । ताजकिस्तान समूह चरणको अघिल्ला दुई खेलमा पराजित भएको टोली हो । नेपालले यमनसँग गोलरहित बराबरी खेलेर १ अंक जोडेको छ । मंगलबार नेपाललाई हराउँदै ताजकिस्तानले ३ अंक बटुल्दै तेस्रो स्थानमा पुगेको छ । फिलिपिन्स ६ अंक समूहको शीर्ष र ४ अंक जोडेको यमन दोस्रो स्थानमा छ ।
जापानी प्रशिक्षक ग्याटुको कोजीले हारले छनोट हुन सम्भावना नसकिएको बताए । उनले भने, ‘हामीले योजनाअनुसार नतिजा निकाल्न सकेनौं । पहिलो हाफमा स्ट्राइकरले आफ्नो जिम्मेवारी पूरा गरेनन् तर हामीले दोस्रो हाफमा राम्रो खेल्यौं । हारले दबाब होइन चुनौती थपेको छ ।’

 

Leave A Comment