ब्यान्डको आरक्षणमा आरक्ष

शनिबार, २४ भदौ २०७४, १२ : ३३ शुक्रवार , Kathmandu
ब्यान्डको आरक्षणमा आरक्ष

वातावरण, समाज र समग्र विश्व अहिले नाजुक अवस्थामा छ । वातावरण विज्ञ र गैरसरकारी संस्थाले काठमाडौंलाई धुलोमाडौंकै संज्ञा दिन पनि थालिसकेका छन् । थानकोट नागढुङ्गादेखि काठमाडौं प्रवेश गर्ने मार्गमा त एक गैरसरकारी संस्थाले मास्कमाडौंमा यहाँलाई स्वागत छ, कृपया बिना माक्स यहाँ प्रवेश नगर्नुहोला भनेर बोर्ड नै बनाएको छ । विभिन्न किसिमका प्रदूषणले वातावरण बिगारिरहेको छ भने हत्या, हिंसा र अराजकता बढेको छ ।
यो कुरा काठमाडौँमा मात्र सीमित छैन । हरेक मुलुक यस्तै पीडामा रुमल्लिएका छन् । यस्ता क्रियाकलापका कारण संसार नै आक्रान्त छ । यस किसिमको प्रवृत्तिलाई समयमै रोकथाम नगरे पृथ्वी मानिसका लागि सबैभन्दा असुरक्षित बासस्थान बन्ने खतरा देखिन्छ । त्यसकारण, पृथ्वीलाई अहिले आरक्ष चाहिएको बताउँछ, ‘आरक्ष’ ब्यान्ड र यसका कलाकार ।

‘आरक्ष’ ब्यान्डका भोकलिस्ट रुपेन शाक्य भन्छन्, ‘वातावरण सुरक्षित गर्ने अभियानमा मानिसको संलग्नता हिजोआज बढ्दो छ । हाम्रो ब्यान्डले पनि समाज र वातावरणप्रति जिम्मेवार बन्ने प्रयास गरेको छ ।’ आफ्नो यही सिद्धान्तलाई गीतमा उतार्दै समाज र वातावरणको हितमा पक्षपोषण गरिरहेको ब्यान्डका बेसिस्ट अनिल शाक्य बताउँछन् । शाक्य भन्छन्, ‘गीतमार्फत् जनचेतना फैलाउन ‘वातावरण जोगाऊँ’ गीत रचना गरिएको हो । यो हाम्रो अभियानको एउटा हिस्सा पनि हो । यही हिस्साको हिस्सेदार आरक्ष ब्यान्ड बन्न चाहेको हो ।’

ब्यान्डका ‘कारण’, ‘समाज’, ‘गर्न देऊ, मर्न देऊ’ लगायतका गीतमा समाजकोे बिग्रँदो स्थितिप्रति खेद प्रकट गरिएको छ । गरीब र दुःखी मानिसप्रति समाजको दृष्टिकोण, समाज परिवर्तन गर्न खोज्नेलाई पछार्ने प्रवृत्तिजस्ता विषयलाई पनि गीतमा उतार्ने गरेको अनिल बताउँछन् ।

आरक्ष हार्ड रक ब्यान्ड हो । ब्यान्डमा अहिले रोजेन शाक्य ड्रमर छन् । रक्षक वज्राचार्य र सुनित गिटारिस्ट हुन् भने अनिल बेस गिटार बजाउँछन् । रुपेनले भोकल पर्फमेन्स दिँदै आएका छन् भने अजय सेन ब्यान्डका म्यानेजर हुन् । उनीहरू सबै ललितपुरको पाटनस्थित मंगलबजारमा बस्छन् । रोजेनको घरमा ब्यान्डले अभ्यास गर्ने गरेको छ ।

ब्यान्डका सदस्यहरू थुप्रै पटक फेरिएका छन् । व्यक्ति फेरिएसँगै ब्यान्डका विभिन्न नाम पनि फेरिए । विश्वदीप, उज्ज्वल, रविन, अनिल, रुपेन र आशीषको लाइन अपलाई ‘राइजिङ फोर्स’ नाम दिइएको थियो । राइजिङ फोर्सले ‘कान्छी नानी’ बोलको गीत सार्वजनिक ग¥यो । ‘त्यो गीत खासै चलेन,’ अनिलले निराश हुँदै भने, ‘मिडियासँग चिनजान थिएन । गीतको प्रमोसन गर्न जानेनौँ ।’ र, त्यो लाइन अप पनि लामो टिक्न सकेन । त्यसको केही समयपछि ब्यान्डमा नयाँ सदस्य आए । ‘त्यसलाई ‘डेड स्ट्रिङ’ नाम राख्यौँ,’ अजेयले भने, ‘त्यही नामले स्प्राइट ब्यान्ड च्यालेन्जको फस्र्ट सेसनमा भाग लिएका थियौँ ।’ तर, उत्कृष्ट बीसभन्दा माथि जान सकेन ।

आरक्ष तेस्रो लाइन अप हो । यो ब्यान्ड बनेको भने एक वर्ष पुग्नै आँट्यो । शब्दकोशबाट यो शब्द झिक्ने काम उज्ज्वलले गरेका थिए । ब्यान्डको न्वारान गरे पनि उनले यस लाइन अपमा संलग्न हुने मौका पाएनन् । ‘उज्ज्वल अस्ट्रेलिया गइहाल्यो,’ अनिलले साथीलाई सम्झँदै भने, ‘ऊ गएपछि साह«ै गाह्रो भा’थ्यो हामीलाई ।’ नयाँ नाउँ ब्यान्डलाई निकै फापेको रुपेनले बताए । कन्सर्टका लागि निकै अफरहरू आएका छन् । गीतका भिडियो पनि बनिरहेका छन् । ‘अब भने केही होला जस्तो लागेको छ,’ उनले भने ।  

 

Leave A Comment