हाक्पारे र पालमबाट ‘आइडल’ बनाइँदै

बिहिबार, २२ भदौ २०७४, १० : ५८ शुक्रवार , Kathmandu
हाक्पारे र पालमबाट ‘आइडल’ बनाइँदै फक्तालुङ आइडलको फिदिम अडिसनमा सहभागी प्रतिस्पर्धी । तस्बिरः गिरिराज बाँस्कोटा

गिरिराज बाँस्कोटा/पाँचथर
लिम्बु जातिमा रहेको हाक्पारे, पालम, ख्यालीजस्ता परम्परागत भाकाहरुमा रहेर फक्तालुङ आइडल छनोट हुने भएको छ । परम्परागत लिम्बु गीतसंगीतको प्रवद्र्धन तथा नयाँ पुस्तालाई हस्तान्तरण गर्न भन्दै प्रतिभा छनोटको यो कार्यक्रम अघि सारिएको हो ।
आइडलका पहिलो चरणका अडिसन धमाधम भइरहेका छन् । लिम्बु जातिको सघन बसोबास भएका अरुण पूर्वका नौ जिल्ला र काठमाडौँ उपत्यकामा पहिलो अडिसन गरी प्रतिभा छनौट गर्न लागिएको हो । काठमाडौँ, ताप्लेजुङ, पाँचथर, इलाम र झापामा पहिलो चरणको अडिसन सकिएको छ । फक्तालुङ सयङले यो प्रतियोगिता गरेको हो ।
लिम्बु जातिको परम्परागत सांस्कृतिक पोशाक तथा गहरगनामा सजिएर प्रतियोगितामा सहभागी भइरहेका छन् । लिम्बु भाषामा रहेका गीतहरु पनि गाउने मौका दिइएको छ । गाउँगाउँबाट प्रतिभाहरु सहभागी हुँदैछन् । संंस्थाका महासचिव कञ्चन थलङले भदौभरीमा पहिलो चरणको अडिसन सकिने जानकारी दिए । काठमाडौँमा १२, पाँचथरमा १९, इलाममा १५, झापामा १० जना छनोट भएका छन् । तेह्रथुमको म्याङलुङमा पहिलो चरणको अन्तिम छनोट हुनेछ ।
 कार्यक्रम असोज १० गते धरानमा दोस्रो चरणको छनोट गर्ने तयारी भएको छ । फाइनल राउन्ड काठमाडौँमा हुनेछ । चासोक तङनाम पर्वका अवसरमा फाइनल राउण्ड हुने जानकारी दिइएको छ । येसीली योङहाङ, मनु नेम्बाङ र येहाङ लावती मुख्य निर्णायक रहेका छन् । फक्तालुङ आइडल विजेताले एक लाख रुपैयाँ नगद, ट्रफी, तीन वटा गीत रेकर्ड र सांगीतिक कार्यक्रममा विदेश भ्रमणको मौका दिइने थलङले जानकारी दिए । द्वितीय हुनेले ५० हजार रुपैयाँ नगद पाउनेछ ।
 

Leave A Comment