दशैमा घर जाने यात्रुलाई टिकटको समस्या

बिहिबार, २२ भदौ २०७४, १० : ३३ शुक्रवार , Kathmandu
दशैमा घर जाने यात्रुलाई टिकटको समस्या

अरु समयमा भन्दा बढी यात्रुहरु दसैँको समयमा काठमाडौँबाट आफ्नो घरमा जाने गर्छन् । एकै चोटि धेरै जाने काठमाडौँबाहिर जाने गर्छन्, जसले गर्दा यात्रुहरुलाई टिकट पाउन निकै नै गाह्रो हुन्छ ।  
१. पिपला अधिकारी
व्यवसायी
मेरो घर झापामा छ । वर्षको एक चोटि दसैँ मान्न घर जानै पर्छ तर दसैँको बेला घर जान निकै अप्ठेरो हुन्छ । अहिले टिकटको बुकिङ खुलेको छैन । बुकिङ खोले पनि आफ्नै मान्छेहरुलाई टिकट दिन्छन् । त्यसैले दसैँको सबैभन्दा ठूलो समस्या नै गाडीको टिकट पाउनु हो ।
२. जमुना महत
गृहणी
अरु वर्षको दसैँमा त टिकट पाउन गाह्रो थियो । यसपालि झन् चुनाव पनि हुँदैछ, यस्तोमा घर जानका लागि गाडीको टिकट पाउन धेरै गाह्रो हुन्छ । टिकट बुकिङ गर्यो भने पनि पछि घर जाने दिनमा त्यो टिकटको नम्बरमा अर्कै मान्छेलाई राखिदेला भन्ने डर हुन्छ । यस्तोमा सरकारले गाडी संख्या बढाउनु पर्छ ।
३. सुरेन्द्रप्रसाद जैसवाल
व्यवसायी
दसैँमा जहिले पनि टिकटको समस्या हुन्छ ’नि यसमा नयाँ कुरा के छ र ? दसैँमा नाइट गाडीको टिकट पाउन गाह्रो हुन्छ । अब घर गए पनि सुमोमा जानु पर्छ तर सुमोको बाटो धेरै खराब छ । यस्तोमा कसरी घर जाने भन्ने चिन्ता भइरहेको छ ।
४. सुशीला जिसी
विद्यार्थी
दसैँमा गाडी पाउन त गाह्रो छँदैछ, गाडी पाइयो भने पनि आपूmले खोजेको सिट पाइन्छ कि पाइँदैन त्यो एउटा ठूलो समस्या हो । टाढाको यात्रामा कोचिएर घर जानु पर्दाको पीडा पनि आफैँसँग छ । यस्तो समस्या हरेक दसैँमा आउँछ । यस समस्याको समाधान खोज्न जरुरी छ । अब यो काम त हामी जनताको होइन, पक्कै पनि सरकारको हो । नत्र भने सधैँ यात्रुहरुले समस्या भोगेको भोग्यै गर्छन् ।
५. कमल कुँवर
जागिरे
दसैँमा सरकारले एक्स्ट्रा बसहरुको व्यवस्था गर्नुपर्छ । अरु समयभन्दा बढी यात्रुहरु चाडपर्वको समयमा काठमाडौंँबाहिर जाने गर्छन् । कहिलेकाहीँ यात्रुहरुलाई गाडीमा राखेर चालकहरुले बीच बाटोमै भाडा बढाइदिन्छन् र सामानहरुको पनि एक्ट्रा पैसा लिने गर्छन् । यसले यात्रुहरुलार्ई धेरै नै समस्या पर्ने गर्छ ।
६. विमेश श्रेष्ठ
विद्यार्थी
मलाई दसैँको बेलामा गाडी पाउन त्यति गाह्रो हुँदैन किनभने मेरो चिनजानको एउटा दाइ हुनुहुन्छ । उहाँले मेरालागि टिकट मिलाई दिनुहुन्छ । म नाइट गाडीमा घर जान्छु । दसैँको बेलामा सबैलाई घर जाने समस्या हुन्छ । यस्तोमा सरकारले नै दसैँका लागि स्पेसल गाडीहरुको व्यवस्था गरिदिनु पर्छ ।
७. शंकर बोहरा
विद्यार्थी
गाडी पाउन कुनै–कुनै दसैँका बेला साह्रै अप्ठेरो पर्छ । कहिलेकाहीँ त घर पनि समयमा पुग्न सकिँदैन । यो समस्या हरेक वर्ष हुने गर्छ । सरकारले यसको दीर्घकालीन समाधान खोज्न जरुरी छ । नत्र जनताले जहिले पनि दुःख मात्रै पाउने गर्छन् ।
८. सरिता न्यौपाने
व्यवसायी
दसैँको समयमा पूर्वी गाडी पाउन निकै गाह्रो हुन्छ तर पश्चिमको गाडी पाउन अलि सहज नै हुन्छ तर पनि दसैँको लागि गाडीको टिकट बुकिङ चाहिँ पहिले नै गराउनु पर्छ । यात्रुलाई सहज रुपमा टिकट उपलब्ध गराउन यातायात व्यवस्था विभाग र सरकार मिलेर कुनै उपाय खोज्न जरुरी छ ।
९. तुलसा बास्तोला
व्यवसायी
चाडपर्वका बेला सबैलाई आफ्नो घर जान समस्या पर्छ । यस्तोमा सबैले एकैचोटी घर जान खोज्नुभन्दा पनि दसैँ सुरु भएको अथवा दसैँको बीचतिर घर गयो भने टिकट पाउन सजिलो हुन्छ । म त हरेक दसैँमा त्यसरी नै घर जान्छु । त्यसैले दसैँमा घर जान मलाई त्यति धेरै समस्या पर्दैन ।

१०. सुरेन्द्र पोखरेल     
व्यवसायी
घर जानको लागि त समयमा नै टिकटको बुकिङ गर्नु पर्छ, नत्र त साह्रै गाह्रो हुन्छ । अब छिटै गाडीको टिकटको बुकिङ्ग खुल्छ । अरु बेला घर नगए पनि दसैँमा त जसरी पनि घर जानुपर्ने हुन्छ । घर जान गाडी थपेर मात्रै हुँदैन, त्यसको राम्रोसँग व्यवस्थापन हुन जरुरी छ । त्यसो भयो भने दसैँका बेला खासै कसैलाई पनि गाडीको टिकटको समस्या हुँदैन ।
११. सुमन नेपाल
व्यवसायी
पूर्वमा जस्तो पश्चिमको रुटमा गाडीको टिकटको समस्या हुँदैन तर पश्चिमको बाटो धेरै खराब छ । यस्तोमा दुर्घटना हुने सम्भावना धेरै हुन्छ । यसका साथै बाटोमा धेरै बिग्रेको गाडी भेटिन्छन् तिनका कारणले पनि जाम हुने गर्छ । यस्तोमा गाडीको जामलाई नियन्त्रण गर्न जरुरी हुन्छ ताकि समयमा नै यात्रु घर पुग्न सकून् ।
१२. रचना सिंखडा
विद्यार्थी
दसैँमा गाडीको टिकट पाएर राम्रोसँग घर पुगेँ भने ठूलै कुरा पाएजस्तो हुन्छ । टिकटको बुकिङ खुल्नेबित्तिकै बुकिङ गराइहाल्नु पर्छ । नत्र भने घर जाँदा धेरै गाह्रो हुन्छ । सरकारले दसैँका लागि अलि बढी गाडीको व्यवस्था गरिदिनुपर्छ ।
१३. ऋषि ढुवाडी
व्यवसायी
मेरो घर धादिङमा छ । त्यसैले दसैँमा घर जान खासै समस्या पर्दैन तर जसको घर नजिक छैन उसलाई भने दसैँमा गाडी पाउन धेरै गाह्रो हुन्छ । यस्तोमा सरकारले कसरी जनतालाई सहज रुपले दसैँमा घर पु¥याउनु पर्छ भन्ने कुरा सोच्न जरुरी छ ।

१४. संजीव बजगाईँ
विद्यार्थी
दसैँमा घर जान गाडीको टिकटको बुकिङ गर्नुपर्छ । यदि समयमा गाडीको टिकटको बुकिङ गरिएन भने महँगो टिकट किनेर घर जानु पर्छ । अरु दिन एक दिनमा घर पुगिन्छ भने दसैँको समयमा घर पुग्न दुई तीन दिन लाग्ने गर्छ ।
१५.  विशाल श्रेष्ठ
विद्यार्थी
अरु समयभन्दा दसैँमा घर जान निकै गाह्रो पर्छ । यसपालि म सुमोमा घर जाने विचारमा छु तर सुमो जाने बाटो धेरै बिग्रेको छ । त्यसैले कसरी घर जाने होला भन्ने चिन्ता छ । दसैँमा यात्रुका लागि सहज रुपमा गाडीको टिकट पाउने वातावरण सरकारले गरिदिनु पर्छ ।
प्रस्तुति : सुस्मिता लाल
 

Leave A Comment