‘राजनीतिसँगै व्यवसाय पनि’

मङ्गलबार, २० भदौ २०७४, १० : १६ शुक्रवार
‘राजनीतिसँगै व्यवसाय पनि’

सांसद उषा गुरुङ

राजनीतिमा कसरी आउनुभयो ?
देशमा निरंकुश पञ्चायती व्यवस्थाको चपेटामा परिरहेको थियो । जनताले आफ्ना विचार तथा अभिव्यक्ति दिनसमेत पाउँदैनथे । बाल्यकालदेखि नै कसैलाई हेप्ने, गरिबदुःखीलाई पीडा दिएको देख्न सक्दिनथे । समाज परिवर्तन गर्न राजनीतिमा होमिएँ ।
राजनीतिमा लागेर के पाउनु भयो ? के गुमाउनु भयो ?
राजनीतिमा लागेर अरु नाम पाइयो । पैसा र सम्पत्ति कमाउने भन्दा समाजमा राम्रो काम गर्ने उद्देश्यले राजनीतिमा आएकी हुँ । राजनीतिमा लागेर पनि पर्यटन व्यवसायलाई सँगै अघि बढाइरहेकी छु । त्यसैले राजनीतिमा लागेर परिवारलाई दिनुपर्ने समय दिन पाएकी छैन । समग्रमा केही गुमेजस्तो लाग्दैन ।
राजनीतिलाई नै पेसा बनाउनु हुन्छ कि हुँदैन ?
मैले राजनीति र व्यवसायलाई सँगसँगै अघि बढाइरहेको छु । समय व्यवस्थापन गर्न सके दुवैलाई अगाडि बढाउन सकिने रहेछ । राजनीतिलाई नै कमाइखाने भाँडो बनाउनु हुँदैन । त्यसैले पर्यटनमा हात हालेकी हुँ । मैले व्यवसायमार्फत एक सय जनालाई रोजगारी पनि दिएकी छु । यसमा थोरबहुत सन्तुष्ट पनि छु ।
गीतसंगीत कतिको सुन्नुहुन्छ ?
गीतसंगीत सुन्ने मात्रै होइन, कहिलेकाहीँ गीत आफैँ रचना गर्ने गर्छु । राजनीतिमा सक्रिय भएकाले एल्बम निकाल्न त पाएकी छैन । केही वर्षअघिसम्म संविधान निर्माणमा नै जुट्यौँ । अहिले कार्यान्वयनमा लागेकाले फुर्सद छैन । राजनीतिक कार्यक्रममा त आफैँ गीत नै  गाउने गर्छु । फुर्सद पाएँ भने गीतिएल्बम नै निकाल्ने योजनामा छु ।
कस्ता गीतसंगीत मन पर्छन् ?
जीवन्त अनुभूति दिने खालका गीत मन पर्छन् । आनी छोइङ डोल्माका हरेक शब्दले मन छुने मात्रै होइन्, शरीरमा नै ‘भाइब्रेसन’ नै सृजना गर्छन् । त्यसैले उनका गीत नियमित नै सुन्छु । त्यस्तै डा. भोला रिजालको देशभक्तिपूर्ण गीत पनि खुबै मन पर्छ ।
फिल्म कत्तिको हेर्नुहुन्छ ?
पहिला त खुबै हेर्थें । अहिले त हेर्ने समय नै मिल्दैन । पछिल्लो समय ‘छक्का पञ्जा’ र ‘झोला’ फिल्म हेरेकी थिएँ । साह्रै मन प¥यो । विशेष गरी सामाजिक विषयवस्तु, एक्सन र नारीका विषयवस्तु उठान गरिएका फिल्म धेरै हेर्ने गर्छु ।
मनपर्ने अभिनेता/अभिनेत्री ?
प्रायः सबै कलाकार मन पर्छन् । त्यसमा पनि एक्सनमा निखिल उप्रेती र समसमायिक विषयवस्तुमा अभियनय गर्ने गौरी मल्लको अभियनबाट प्रभावित छु । केही समयअघि आएको ‘सिंहदरबार’ भन्ने धारावाहिक सिरियल धेरै नै मन पर्यो ।
पुस्तक कतिको पढ्नुहुन्छ ?
पुस्तक त पढ्ने गर्छु । राजनीतिकलाई समसामायिक विषयवस्तुमा अपडेट हुनका लागि अनिवार्य रुपमा पुस्तक पढ्नुपर्ने हुन्छ ।
सामाजिक सञ्जाल कतिको चलाउनुहुन्छ ?
सामाजिक सञ्जाल त राजनीतिज्ञको लागि त अपारिहार्य जस्तै भइसक्यो । फेसबुक, ट्विटर नियमित चलाउँदै आएकी छु । जनतासँग प्रत्यक्ष वार्तालाप गर्नका लागि सामाजिक सञ्जाल उपयोगी छ ।
परिवारलाई कत्तिको समय दिनुहुन्छ ?
म एकल  महिला हुँ । परिवारमा एउटामा मात्रै छोरा छन् । राजनीतिमा लागेपछि परिवारका लागि पक्कै पनि समय दिन पाइँदैन । तैपनि जतिसक्दो समय आफ्नो सन्तानको लागि दिने गरेकी छु ।
प्रस्तुति : हिमाल लम्साल

 

Leave A Comment