'टेम्पाेसँग प्रतिस्पर्धा बढ्याे'

मङ्गलबार, २० भदौ २०७४, ०९ : ५७ शुक्रवार , Kathmandu
'टेम्पाेसँग प्रतिस्पर्धा बढ्याे'

नाम : बाबु राई
ठेगाना : नेपालगन्ज– १४ टाँगा स्टयान्ड

के गर्नु हुन्छ ?
बिहानदेखि बेलुकासम्म टाँगा चलाउँछु । अरु कामकाज खासै केही गर्दिनँ ।

तपाईंको रुट कुन हो ?
त्रिभुवन चोकदेखि रुपैडिहासम्म ।  

दैनिक रुपमा कति ट्रिप गर्नुहुन्छ ?
यात्रु पाएपछि दैनिक रुपमा २ ट्रिपसम्म गर्छु । कहिलेकाहीँ त कत्ति पनि हुँदैन ।

टाँगा चलाउँदाको रमाइलो के रहेछ ?
टाँगा नेपालगन्जको पुरानो सवारी साधन हो । टाँगाको सम्बन्ध नेपालगन्ज सहरसँग जोडिएको छ । थोरै पैसा हालेर खरिद गर्न सक्ने, गरिब मान्छेले पनि टाँगा चलाएर परिवारको खर्च टार्न सक्ने साधन हो ।

कत्तिको कमाइ छ त ?
कमाइ त खासै हुँदैन । घरमा त्यसै बस्नुभन्दा टाइम पास गर्न टाँगा चलाउँछु । अरु काम केही पनि गर्दैन । त्यही हो, दैनिक रुपमा मुस्किलले २/३ सय जति कमाइ हुन्छ । त्यो पनि घोडालाई आहारा खुवाउन पुग्दैन ।

यस्तो समस्या किन भयो ?
जब नेपालगन्जको सडकमा अटोरिक्सा भित्रिए, त्यसपछि हाम्रो कमाइ बिस्तारै घट्न थाल्यो । अहिले त कमाइ हुन छाडिसकेको छ । बजारमा अटोरिक्सा मात्रै छ्यापछ्याप्ती छन् । टाँगाको संख्या एकदमै थोरै छ । धेरै टाँगा चालकले आफ्नो पेसा परिवर्तन गरिसकेका छन् । किनकि टाँगा चलाएर आफ्नो परिवारलाई पाल्न साह्रै गाह्रो छ ।

तपाईंले टाँगा चलाउन थालेको कति भयो ?
लगभग चार वर्ष जति भयो । त्योभन्दा पहिला मैले बुक्की चलाउँथ्ये । टाँगा चलाउने रहर लागेपछि यो पेसा अँगाल्न आएँ । अहिले पछुतो लागिरहेको छ । मान्छेहरु टाँगामा चढ्ने त के, रिक्साको अगाडि टाँगालाई नजर लगाउनै छाडिसके । हाम्रो पेसा विस्थापित हुन थालिसक्यो ।

धेरैले टाँगा चलाउन छाडिसकेका छन्, तपाईं त टिक्नु भएको छ नि ?
हाम्रा पुर्खाहरुले यो पेसा गर्दै आएका हुन् । अहिले हाम्रो पालामा टाँगा व्यवसाय संकटमा परेको हो । पुर्खाले गर्दै आएको पेसालाई चटक्कै छाड्न गाह्रो हुँदोरहेछ । कमाइ नभए पनि आत्मसन्तुष्टिका लागि अहिलेसम्म जसोतसो चलाइरहेको छु । हेर्दै जाउँ, कहिलेसम्म यो पेसामा टिक्न सकिन्छ ।

प्रस्तुति: अर्जुन ओली

 

Leave A Comment