बढी रेमिट्यान्स कतारबाट

मङ्गलबार, २० भदौ २०७४, ०९ : ५१ रुद्र खड्का
बढी रेमिट्यान्स कतारबाट

अघिल्लोझैँ आर्थिक वर्ष २०७३÷७४ मा पनि नेपालमा सबभन्दा बढी  रेमिट्यान्स कतारबाट भित्रिएको छ । नेपालले प्राप्त गरेको कुल रेमिट्यान्समा कतारको हिस्सा ३१.६ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
सोही आर्थिक वर्षमा विश्वका विभिन्न देशबाट  रेमिट्यान्सस्वरुप नेपालले प्राप्त गरेको ६ खर्ब ९५ अर्ब ४८ रुपैयाँमध्ये कतार एक्लैको योगदान करिब एक तिहाई हुन पुगेको हो ।
राष्ट्र बैंकका अनुसार कतारपछि नेपालले मलेसियाबाट सर्वाधिक रेमिट्यान्स भित्र्रयाएको छ । आर्थिक वर्ष २०७३/७४ मा नेपालले प्राप्त गरेको रेमिट्यान्समा मलेशियाको सहभागिता २४.७ प्रतिशत छ । आर्थिक वर्ष २०७३/७४ मा नेपालले कुन भित्रयाएको रेमिट्यान्स अघिल्लो वर्षको तुलनामा करिब ३० अर्ब रुपैयाँले बढी हो ।
तर, आर्थिक वर्ष २०७१/७२ को तुलनामा आर्थिक वर्ष २०७२/७३ मा प्राप्त रेमिट्यान्स पछिल्लो वर्षको वृद्धिदरभन्दा करिब तीन प्रतिशतले कमी हो । आर्थिक वर्ष २०७२/७३ मा ७.७ प्रतिशत वृद्धिदर रहेको रेमिट्यान्स आर्थिक वर्ष २०७३/७४ मा ४.६ प्रतिशतमा सीमित रहेको राष्ट्र बैंकले जनाएको छ ।
 रेमिट्यान्स वृद्धिदर घट्दै गएपछि विज्ञहरूले अब नेपालले या वैदेशिक रोजगारीको विकल्प खोज्नुपर्ने, नभए नयाँ श्रम गन्तव्यको पहिचान गर्नुपर्ने बताएका छन् । हाल श्रम स्वीकृति लिनेमध्ये करिब ९५ प्रतिशत खाडी मुलुक र मलेसिया जाने गर्छन् । पछिल्लो वर्ष नेपालले बढी रेमिट्यान्स प्राप्त गर्ने तेस्रो मुलुक साउदी अरेबिया हुन पुगेको छ । आर्थिक वर्ष २०७२/७३ मा भने नेपालमा सबभन्दा बढी रेमिट्यान्स साउदी अरेबियाबाट ३३.१ प्रतिशत भित्रिएको थियो ।
पछिल्लो समयमा खाडी मुलुक र मलेसिया नै आन्तरिक राजनीतिक तथा आर्थिक संकटमा पर्दा त्यसको मार आप्रवासी कामदारले भोग्नु परेको बताइन्छ । अब नेपाल खाडी र मलेसियाका श्रम गन्तव्यमा भर नपरी युरोप, अमेरिकाजस्ता राम्रा श्रम बजार खोज्न कस्सिनु पर्ने धेरैको माग रहँदैआएको छ । वैदेशिक रोजगार विभागमा कार्यरत कर्मचारीका अनुसार यतिखेर कोरिया र इजरायलको रोजगारी मात्र सन्तोषजनक छ । इजरायलले न्यून संख्याका मजुदरलाई केयरगिभरको रूपमा लैजाने गरेकाले त्यसको प्रभाव खासै पर्न सकेको छैन ।
कोरियामा पनि  सुधार हुन सकेन
रोजगारीका लागि कोरिया जाने युवायुवतीको संख्या बढिरहे पनि त्यहाँबाट प्राप्त हुने रेमिट्यान्समा भने खासै सुधार हुन नसकेको पाइएको छ ।
राष्ट्र बैंकका अनुसार यतिखेर पनि तीन वर्ष अघिकै हाराहारीमा कोरियाबाट रेमिट्यान्स भित्रिरहेको छ । जबकि पछिल्लो तीन वर्षको अवधिमा रोजगारी अनुमति प्रणालीअन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरेर थप १५ हजार युवायुवती कोरिया पुगेका छन् ।
अर्थ विज्ञहरूका अनुसार तीन वर्षयता कोरिया उडेका युवायुवतीले पाउने पारिश्रमिक अनुसार नै रकम पठाएको भए वर्षमा कम्तीमा साढे एक अर्ब रुपैयाँ भन्दा बढी रेमिट्यान्स थपिनुपथ्र्यो । वैदेशिक रोजगार विभागअन्तर्गत कोरिया शाखाका प्रमुख बाबुराम खतिवडाले यतिखेर कोरियामा काम गर्ने जुनसुकै मजदुरको मासिक न्यूनतम तलब एक लाख ४२ हजार रुपैयाँ तोकिएको बताए ।
कोरियन भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया उडेका युवायुवती र उनीहरूले प्राप्त गर्ने न्यूनतम पारिश्रमिकलाई आधार मान्दा पनि विगतदेखि भित्रिरहेको रेमिट्यान्समा वृद्धि हुनुपर्ने  शाखाकै अधिकृत शोभाकर भण्डारी बताउँछन् ।
‘विगतदेखि नै कोरियाबाट ठूलो रकम हुण्डीमार्फत भित्रिन्छ भन्ने सबैको अनुमान हो,’ उनले भने, ‘अहिलेको चुनौती कोेरियाबाट आउने रेमिट्यान्सलाई कसरी बैंकिङ च्यानलमार्फत ल्याउन सकिन्छ भन्ने हो ।’ विज्ञहरूका अनुसार यतिखेर कोरियाबाट कम्तीमा वर्षको २०–३० अर्ब रुपैयाँ भित्रिनु पर्नेमा जसको १० प्रतिशत मात्र प्राप्त हुने गरेको छ । ठूलो रकम हुण्डीमार्फत भित्रिँदा कोरियाबाट नेपाल आउने रेमिट्यान्सको यकिन रेकर्ड फेला पार्न गाह्रो छ । जसले गर्दा उल्टै आर्थिक अपराधलाई टेवा पु¥याइरहेको विज्ञ बताउँछन् ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा नेपालले प्राप्त गरेको कुल रेमिट्यान्समा कोरियाको योगदान १.५ प्रतिशत मात्र रह्यो । जुन अघिल्लो आर्थिक वर्षको भन्दा पनि कम हो । आर्थिक वर्ष २०७२÷७३ मा कुल रेमिट्यान्समा कोरियाको सहभागिता १.८ प्रतिशत थियो । त्यसभन्दा अघिल्लो वर्ष कोरियाले रेमिट्यान्समा एक प्रतिशतले योगदान पु¥याएको थियो ।
पछिल्लो दुई वर्षमा इजरायलका रोजगारदाताले जम्मा एक सय २० जनालाई केयरगिभरको काम गर्न इजरायल बोलाएका छन् । कोरियाले भने कामदारको संख्या वृद्धि गर्दै लगेको छ ।
भाषा परीक्षा उत्तीर्ण फागुनदेखि उड्ने
गत जेठ २७ र २८ गते भएको भाषा परीक्षामा उत्तीर्ण १२ हजार एक सय आठ युवायुवती आउँदो फागुनदेखि कोरिया जान पाउने भएका छन् । उनीहरूको रोजगारी आवेदन फारम तिहारपछि मात्र संकलन गरिने शाखाले जनाएको छ । रोजगारी आवेदन फारम बुझाएपछि कोरियन रोजगारदाताले त्यसपछि आफूअनुकूल कामदार बोलाउनेछन् ।
सन् २०१८ का लागि कोरियाले १० हजार पाँच सय कोटा तोके पनि भाषा परीक्षा भने केही बढीले उत्तीर्ण गरेका थिए । भाषा परीक्षा उत्तीर्ण गर्नेमध्ये कृषिमा छ हजार दुई सय र सेवा क्षेत्रमा चार हजार जान पाउने बताइएको छ । गएको चैत ९–१८ गतेसम्म अनलाइमार्फत ७५ हजार पाँच सय ८० ले दरखास्त दिएका थिए । अघिल्लो वर्षको तुलनामा यो वर्ष कोरियाले कामदारको माग तीन गुणाले वृद्धि गरेको हो ।
अघिल्लो वर्ष तीन हजार एक  सय कोटा निर्धारण गरेको कोरियाले यसपटक १० हजार दुई सय कोेटा पु¥याएपछि युवायुवती हर्षित छन् । अघिल्लो वर्ष तीन हजार एक सय कोटामा पर्न करिब ६१ हजार युवायुवतीले भाषा परीक्षामा प्रतिस्पर्धा गरेका थिए ।
सन् २००८ देखि दक्षिण कोरियाले कृषि र सेवामूलक क्षेत्रमा काम गर्न नेपालबाट युवायुवतीलाई लैजान थालेपछि इपिएसमार्फत कोरिया जान खोज्नेको लर्को नै लाग्ने गरेको छ ।   
 शाखा प्रमुख खतिवडा कोरिया रोजगारीका दृष्टिकोणले मात्र नभई बसाइ र सुरक्षाको दृष्टिकोणले समेत राम्रो भएकाले युवायुवतीको आकर्षण बढेको बताउँछन्  । पछिल्लो समयमा कोरिया जान पाए जीवनकै ठूलो उपलब्धि हासिल गरेको ठान्नेको संख्या बढिरहेको पाइन्छ । कतिपय त स्वदेशमा पाएका अवसर त्यागेर कोरिया पसिरहेका भेटिन्छन् । सन् २००८ यता ४८ हजार चार सय ८८ युवायुवती इपिएसमार्फत कोरिया गएको शाखाले जनाएको छ ।

‘नयाँ गन्तव्य खोज्न आवश्यक भइसकेको छ’
रघुराज काफ्ले

कार्यकारी निर्देशक
वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड

यतिखेर वैदेशिक रोजगारीमा जानेमध्ये करिब ९५ प्रतिशत नेपाली युवा खाडी मुलुक र मलेशिया जाने गरेको पाइन्छ । जुन प्रचलन निकै वर्ष अघिदेखिको हो ।
पछिल्लो समयमा खाडी मुलुक र मलेशियाको आन्तरिक राजनीतिक र आर्थिक अवस्था  खराब हुँदै गए पनि नयाँ गन्तव्य नखोजिँदा नेपाली युवाको अर्को विकल्प छैन । युवायुवतीका लागि खाडी र मलेशियाको रोजगारी खाए खाऔं, नखाए घिच...को अवस्थामा छ ।
वर्षौदेखि एकै खाले गन्तव्यमा निर्भर रहँदा एकातिर नेपालले राम्रो आर्थिक लाभ लिन सकेको छैन भने अर्कोतिर खाडी र मलेशियाका रोजगारदाताको मानसिकता नेपाली कामदारलाई जे गरे पनि हुन्छ भन्ने छ । त्यसैले अब नेपालले रोजगारीका नयाँ गन्तव्य खोज्नै पर्ने भएको छ ।
अब पनि नयाँ गन्तव्य खोज्न ढिलाइ गर्ने हो भने वैदेशिक रोजगारीले केवल समस्या मात्र निम्त्याउने छ । राम्रो पारिश्रमिक दिने युरोप, अमेरिकाका रोजगारदाता कम्पनीको पहिचान गर्न सबै जिम्मेवार निकायले प्रयास गर्नुपर्छ । यदि त्यसो गर्ने हो भने राम्रा रोजगारदाता फेला पार्न गाह्रो पनि छैन ।

आर्थिक वर्ष २०७३/७४ मा नेपालले रेमिट्यान्स प्राप्त गरेका प्रमुख गन्तव्य
देश    रेमिटेन्स हिस्सा
कतार    ३१.६
मलेसिया    २४.७
साउदी अरेबिया    १९.३
संयुक्त अरब इमिरेट्स    १४.२
कुबेत    ३.४
कोरिया      १.५
स्रोतः नेपाल राष्ट्र बैंक

 

Leave A Comment