हिट छ, प्रमोदको क्यारिकेचर

आइतबार, १८ भदौ २०७४, ०२ : ४२ शुक्रवार , Kathmandu
हिट छ, प्रमोदको क्यारिकेचर

सुरज खड्का
१. गायक प्रमोद खरेल गीत गाउन मात्रै होइन विभिन्न कलाकारको स्वरमा क्यारिकेचर गर्नसमेत माहिर छन् । खरेल रामकृष्ण ढकाल, शम्भुजित बास्कोटा, उदितनारायण झासहित भारतीय गायक सोनु निगम लगायतको स्वर हुबहु नक्कल गर्न सक्छन् । त्यस्तै खरेल चित्रकलामा पनि माहिर छन् । उनले थुप्रै होर्डिङ बोर्ड र ब्यानरमा आफ्नो चित्रकला देखाएका छन् । झापाबाट काठमाडौँ आउँदा संगीतमा स्थापित हुन संघर्ष गर्दाको कुनै समय चित्रकारितालाई पनि आफ्नो ‘साइड जब’ बनाएका थिए । यद्यपि खरेलको यो प्रतिभा भने अहिले ओझेलमा परेको छ ।  
२. परिवारका धेरैजसो आफन्त सैनिक तथा प्रहरी पृष्ठभूमिका भएका कारण श्वेता खड्कालाई पनि प्रहरी वा सैनिकमा अफिसर बन्न पारिवारिक दबाब थियो । उनी आफूलाई भने नर्स बनेर बिरामीको सेवा गर्न चाहन्थिन् । स्टाफ नर्स पढ्न नाम ननिस्किएपछि उनले सेकेन्ड लेफ्टिनेन्ट बन्ने उद्देश्य राखिन् । यसका लागि आवश्यक तयारीसमेत सुरु गरिन् । श्वेता जुन दिन शारीरिक अभ्यासका लागि जान लागेकी थिइन्, त्यही दिन उनलाई चलचित्रमा अभिनय गर्ने प्रस्ताव आएको थियो । सोही प्रस्तावका कारण श्वेताले सेकेन्ड लेफ्टिनेन्ट बन्ने उद्देश्य त्यागेर चलचित्रतर्फ आफ्नो पाइला मोडिन् । ।
३. स्वर सम्राट नारायण गोपाललाई अर्का गायक फत्तेमान राजभण्डारी अत्यन्तै प्रिय व्यक्ति थिए । स्वरसम्राटले संगीत सिर्जना गरेका गीत थोरै गायकगायिकाले मात्रै गाउने अवसर पाएका छन् । ती थोरैमध्येका एक फत्तेमान पनि हुन् । फत्तेमान गायक संगीतकार मात्रै नभई पशुपतिनाथ मन्दिरको भण्डारी अर्थात रक्षक पनि हुन् । पशुपतिनाथ मन्दिरको भण्डारी तथा साधुसन्तहरुसँग संगत भएका कारण नारायण उनलाई महाराज भनेर बोलाउने गर्थे ।

४. नेपाली सांगीतिक क्षेत्रका एक धरोहर नातिकाजी श्रेष्ठका कैयौँ गीतहरु अहिले पनि उत्तिकै रुचाइन्छन् । उनले संगीत सिर्जना गरेका ‘काली पारि दाइ कति राम्रो’, ‘उकाली ओरालीहरुमा’, ‘यस्तो पनि हुँदो रै’छ’ लगायतका उनका दर्जनौँ गीत कालजयी छन् । रेडियो नेपालका जागिरेसमेत रहेका नातिकाजीले ३ हजारभन्दा बढी गीतमा संगीत दिएका छन् । त्यस्तै उनको स्वरमा करिब २०० गीत रेकर्ड भएको छ । हजारौँ गीतमा संगीत र २०० भन्दा बढी गीत गाएका नातिकाजीले केही गीतको शब्द पनि कोरेका छन् । तर उनले शब्द रचना गरेका गीतहरु चाहिँ ७ वटा मात्रै छन् ।

५. नारायण गोपालको संगीत तथा स्वर र कालिप्रसाद रिजालको शब्द रहेको गीत ‘आँखा छोपी नरोऊ भनी भन्नु प¥या छ’ रेडियो नेपालमा प्रसारण भएलगत्तै विवादमा आएको थियो । यो गीतको शब्दलाई तत्कालीन पञ्चायती प्रशासनले आफ्नो शासनको विरोध गरेर लेखिएको गीतको रुपमा बुझेको थियो । त्यसैले यो गीतका गीतकार कालीप्रसादलाई कारवाही गर्ने धम्कीसमेत आएको थियो । प्रशासनको धम्कीका कारण त्यतिबेला रिजाल लुकीलुकी हिँड्नु परेको थियो । पछि प्रशासनको विरोधमा नलेखिएको स्पष्टीकरण दिएपश्चात् मात्रै यो गीत स्वतन्त्र रुपमा रेडियो नेपालमा बज्न थालेको थियो ।

६. गायन तथा अभिनयमा समेत हात लागेका बाबु बोगटीको खास नाम बाबुराम बोगटी हो । उनले यही नामबाट आफ्नो पहिलो गीतिसंग्रह ‘पाटन–पुल्चोक’ सार्वजनिक गरेका थिए । तर उनको यो पहिलो गीतिसंग्रह नराम्रोसँग फ्लप भएको थियो । गीतिसंग्रहका चर्चित कभर डिजाइनर अनिल स्थापितको सल्लाहमा उनले बाबुराम नामबाट राम हटाई बाबु बोगटीको नाममा ‘रिक्वेस्ट’ गीतिसंग्रह सार्वजनिक गरे । यो गीतिसंग्रहभित्र रहेको ‘सान्नानी तिमीलाई’ गीत सार्वजनिक भएपछि भने गायकका रुपमा उनको परिचय स्थापित भयो ।  

Leave A Comment