थाइराइड के हो ?

आइतबार, १८ भदौ २०७४, ०२ : ३४ शुक्रवार , Kathmandu
थाइराइड के हो ?

जति सुत्दा पनि निन्द्रा नपुगेजस्तो हुन्छ वा रात्रिमा निन्द्रा पर्दैन, खानपिन, शारीरिक अभ्यास, उपचार आदि गरे पनि शरीरको तौल परिवर्तन भएको छैन, बिनाकारण अचानक धेरै तौल घटेको वा बढेको छ, ज्यादै न्यून कोलेस्ट्रोल छ वा परिवारमा कसैलाई गलगाँड, अस्वाभाविक मोटोपन वा निको नहुने घाँटीको रोग छ भने तपाईंलाई थाइराइडको समस्या हुनसक्छ । यस्ता समस्याहरु देखिए भने तुरुन्त चिकित्सकलाई देखाइहाल्नुस् । किनभने तपाईंलाई थाइराइडसम्बन्धी रोग लागेको हुनसक्छ ।
थाइराइड भएका महिलाहरुमा महिनावारी अनियमित हुने, अत्यधिक वा अति अल्प हुने, कडा तथा दीर्घ कब्जियत हुने अथवा बारम्बार दिसा लागिरहने, औषधि गरे पनि पेटको समस्या भइरहने, कपाल झर्ने, टुट्ने, हाँगा हाल्ने, सुक्खा हुने, आँखीभौँका राैं झर्ने तथा छाला पातलो, सुक्खा, पत्रपत्र निस्कने, घाँटी सुन्निएको अनुभव हुने, असजिलो तथा केही अड्किएजस्तो हुने, धोद्रो स्वर हुने वा घाँटीको ग्रन्थि बढेजस्तो देखिने, मांसपेसी र जोर्नी दुख्ने तथा हातखुट्टा कमजोर भएजस्तो हुने डा. रामेश पाण्डेले बताए ।
थाइराइड ग्रन्थि घाँटीको अग्रभागमा रुद्रघण्टीको तल हुन्छ । उक्त ग्रन्थिले थाइराइड हार्मोन उत्पन्न गर्र्ने काम गर्छ । जसले गर्दा हामीले खाएको पौष्टिक तत्वलाई जीनतत्वमा रूपान्तरण गर्छ । थाइराइड हार्मोनले शरीरको शक्ति नियमन गर्न, अरू हार्मोन र भिटामिनलाई शरीरमा प्रयोग गर्न र शरीरका तन्तुहरूलाई वृद्धि तथा परपिक्व गर्न महत्वपूर्ण काम गर्छ । थाइराइड ग्रन्थिको कार्य क्षमतामा गडबडी भएमा कि त प्रशस्त मात्रामा (अनावश्यक रूपमा) हार्मोनको उत्पादन हुन्छ (हाइपरथाइराइडिज्म) कि अत्यन्त न्यून मात्रामा हार्मोन उत्पादन हुन्छ (हाइपोथाइराइडिज्म)। यी दुवै प्रकारको थाइराइड समस्या पुरुषमा भन्दा महिलामा बढी हुन्छ । मस्तिष्कबाट पिटुटरी ग्रन्थिमा थाइराइड स्टिमुलेटिङ् हार्मोन (टीएसएच) उत्पन्न हुन्छ । उक्त टीएसएच हार्मोन थाइराइड ग्रन्थिमा परिभ्रमण गरेर टी–३ तथा टी–४ हार्मोनहरू उत्पादन गर्न उत्प्रेरकको काम गर्छ । थाइराइड ग्रन्थिलाई टी–३ तथा टी–४ हार्मोनहरू उत्पादन गर्न प्रशस्त मात्रामा खाने आयोडिन चाहिन्छ ।

महिला वंशाणुगत दीर्घरोग प्रतिरोधात्मक क्षमतामा ह्रास धूमपान, गर्भवती अवस्था, गलगाँड तथा घाँटीमा धेरै गिर्खा भएको अवस्था, क्यान्सर तथा विकिरण उपचार गरेकाहरू ‘हाइपरथाइराइडिज्म’ हुनसक्ने जोखिम समूहमा पर्छन् । प्रौढ उमेर, महिला, वंशाणुगत दीर्घरोग, पहिले थाइराइडसम्बन्धी रोग भएका (गलगाँड, ग्रन्थिको शल्यक्रिया वा विकिरण चिकित्सा), दीर्घरोगीहरू जस्तै मधुमेह, रक्तअल्पता, रोग प्रतिरोधात्मक क्षमता कमी भएका, ढिके नुन सेवन गर्ने ‘हाइपोथाइराइडिज्म’को जोखिम समूहमा पर्छन् । ६० वर्षभन्दा बढीका करिब २० प्रतिशत महिलालाई यस रोगका केही लक्षणहरू देखिन्छन्, तीमध्ये प्रतिवर्ष २ देखि ५ प्रतिशत महिलालाई यो रोग लाग्छ ।
समयमै रोगको निदान गरेर उपचार गरे यस रोगबाट बच्न सकिन्छ । लामो समयसम्म निदान नभएर एक्कासि बेहोस वा विषाक्त प्रभाव परेमा यसबाट बिरामीको मृत्यु हुने सम्भावना ५० प्रतिशत रहन्छ । समयमा उपचार नगरेमा हाइपरथाइराइडिज्मले मुटु र मस्तिष्कमा असर गर्छ । थाइराइड ग्रन्थिमा विषाक्त प्रभाव पर्छ । उच्च रक्तचाप, छाती दुख्ने, छिटो र अनियमित मुटुको धड्कन हुने, सास फेर्न गाह्रो हुने, पेट दुख्ने, वान्ता हुने, बढी उत्तेजित वा चिडचिडाहट, रिँगटा, हृदयाघात तथा चेतना हराएर कोमामा जाने आकस्मिक  अवस्था आउन सक्छ । त्यस्तै, समयमा निदान एवं उपचार नगरेमा हाइपोथाइराइडिज्मले मस्तिष्कमा गम्भीर असर गर्छ । मुटुको धड्कन अनियमित हुने, संक्रमण, फोक्सो र मुटुमा पानी जम्ने, सोच्ने शक्ति हराउने, पागलपन, कोलेस्ट्रोल बढेर हृदयाघात, पक्षघात, निन्द्रामा श्वासप्रश्वास रोकिने, बिर्सने लगायतका मस्तिष्कका रोगहरू लाग्छन् ।

Leave A Comment