समाज बुझ्दै सुन्दरीहरु

शनिबार, १७ भदौ २०७४, ११ : २८ शुक्रवार , Kathmandu
समाज बुझ्दै सुन्दरीहरु

रोहित राई/धरान
भदौ १० गते शनिबार एउटै कलरको हरियो टिसर्ट र पेन्टमा मोडलझैँ सुन्दरीहरु इटहरीको बाढीपीडित क्षेत्रमा देखापरे । साउन अन्तिम साताको भिषण बाढीपहिरोको चपेटामा परेको इटहरीमा त्यसयता राहत लिएर पुग्ने व्यक्ति, संघसंस्थाहरुको लर्को थियो । ती सुन्दरीका साथमा भने केही पनि थिएन । मात्र सानो ब्याग, हातमा डायरी र कलम थियो ।
पूर्वको एक प्रमुख सहर इटहरी उपमहानगरपालिकामा ६ जनाको ज्यान गएको थियो । थुप्रै बस्ती डुबानमा प¥यो भने घरहरु बगाएर र सयांै परिवार घरबारविहीन भएका छन् । इटहरीको गैरीगाउँको त नामोनिसाना मेटिएको थियो । ती युवतीहरु त्यही गैरीगाउँमा पुगेर बाढीपीडितसँग वार्तालाप गर्न थाले । ती सुन्दरीहरु पूर्वकै ठूलो मानिने सौन्दर्य प्रतियोगिता मिस पुर्वाञ्चल २०१७ मा विभिन्न स्थानको अडिसनबाट छनोट भएका २१ सुन्दरीहरु थिए । आयोजक सिल्भर इन्टरटेन्मेन्टले बाढी प्रभावित क्षेत्रको अवलोकन र पीडितहरुको वास्तविक अवस्था बुझाउन प्रतिस्पर्धीहरुलाई धरानबाट इटहरी लगेको हो ।
बाढीले तराई डुबानमा परेको र ठूलो क्षति पुगेको बारेमा टिभी, एफएम र पत्रपत्रिकाबाट सुन्दरीहरुले सुनेको, देखेको मात्र थिए । डुबान र बाढीले क्षति पुगेको स्थानमा प्रत्यक्ष पुगेपछि भने उनीहरुले पीडितहरुको समस्या, पीडा र कष्टकर दैनिकीलाई नजिकबाट महसुस गर्न पाए । राहत बिना पुग्दा केही खिन्नता महसुस गरे पनि भविष्यमा केही गर्ने अठोट लिएर फिरे । ती मध्येकी एक प्रतिस्पर्धी हुन्, झापा माईधारकी १८ वर्षीय शताब्दिका गिरी । सुन्नुमा र आफैँ पुगेर पीडितहरुसँग भेट्नुमा धेरै फरकअन्तर भएको उनले महसुस गरिन् । भन्छिन्, ‘समाचार र फोटोमा देख्दा र आफैँ बाढी प्रभावित क्षेत्रमा पुग्दा फरक हुँदोरहेछ । राहत बिना पुग्दा नमिठो पनि लाग्यो तर केही गर्नुपर्छ भन्ने महसुस पनि भयो ।’
पीडितहरुलाई भेट्ने क्रममा उनले रुखमा झुण्डिएर बचेकी एक महिलालाई भेटिन् । जसले आफ्नो श्रीमान्, सानो छोरा र छोरीलाई बगाउनबाट जोगाएकी रहिछन् । ‘उहाँले हिम्मत नदेखाएको भए त केही पनि नबच्ने । ती महिलासँग लामो कुराकानी गरेँ, दुःख पनि लाग्यो र जीवन बचेकोमा खुसी पनि,’ भावुक हुँदै गिरीले भनिन्, ‘यस्तो अवसर पायौं, आयोजकलाई धन्यवाद । ब्युटी पेजेन्टलाई नराम्रो भन्छन्, तर होइन । समाज बुझ्ने, आफ्नो क्षमता विकास गर्ने प्लेटफर्म रहेछ ।’
झण्डै डेढ घण्टा प्रभावित क्षेत्रमा बिताएपछि ती सुन्दरीहरुको मनमा अब केही गरौं भन्ने भावना जागिसकेको थियो । तर, साथमा केही थिएन । उनीहरु त्यतिबेला औधी खुशी भए, जब आयोजकले ग्राण्ड फेनालेको टिकट बिक्रीबाट संकलन भएको सम्पुर्ण रकम गैरीगाउँको पुनर्निर्माणमा सहयोग गर्ने घोषणा गर्यो । सिल्भर इन्टरटेन्मेन्टका निर्देशक सौरभ श्रेष्ठका अनुसार सौन्दर्य प्रतियोगिता भएपनि प्रतिस्पर्धीहरुलाई समाजप्रतिको जिम्मेवारी बोध गराउन बाढीग्रस्त क्षेत्रमा अवलोकन, भ्रमण गराइएको हो । ‘प्रस्पिर्धीहरुमा हाम्रो समाजको वास्तविकतालाई बुझ्ने मौका मिल्यो । यसले समाजको लागि केही गर्नुपर्छ भन्ने भावना पनि जगाउछ,’ निर्देशक श्रेष्ठले भने,‘हामीले पनि टिकट बिक्रीको सबै रकम सहयोग गर्ने घोषणा गरेका छौं ।’
व्यक्तित्व र आत्मविश्वास पनि जगाउँदै
डिपोट आदर्श बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययनरत सुष्मा लिम्बू परिवार र नजिकका साथीहरुबाहेक अरुको अघि खुलेर बोल्न पनि धकाउँथिन् । मान्छेहरुका अघि बोल्नु पर्दा आँट नै आउँदैनथ्यो । लाज र असहजताले उनी हायलकायल हुन्थिन् । एक साता जति भयो, पहिला जस्तो कसैको अघि बोल्न वा कुरा राख्न उनलाई असहजता छैन । बोल्न, कुरा राख्न न लाज लाग्छ, न अप्ठेरो नै । ‘पहिला मान्छेको अघि बोल्नै सक्दिनथे, लाज र अप्ठेरो लागेर आँट नै आउँदैनथ्यो,’ भदौ दोस्रो साता भेटिएकी सुस्माले भनिन्, ‘अहिले मनमा लागेको कुरा निर्धक्क भन्न सक्ने भएकी छु, कुनै दुविधा र समस्या हुन्न ।’
उनीमा यो परिवर्तन अचानक आएको होइन । उनी बिग इभेन्ट नेपाल प्रालिले आयोजना गरेको मिस प्लस टुको प्रतिस्पर्धामा छनोट भएपछिको परिवर्तन हो । अडिसनबाट छनोट भएका २५ छात्राहरुलाई प्रालिले भदौ ४ गतेदेखि तीन साता लामो प्रशिक्षणमा राखेको छ । परिवार, स्कुल–कलेजका साथीभाइमा सीमित छात्राहरु मिस प्लस टुमा सहभागी २५ जनाले नै आत्मविश्वाससँगै व्यक्तित्व विकास पनि हुँदै गएको बताउँछन् भने ज्ञानको दायरा पनि फराकिलो हुँदै गएको महसुस गरेका छन् । हालसम्म स्कुल वा कलेजमा नपाएको व्यावहारिक ज्ञानहरु पाइरहेकाले भविष्यमा आफ्नो करियर बनाउन उपयोगी हुने प्रतिस्पर्धीहरु बताउँछन् । ज्ञानोदय उच्च माविबाट कक्षा १२ को परीक्षा दिएर बसेकी १९ बर्षीया मुनाल राई भन्छिन्, ‘तालिममा सहभागी भएपछि धेरै नयाँ नयाँ कुराको ज्ञान बटुलिरहेकी छु, कति कुराहरु त मैले अहिलेसम्म थाहै नपाएको रहेछु ।’
आयोजक संस्थाले प्रतिस्पर्धीहरुमा व्यक्तित्व एवं क्षमता विकास र आत्मविश्वास अभिवृद्धि गर्न विभिन्न विषयका विज्ञद्वारा प्रशिक्षण एवं तालिम गराइरहेको जनाएको छ । ‘हामी क्याटवक र ¥याम्प वक मात्र सिकाइरहेका छैनौं, सामाजिक उत्तरदायित्व के हो भन्ने पनि प्रतिस्पर्धीहरुलाई बुझाउन हरसम्भव प्रयत्न गरिरहेका छौँ,’ प्रालिका निर्देशक एवं इभेन्ट चिफ एक्जुकेटिभ डाइरेक्टर दोर्पध्वज राईले भने, ‘जीवन उपयोगी विषयहरुको ज्ञान दिइरहेका छौँ र प्रतिस्पर्धीभित्रै अन्तर्निहित प्रतिभा, क्षमतालाई प्रकट हुने अवसर दिइरहेका छौँ ।’
भदौ पहिलो सातादेखि सुरु गरेको प्रशिक्षणको क्रममा औपचारिक कार्यक्रम वा समारोह सञ्चालनको कला मास्टर अफ सेरेमोनी(एम.सि.), र्याम्प वक÷क्याटवक सेसन, युथ एन्ड नेसनालिटी (युवा र राष्ट्रियता), स्थानीय सरकारको कार्य सञ्चालन विधि, बेसिक फोटोग्राफी, मास्टर अफ सेरोमोनी तालिम, आधारभूत पत्रकारिता, बिजनेस टक, टेबल शिष्टाचार, महिनावारी तथा स्तन क्यान्सर सचेतना, संविधानमा महिला अधिकार, सेल्फ डिफेन्स, इफेक्टिभ पब्लिक स्पिकिङ, प्रेजेन्टेसन स्किल लगायत जीवन उपयोगी तालिमले प्रतिस्पर्धीहरुको ज्ञान अझै बढाउने प्रालिको दाबी छ ।
अवसरको सिर्जना
धरान कलेज अफ म्यानेजमेन्टमा बिबिए पढ्दै गरेकी १८ वर्षीया रोशिमा राई प्रथम मिस एसएलसी २०१४ की फस्ट रनरअप हुन् । उपाधि जितेपछि उनको परिचय मात्र फेरिएन, तालिमको क्रममा पाएको ज्ञान र सीपलाई उपयोग गर्दै आफ्नो क्यारिअर अघि बढाइरहेकी छन् । धरान र पूर्वमा हुने फेसन सोहरुमा उनी छुट्दिनन् भने विभिन्न कार्यक्रममा होस्ट तथा एम.सि.को भूमिकामा पनि देखापर्छिन् । हाल उनी मिस प्लस २ मा ट्रेनिङ एसिस्टेन्टको भूमिकामा छिन् । ‘मिस एसएलसीमा भाग लिँदादेखि बाहेक मैले अरु तालिम लिएको छैन । त्यसबेला पाएको ज्ञानलाई नै उपयोग गरिरहेको छु,’ उनी भन्छिन् ।
रोशिमाजस्तै मिस एसएलसी विजेता रिया बजाज, मिस पूर्वाञ्चलकी विजेता इक्सा मादेन, सरुपा थापा मगर, मेरिना तुम्सालगायत सुन्दरीहरु फेसन सोमा क्याटवाक गर्नेदेखि कार्यक्रम होस्ट गर्ने, एफएममा कार्यक्रम प्रस्तुत गर्ने लगायत विविध गतिविधिहरुमा आफूलाई संलग्न गराइरहेका छन् । उनीहरुको समानता के हो भने सबै सौन्दर्य प्रतियोगिताका उपाधि, टाइटल विजेता वा प्रतिस्पर्धीहरु हुन् । ‘हामी अहिले जुन स्थानमा छौँ, त्यो सबै सौन्दर्य प्रतियोगितामा सहभागी हुनुको उपलब्धि हो । ब्युटी पेजेन्ट भन्नेबित्तिकै गलत नजरले हेरिन्छ, तर सबै त्यस्तो हुँदैन । यसले हामीलाई धेरै अवसर पनि दिइरहेको छ,’ इक्सा भन्छिन् ।

 

Leave A Comment