‘हिरोइनहरु मनोरञ्जनका सामग्री मात्र हैनन्’

शनिबार, १७ भदौ २०७४, ११ : १३ शुक्रवार , Kathmandu
‘हिरोइनहरु मनोरञ्जनका सामग्री मात्र हैनन्’

भूमि पेडनेकर डेब्यु फिल्ममा बढी तौल भएकी तर हकअधिकारका लागि शिक्षित महिलाका रुपमा प्रस्तुत भइन् । दोस्रो फिल्ममा उनी खुला शौचका विरुद्ध आवाज उठाउने महिलाका रुपमा प्रस्तुत भइन् । तर भूमि आफूले खेल्ने फिल्म अथवा भूमिका स्वाभाविक निर्णय भएको बताउँछिन् । अभिनेतासँगै बराबर मात्रको भूमिका गर्नु अचेत मस्तिष्कले छनोट गरेको समेत उनी बताउँछिन् । र, उनको अनुभव छ अब अभिनेत्रीहरु मनोरञ्जन मात्रको सामग्री हैनन् । केही साताअघि एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘विगतमा हामीले यो बारेमा सोच्ने कष्टै गरेनौं । महिलालाई खाली कठपुतलीजस्तो फिल्ममा देखाइयो ।’
२७ वर्षे भूमि पछिल्लो समय महिलालाई केन्द्रमा राखेर बनेका फिल्म हेर्न पाउँदा खुसी लाग्ने बताउँछिन् । उनी भन्छिन्, ‘अब परिवर्तन भन्ने कुरा हाम्रा फिल्मले पुष्टि गर्दैछन् । अबको समयमा महिला वरिपरि रहेका पात्रहरु बारेको कथा भन्नु जरुरी छ । मनैदेखि भन्दा समाजमा धेरैभन्दा धेरै पीडित र सेलिब्रेटेड महिलाहरु नै हुन् । लामो समयको अन्तरालमा हाम्रो समाजमा केही हदसम्म परिवर्तन छाउँदैछ । र, यसको असर हाम्रा फिल्ममा समेत देखिन थालेका छन् । मलाई यस्तैबारे लेखिएका फिल्म मन पर्छन् ।’ हालै अक्षय कुमारसँगको ‘ट्वाइलेट ः एक प्रेमकथा’को सफलताले फुरुङ्ग छिन्, भूमि ।
आफूले खेल्ने फिल्म र पात्रबारे मन परे मात्र काम गर्ने बताउने उनले भनिन्, ‘जुन फिल्मले मेरो उचाइ बढाउन मद्दत गर्छ, त्यही फिल्म मात्र गर्न मलाई मन लाग्छ । महिलालाई संकुचित रुपमा मनोरञ्जनका लागि मात्र खुम्च्याएर प्रस्तुत गर्ने शैली भने मन पर्दैन ।’
उनी भन्छिन्, ‘दम लगाके हैंसा पछि मलाई राम्रा फिल्मका अफर आएका थिए । अझै आइरहेका छन् । प्रायः फिल्ममा महिलालाई सशक्त रुपमा प्रस्तुत गर्ने कथा थियो । सबै फिल्म महिला केन्द्रित थिए र फिल्ममा सानोतिनो भूमिकाले पनि न्याय गर्ने किसिमका थिए । तर म आफूलाई केन्द्रीय पात्रका रुपमा प्रस्तुत नगरिँदा दुःख मनाउनुपर्ने अवस्था पनि थिएन ।’ फिल्म राम्रा हुँदाहुँदै फिल्मको पुरुष पात्रलाई न्याय नहुने कथा आएका हुँदा आफूले निकै फिल्म छाडेको उनी सुनाउँछिन् ।
अभिनय गर्नुअघि भूमि यशराज फिल्मस्का कास्टिङ डाइरेक्टर शानू शर्माकी असिस्टेन्टका रुपमा काम गर्थिन् । ‘दम लगा के हैंसा’ पनि यशराजले नै निर्माण गरेको फिल्म हो । आफ्नो अभिनय अब्बल हुनमा पर्दा पछाडि गरिएका संघर्षका दिनहरु उनी सधैं सम्झन्छिन्, ‘मलाई थाहा छैन, मैले म सँगैका अथवा अघिका अभिनेत्रीहरुलाई समेत माथ खुवाउने अभिनय गरेँ कि गरिनँ तर मैले पर्दा पछाडि गरेका कामहरुबाटै मलाई अहिलेको सफलता मिलेको हो । संघर्षताका मैले धेरै निर्देशकहरुसँग भेटघाट गरेँ । स्क्रिप्ट पढ्ने बानीले नै मलाई अहिले अभिनय गर्न सजिलो भएको हो ।’ अन्य कलाकारहरुको काममा गएर पर्दा पछाडि काम गर्दा निर्देशनसँगै अभिनयबारे गहन रुपमा जानकार हुने मौका पाएको उनी बताउँछिन् । अनुभवले नै मानिसलाई परिष्कृत बन्ने उनको अनुभव छ ।
भूमि यही शुक्रबार रिलिज हुने आरएस प्रसन्नाको ‘शुभ मंगल सावधान’मा देखिने छिन् । फिल्ममा पुरुषको शिघ्र स्खलनबारेको समस्यालाई प्रस्तुत गरिएको छ । भूमिलाई यस्ता फिल्मले किन आकर्षित गर्छन् त ? भूमि भन्छिन्, ‘मलाई लाग्छ अहिलेको समयमा सन्देशमूलक एवं राम्रा कन्सेप्ट भएका फिल्महरु नै बक्स अफिसमा सफल हुन्छन् । यसो हुँदा मेरा फिल्म बक्स अफिसमा सफल भएका छन् । अहिले कथामा सबल हुने जुनसुकै फिल्मले सफलताको स्वाद चाख्दै आएका छन् । र, यस्तै कुराले पनि भविष्यमा राम्रो गर्दै जानेछन् । भविष्यमा आउने मसलाका फिल्ममा म आवद्ध भइसकेकी छु ।’
भूमिका लागि कन्सेप्टसँगै रोचक पात्र र फरक विषयवस्तुले आकर्षित गर्छ । भूमि थप्छिन्, ‘मैले आजसम्म गरेका फिल्म सबै प्रेमकथा छन् । मलाई लाग्छ, प्रेमकथा नै व्यावसायिक फिल्मका लागि मसला हुन् । मेरा फिल्मले व्यावसायिकताका साथै सामाजिक रुपमा समेत सबल भएको पाउँदा खुसी लाग्छ ।’
भूमिको आगामी फिल्म ‘उड्ता पञ्जाब’ हो । उनी निर्देशक अभिषेक चौबेसँग यसमा काम गर्दैछिन् । १९७० को दशकको डकैती बारेको कथा भन्ने यस फिल्ममा सुशान्त सिंह राजपुतसँग उनले अनस्क्रिनमा काम गरेकी छन् ।

Leave A Comment