‘जीवनमा हरेस नखानू’

बिहिबार, १५ भदौ २०७४, १० : ३६ शुक्रवार , Kathmandu
‘जीवनमा हरेस नखानू’

रेणु त्वानाबासु
भक्तपुरको मुटु टौमढीबाट दायाँ मोडिएर तल भेलूखेल जाने ओरालोको बीचमा दायाँपट्टि एउटा सानो तरकारी पसल छ । त्यो पसल माया तामाङको हो । उनी बिहान ४ बजे नै उठेर पसल राख्ने तयारीमा जुट्छिन् । उनका पति मायालाई सघाउन ३ बजे नै उठेर ताजा तरकारी लिन कालिमाटी पुगिसक्छन् । उनीहरु दुवैको दैनिकी यसरी नै सुरु हुन्छ । काम निकै कठिन छ तर बेलुकी आफ्नो पसलबाट कमाएको पैसा गन्दा भने मायालाई आनन्द लाग्छ ।
‘यही पसल राखेर छोरालाई पनि बोर्डिङ स्कुल पढाइरहेकी छु’, माया सुनाउँछिन्, ‘जीवनमा पढ्न पाइएन, छोरोले हाम्रोजस्तो दुःख भोग्नु नपरोस् भनेर राम्रोसँग पढाइरहेका छौँ ।’
मायाले यो पसल थापेको १२ वर्ष भयो । यसअघि गाउँमै बाख्रापालन असफल भएपछि माया र उनका पति काभ्रेबाट काठमाडौँ उपत्यका आइपुगेका थिए । ‘१२ वर्षमा खोला त फर्कन्छ भन्छन् तर हाम्रो चाहिँ खोला फर्किएन,’ मायाले एकरसतापूर्ण जीवन खुलाउँदै भनिन्, ‘हाम्रो जीवनशैलीमा कुनै नयाँपन छैन । बिहान सखारै उठ्छौँ, बूढाले तरकारी ल्याउँछन् अनि तिनै तरकारी ओछ्याएर पेट पालिरहेका छौँ ।’
उनलाई सबैभन्दा ठूलो सन्तोष चाहिँ हेर्दाहेर्दै छोरो हुर्किएकामा छ । ‘छोराले पढाइमा राम्रो गरिराखेको खबर सुन्छु, त्यो सुन्दा म मेरो सबै थकान बिर्सिन्छु,’ माया भन्छिन् ।
पसलबाट यो तामाङ दम्पतीले महिनाको ४० हजारसम्म व्यापार गर्छन् । आधाजसो खर्च कटाएपछि उनीहरुको तीन प्राणीलाई एउटा सुबिस्तापूर्ण जीवन पाल्न सहज भएको छ ।
माया भन्छिन्, ‘मैले यो काम नगरी अरु नै ज्यालादारी काम गरेको भए मेरो आम्दानी पनि हुन्थेन । अनि छोरालाई बोर्डिङ स्कुल पढाउने धोको पनि पूरा हुन्थेन ।’
काभ्रेको नमोबुद्ध घर भएका तामाङ दम्पती मिलेर काम गर्न सकेकामा यत्तिको प्रगति हुन सकेको बताउँछन् । पतिको कामबाट माया खुसी छिन्, भन्छिन्, ‘उहाँले पसलको लागि कालिमाटीदेखि तरकारी ल्याइदिनुहुन्छ । एकाबिहानै आफैँले तरकारी ल्याइपुर्याउँदा अन्यबेलाभन्दा बढी बिक्री हुन्छ ।’
पहिला अरुले तरकारी ल्याइदिँदा ढिला ल्याउने भएकाले व्यापार निकै कम भएको पाएपछि मायालाई सघाउन तम्सिएका पति ४० वर्षीय तीर्थले बताए । ‘पसलको काममा दुःख छ, बिहानै निद्रामा उठ्नुपर्छ तर छोराको भविष्यका लागि यति त गर्नैपर्यो । तर पनि पसलले सन्तुष्टि नै दिएको छ ।’
बाख्रापालनमा घाटा भएपछि भक्तपुर छिरेको यो जोडीले सिधै यहीँ आएर तरकारी पसल थालेको थियो । यसमा अहिलेसम्म घाटा खान नपरेकाले तीन जनाको ज्यान पालिएको तामाङ परिवार बताउँछ ।
समयको भेलसँगै भक्तपुर र खासगरी उनको पसल वरिपरि जनसंख्या पनि बढेकाले व्यापार वृद्धि भएको माया बताउँछिन् । ‘पहिला तरकारी किन्न आउनेको संख्या कम थियो,’ उनले तुलना गर्दै भनिन्, ‘पहिला यहाँ स्थानीय बासिन्दाले नै तरकारी खेती गर्थे, बारीमा उब्जनी हुनाले त्यति धेरै बिक्री हुँदैनथ्यो । हामीले पनि यहीँका व्यापारीसँग किन्थ्यौँ । धेरै फाइदा पनि हुँदैनथ्यो । अहिले चैँ तरकारी खेती गर्नेको संख्या घट्यो, बारीमा घरहरु उम्रे । घर उम्रेपछि मान्छे पनि उत्तिकै उम्रिए । त्यसैले व्यापार पनि फस्टायो ।’
मायाले बिहान ४ बजेदेखि १२ बजेसम्म र बेलुकी ४ बजेदेखि ९ बजेसम्म पसल राख्ने गरेको बताइन् ।
कमाइ बढेपछि एक कोठामा जीवन धानिरहेको यो परिवारले दुई वटा कोठा लिएको छ ।
गाउँबाट यहाँ आइपुग्नेबित्तिकै नेवारी भाषाको ज्ञानको अभावले निकै अप्ठेरो झेल्नुपरेको मायाको अनुभव छ । समयसँगै स्थानीय भाषा बुझ्न थालेपछि भने समाजमा भिज्न सजिलो भएको उनी बताउँछिन्, भन्छिन्, ‘ग्राहक पनि राम्रा छन् । लामो समयसम्म एकै ठाउँमा अडिएकाले होला हाम्रा सबै ग्राहक नियमित नै आउँछन् । पुराना ग्राहकले मोलमोलाई नगर्ने बरु नयाँ आए भने भाउमा किचकच गर्छन् ।’
उनको वरपर पहिला तरकारी पसले निकै कम थिए तर अहिले संख्या बढेको छ । प्रतिस्पर्धा बढे पनि लामो समयसम्म यहीँ टिकेकाले खासै प्रतिस्पर्धा झेल्नु नपरेको उनको अनुभव छ । उनी भन्छिन्, ‘हामी राम्रा र ताजा तरकारी ल्याउँछौँ । यो कुरा बुझ्ने ग्राहक पनि पाएका छौँ । त्यसैले पनि हामीलाई सजिलो भएको छ ।’
संघर्ष गरिरहेकालाई मायाको कुनै सन्देश छ त ? उनी भन्छिन्, ‘जीवनमा कहिले हरेस नखानू ।’

Leave A Comment