निजी सवारीमा आकर्षण

आइतबार, ११ भदौ २०७४, ०१ : ५० दिलीप पौडेल , Kathmandu
निजी सवारीमा आकर्षण

निजी सवारी सोखका लागि नभई अनिवार्य आवश्यकताको साधन बन्न थालेको छ । निजी सवारी अहिले जीवनकै अभिन्न पाटो बनेको छ ।
धेरै कमाइ हुनेले चार पांग्रे निजी गाडी चढ्छने भने न्यून आम्दानी हुनेले दुई पांग्रे चढ्ने गरेका छन् । निर्धारित समयमै गन्तव्यमा पुगेर आफ्नो काम फत्ते गर्न सवारीकै सहारा लिनुपर्ने भएकाले समयसँगै चल्न व्यक्तिपिच्छे सवारी किन्नेको संख्या बढेको छ ।
हरेक व्यवसायका सेवाग्राहीदेखि व्यवसायीले व्यक्तित्व प्रर्दशन गर्नका लागिसमेत गाडीले सघाउ पुग्ने मैतीदेवीमा व्यवसाय गर्ने प्रमोद श्रेष्ठ बताउँछन् । ‘गाडी चढेन भने तल्लो दर्जाको रुपमा हेर्ने चलन भइसक्यो,’ उनले भने, ‘सवारी बाध्यात्मक बनिसकेको छ ।’
नेपालमा सवारीको संख्या पनि दिनानुदिन बढ्दै गएको छ । अहिले सवारी साधनको संख्या २८ लाख पुगेको छ । वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयमा मात्र करिब १० लाख ४२ हजार आठ सय गाडी दर्ता छन् । २८ लाख गाडीमध्ये मोटरसाइकल, निजी कारको संख्या बढी छ । हरेक सवारी आयात बढेसँगै राजस्व पनि बढेको छ । एक वर्षको अवधिमा सरकारले अटो बजारबाट एक सय अर्ब रुपैयाँ राजस्व संकलन गरेको नेपाल अटो मोबाइल्स डिलर्स एसोसिएसन(नाडा)का महासचिव कृष्णप्रसाद दुलालले बताए । ‘निजी सवारीमा सबैको आकर्षण छ,’ दुलालले भने, ‘सडक पूर्वाधार बढे अझै बढ्ने निश्चित छ ।’ मुलुकमा राज्यलाई सबैभन्दा बढी राजस्व बुझाउने यातायात क्षेत्र भएको व्यवसायी बताउँछन् ।
सानोतिनो जागिर, व्यवसाय गर्नेलाई मोटरसाइकल स्कुटीले निकै सघाउ पुगेको छ । थोरै आम्दानी भएकाले पनि किन्न सक्ने भएकाले दुईपांग्रे कामकाजीको लागि उपयोगी छ । विगतमा पुरुष मात्र चढ्ने भए पनि अहिले महिलाको संख्या पनि उत्तिकै बढेको छ ।
प्रयोगकर्ताले आफ्नो आम्दानी र रुचिअनुसार प्रयोग गरिरहेका छन् । प्रयोगकर्ता बढेसँगै विदेशबाट गाडी आयातसमेत बढेको छ । बैंक तथा वित्तीय संस्थाले सस्तो ब्याजमा किस्ताबन्दीमा सवारी उपलब्ध गराउने भएकाले थोरै आम्दानी हुनेले पनि प्रयोग गर्न पाएका छन् । प्रयोगकर्ता बढेसँगै नेपाली व्यावसायिक घरानाका आँखा यस क्षेत्रमा परेको छ । पछिल्लो समय न्यूनतम १५ लाखदेखि ३ करोड रुपैयाँका गाडी नेपाली बजारमा छन् ।
काठमाडौंमा जनघनत्व बढेसँगै निजीमात्र होइन सार्वजनिक सवारीको चाप पनि उत्तिकै बढेको छ । हरेक व्यक्तिले आरामदायी, सुरक्षित यात्रा खोजिरहेकाले निजी सवारीको चाप बढेको नाडाका अध्यक्ष रञ्जन श्रेष्ठ बताउँछन् । ‘सवारी साधान सर्वसाधरणको पहुँच बढाउनु आवश्यक छ,’ श्रेष्ठले भने, ‘निजी सवारी हरेक व्यक्तिलाई अनिवार्य आवश्यकता भैसकेको छ ।’
चितवनमा काठमाडौं झरेकी सञ्जिता भक्तराज केही समय सार्वजनिक यातायातमै हिँडिन् । स्कुटी हुँदै उनी अहिले लाख रुपैैयाँको आइटेन मेग्ना गाडी चढ्छिन् । गाडी चढ्न थालेपछि आफैँमा आत्मविश्वाससमेत बढेको उनले बताइन् । काठमाडौंमा बढ्दो सवारी जामप्रति भने उनी चिन्तित छन् । साँघुरा सडक भएकाले चार पांग्रे गाडी लिएर हिँड्दा कहिलेकाहीँ कठिन हुने अनुभव उनको छ । दुई पांग्रे साँघुरो बाटोमा जाम छल्दै समयमै गन्तव्य पुग्न सकिने भएकाले चार पांग्रे चढ्ने मोटरसाइकल, स्कुटी पनि प्रयोग गर्ने गरेको बताउँछन्  ।
पछिल्ला वर्षमा स्कुटी प्रयोगकर्ता बढेका छन् । सार्वजनिक यातायातमा महिलाहरुलाई दुव्र्यवहार हुने भएको अभिभावकले समेत स्कुल पढ्ने छोरीलाई स्कुटी किनिदिन आफैँ प्रस्ताव गर्ने समेत छन् । एक निजी कम्पनीमा काम गर्ने पोखराकी प्रमिला बानियाले स्कुटीले आफ्नो जीवन शैली नै फेरेको अनुभव गरेकी छन् । उच्च घरानियाले परिवारका सदस्यैपिच्छे सवारी किन्न थालेका छन् । व्यक्तिको आम्दानी, व्यक्तित्वलाई सवारीसँग दाँज्न थालिएको छ । युवा पुस्ताले विभिन्न मोडलका बाइक तथा स्कुटी प्रयोग गर्छन् । सरकारी तथा निजी क्षेत्रका जागिरे, व्यवसायी, बैंकर, व्यापारिक घरानासहित कलाकारले पनि सवारीलाई सोख बनाउने पनि छन् । नेपाली प्रयोगकर्ताले टाटा, हुन्डाइ, सुजुकी, होन्डा, किया, टोयटा, स्कोडा, यामाहा लगायत कम्पनीले आफ्ना आधिकारिक बिक्रेतामार्फत गाडी बेच्दै आएका छन् ।
गाडीले उत्पादन क्षमता बढाउँछ
अञ्जन श्रेष्ठ,
अध्यक्ष–अटोमोवाइल डिलर्स एसोशिएसन (नाडा)
दसैँ नजिकिँदै जाँदा सबैलाई एकै थलोमा सबै सवारी साधान खरिद गर्न सजिलो गराउन नाडा अटो सो आयोजना गरेका हौँ । यस अवसरमा विभिन्न नयाँ गाडी पनि लञ्च हुँदैछन् । मेलामा प्रख्यात ब्रान्डका सवारी साधनका साथै नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्ट, लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसेसरिजका स्टल राखिने छ । बैंक, वित्तीय संस्था तथा बिमा कम्पनीहरुको वृहत सहभागिता हुन्छ । सरकारले सवारीमा भन्सार दर २ सय ५८ प्रतिशत लगाउँदा भारतमा भन्दा तीन गुणा महँगो हुन्छ । सरकारले सार्वजनिक सवारीलाई भरपर्दाे, व्यवस्थित नबनाउँदा निजी सवारी अति आवश्यक भएको छ । मान्छे सकेर नसकेर किन्न बाध्य छ । अहिले सवारी साधन सर्वसाधरणको पहुँचबाहिर छ । गाडी निकै महँगो भयो । सरकारले यसलाई विलासिताको रुपमा मात्र हे¥यो । सबैले प्रयोग गर्न सक्ने अवस्था भएन । हामीले कर घटाउन माग गरेका छौँ तर सरकार हरेक वर्ष बढाउँदै जान्छ । उच्च आम्दानी हुने मात्र नभएर सबैले प्रयोग गर्ने बनाउन कर घटाउन माग गरेका छौँ । गाडीले उत्पादन क्षमता बढाउँछ । सार्वजनिक यातायातमा कमजोर भएको र यसले व्यक्तिगत आवतजावत, कार्यक्षमता वृद्धि गर्ने भएकाले विलासिताको रुपमा लिनु भएन । भारतमा भन्दा यहाँ गाडी दुई तिहाइ महँगो भयो । छिमेकी मुलुकअनुसार गर्न सक्छौँ नि ! भारतमा त्यही मोडलको गाडी एक तिहाई मूल्यमा चढेका छन् । सरकारले गाडी सर्वसाधारणको पहुँचबाहिर लगेर सम्भ्रान्तले मात्र चढोस् भन्ने नीति बनाएको छ । क्षमता अनुसारको गाडी किन्न सकिन्छ । बैँकले सस्तो ब्याजदरमा किस्ताबन्दीमा सुलभ ढंगले दिने व्यवस्था मिलाएका छन् ।

Leave A Comment