जय मातृसत्ता ! जय जननी !

शनिबार, १० भदौ २०७४, ०१ : २९ शुक्रवार , Kathmandu
जय मातृसत्ता ! जय जननी !

बद्रीप्रसाद दाहाल
एक्काइसौँ  शताब्दीका अत्याधुनिक र सभ्य मान्छे भनेर भान्छे र भरियासमेत घिरौँलो जत्रो नाक बनाउने हाम्रो नेपाली समाज छ । अझ सवा, अद्र्ध बुज्रूक र पौने बुज्रूकमा दरिएका त भैँमा न भाँडा हुँदै झन्नै बीस घण्टा फेसबुकमा पेस भएर भेष बदलेका आफ्ना बेढङ्गी तस्बिर राख्न झुन्निएको दृश्यले नेपाली समाजको भावी गन्तव्य कस्तो होला भन्ने मन्तव्यको जरुरतै छैन । केही वर्षअघि देशमा उद्योग र कलकार्खाना कौडीको भाउमा लिलाम भएपछि त बेरोजगार समस्याले विकराल रुप धारण गरेर पूर्व युवा, पूर्ण युवा र उत्तर युवा सबै लाहुरे हुने धुनमा पराइका देशमा जानुपर्ने विडम्वनाले दुई हजारको लर्को लागेको छ दैनिक । बिना सीप र बिना ज्ञान जोखिम मोल्न सोखिन बन्नु परेको छ, यो कालखण्डका नेपाली युवा ऊर्जाले । खतरा र महाखतरा काममा धेरै समय जोतिनु पर्ने कारणले दुर्घटनामा परी दैनिक झन्नै छवटा बाकसमा ईहलीला समाप्त गरेका नेपालीहरु विमानस्थलमा आइपुग्छन्  आँखा चिम्लिएर  ।
शासनको उद्योग र प्रशासनको कार्खाना चलाउने राजनीतिज्ञ र कर्मचारी जो यहाँका न्यारो माइन्डका एलिट  (सङ्कीर्ण मगजका अभिजन) लाई पनि यी तीन उमेरका देशबाहिर हुँदा ढुक्क । किनभने,  के ?  किन ? कसरी ? कसको ? कहाँबाट ? भनेर प्रश्न गर्ने ऊर्जाशील रगतले उनीहरुको कमाउ धन्दालाई ङ्याक्दैन । बूढाबूढी , बालबालिका , अपाङ्ग , एकल महिला , सामान्य श्रमिकमा शासन प्रशासन गर्दा कुनै लण्ठा बेहोर्नु नै पर्दैन उनीहरुलाई  । देशमा बँचेखुचेका तीनै थरी ——‘ पूर्ब युवा , पूर्ण युवा र उत्तर युवाहरुलाई’ सुरक्षासेवा , प्रशासन सेवा , शिक्षा— सेवा , बैँकिङ र कर्पोरेटको मेवा चखाइदिएर तै चूप मै चूप बनाइदियो । नपढेका र काम नपाएका हल्लुँडा र डुकुलन्ठू केहीलाई दलको कार्यकर्ता भनिदिएर समय समयमा ढुकुटीलाई सुकुटीमा रुपान्तर गरिदिए  त टन्टै साफ ! काम तमाम भै गो नि ?

 एक दसक अघिदेखि त व्यापक रुपमा नेपाली युवती पनि कमाउने आशाले वैदेशिक रोजगारीमा हाम्फालेका छन् । यतिखेर नेपाल सरकारको तथ्याङ्क भनौँ वा मिथ्याङ्क त झन्नै आठ लाख माता विदेशमा छन् भनेर गाता नभएको आफ्नो खाता फुकाउँछन् बा ! श्रम स्वीकृत लिएर गएकाभन्दा अवैध ढंगबाट विदेशिएका मातृसत्ता त दोब्बरै छ भनेर म्यान पावर, विचौलिया, सरकारी मान्छे र कन्सल्टेन्सीको जामा पहिरिएका तस्करका छुस्कर हाकाहाकी पुरुषार्थ छाँट्छन् गाँठे ! हाम्रा पूवीर्य ऋषि महर्षिहरुले मातृसत्तामा देखेको श्रद्धा आजका बाँदरे दलालहरुले वस्तुझैँ बिक्री र विनिमय गरेर स्वाहा पारिहेका छन् । यसको मौन साक्षी सरोकारहीन भएका समय–समयका नामधारी सरकार बनिरहेका छन् । वेदव्यास ब्रह्मवैवर्त पुराणमा किटान गरेर भन्छन्, ‘नास्ति मातासमं तीर्थं, पुत्राणां तारणाय च । हितायात्र परत्रार्थ, यैस्तु माता प्रपूजिताः ।।’ अर्थात् छोराछोरीलाई तार्न, उनीहरुको यो लोक र परलोक सुधार्न तथा हित गर्न मातासमान अर्को कुनै तीर्थ छैन । कूर्म पुराणमा पनि दस उपाध्यायभन्दा एक आचार्य उत्तम, सय आचार्यभन्दा एक बाबु महान् हुन्छन् भने एक हजार पिताभन्दा एउटी आमा श्रेष्ठतम हुन्छिन् अर्थात् आमाको योगदान सबैभन्दा ठूलो छ भनेर मातृसत्तामा श्रद्धा वर्षाएका छन् अजम्बरी द्वैपायन बूढाले । यी ऋषि वाक्यहरुलाई धोती लगाएर महामोतीका पनि अलौकिक ज्योति आमालाई कौडीको भाउमा बेच्ने नास्तिक बणिक् दिन दुगुना रात चौगुना बढेर चौपट पारिसके ।
नयाँ  चार्वाक्हरुले अहिलेको सिद्धान्तै जसरी भए नि पैसा कमाउ, मोजमजा गर र सातै पुस्तालाई थुपार वा आफ्ना सन्तानलाई युरोप र अमेरिकाबासी बनाऊ भनेकैले व्यवस्थापालिकादेखि तमाम पालिकामा जालीझेलीका तीखा फाली लाली घसेर ताली बजाउँदै अनाथगणका छातीमा बाली लगाउन आइपुग्छन् । सबैतिर बाघ, स्याल ब्वाँसा, बाँदर  र फ्याउराले त्राहि माम् पारेर हाम्रा हार फलाउने खेतपाखा तथा टार बेकारर भार हुन थाले ।
परराष्ट मन्त्रालयले गृहमन्त्रालयमा मानव तस्करको फेहरिस्त नदिएर नेपालका मातृगणलाई पराइ देशकै धनीमानीको यौनदासी बनाउने वातावरण तयार गरिदिएर कृतघ्नता जाहेर गरेको कुरा सो अध्ययन मण्डलले प्रतिवेदनमा बोलेको सञ्चारमा छिरिलबिरिलै छ । समितिको प्रतिवेदनले नेपाली आमाहरुको ओसारपसार बसको डिकीमा खसीबोकाकै तहमा राखेर तस्करका लस्कर साउदी अरेबिया, कतार, कुवेत, संयुक्त अरब इमिरेटजस्ता खाडी र मध्यपूर्वमा अभूतपूर्व तरिकाले बेचिरहेको दृश्य स्वयं अध्ययन टोलीले उल्लेख गरेको छ । यस्तो छ्याङ्ग हुँदा पनि दिउँसै रात पारेर द्रव्यपिचासहरु मातृस्वरुपा आमाको श्रीत्व, सतीत्व र अस्मितालाई बेपर्वाह कुल्चनु परिवार, समाज एवं देशकै लागि कलङ्क होइन ?

Leave A Comment