नुवाकोटभैरवीसम्बन्धी अशुद्धि

शनिबार, २५ असार २०७३, १२ : १७ प्रा. दिनेशराज पन्त , Kathmandu
नुवाकोटभैरवीसम्बन्धी अशुद्धि

काठमाडौँबाट तरुण प्रकाशन प्रा.लि.द्वारा प्रकाशित वि.सं. २०७३ ज्येष्ठ १० गतेको तरुण २० वर्ष ६ अङ्कका १, ८ पृष्ठमा छापिएको पूर्वराजा फेरि जिल्लामै सक्रिय भन्ने खबरमा देशदौडाहमा जानुअघि पूर्वराजा शाह सर्वप्रथम नुवाकोट दरबार पुगेर भैरवीदेवीको पूजापाठ गर्ने गर्थे, भैरवीलाई शक्ति तथा सुरक्षा प्रदान गर्ने देवीका रूपमा लिने गरिन्छ, गोरखामा रहेकी भैरवीदेवीलाई एकीकरणका क्रममा पृथ्वीनारायण शाहले नुवाकोट सारेका थिए (८ पृ.) भनी लेखिएको छ । यहाँ पृथ्वीनारायण शाहले गोरखाबाट भैरवीलाई नुवाकोट ल्याएका हुन् भनी लेखिएको छ । मध्यकालदेखि नै नुवाकोटभैरवीको अस्तित्व पाइन्छ । पृथ्वीनारायण शाहले वि.सं. १८०१ आश्विन १५ गते नुवाकोट विजय गरेपछि विजित प्रदेशका सबै कुराको संरक्षण गर्ने आफ्नो नीतिअनुसार भैरवीको विशेष मान्यता गरेका मात्र हुन्, गोरखाबाट भैरवीलाई नुवाकोटमा ल्याएका होइनन् । यो कुरा प्रसिद्धै छ । वि.सं. २०३२ मा काठमाडौँबाट त्रिभुवन विश्वविद्यालय नेपाल र एसियाली अध्ययन संस्थानद्वारा प्रकाशित धनवज्र वज्राचार्य र टेकबहादुर श्रेष्ठको नुवाकोटको ऐतिहासिक रूपरेखाका ३–६ पृष्ठमा यस विषयमा सप्रमाण लेखिएको पनि छ । हाम्रा पत्रपत्रिकाले अप्रामाणिक कुरा नै बढी लेख्छन् भन्ने कुराको सटीक नमूनामा तरुण पत्रिका पनि पर्न गएको छ ।  
 

Leave A Comment