तीजमा व्रत बस्नु हुन्छ ?

बिहिबार, ०८ भदौ २०७४, ०३ : ०७ शुक्रवार , Kathmandu
तीजमा व्रत बस्नु हुन्छ ?

हिन्दू महिलाको महान् चाड हरितालिका तीजको रौनक अहिले सर्वत्र देखिन्छ । पर्वमा महिलाहरू स्वास्थ्य, समृद्धि र पतिको दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्छन् । केही वर्षयता भने तीजको संस्कार र संस्कृतिमा निकै परिव्रतन भएको आरोप लाग्ने गरेको छ । सहरी तीज भड्किलो हुन थालेको गुनासो सुन्न थालिएको छ । सर्वसाधारणलाई चाहिँ तीजको व्रत, संस्कृति कस्तो लाग्छ ?
१. अर्चना थपलिया
तीज हिन्दू महिलाका लागि ज्यादै महत्वपूर्ण पर्व हो । तीजको व्रत विवाहित महिलाले आफ्नो पतिको दीर्घायु लागि बस्ने गर्छन् भने अविवाहितले राम्रो पति पाउनका लागि बस्छन् । यो व्रत पार्वतीले शिवलाई पाऊँ भनेर बसेको व्रत हो । यो व्रत म पानी नखाइकन बस्छु ।
२. शर्मिला श्रेष्ठ
हामी नेवार हौँ । हाम्रो त तीज हुँदैन । त्यसैले यस व्रतका बारेमा मलाई धेरै थाहा छैन । तर पनि यो व्रतको दिन महिलाहरु व्रत बस्छन् र शिवजीको पूजा गर्छन् भन्ने चाहिँ थाहा छ । यस दिन बाटोभरि महिलाहरु रातो रङको सारी लगाएर नाचगान गर्ने गरेको देख्दा मलाई तीज रमाइलो नै लाग्छ ।
३. मिठु नेपाल
तीजको व्रत बस्दा तीजको एक दिनअगाडि दर खाइन्छ । मिल्यो भने दर खान माइती गइन्छ नत्र भने आफ्नै घरमा दर खाइन्छ । तीजको दिन बिहान उठेर, नुहाएर चोखो भई शिव भगवानको मन्दिरमा गइन्छ । त्यस दिन सबै दुःख र पीडा भुलेर नाचगान गरेर रमाइलो गर्छौं ।
४. ललिता नेपाल
हिन्दू महिलाको सबैभन्दा ठूलो पर्व हो हरितालिका तीज । यस दिन महिलाहरु पानीको एक थोपा पनि नखाई व्रत बस्ने गर्छन् । यो दिन थाहा छैन के हुन्छ, भोक र तिर्खा दुवै लाग्दैन । सायद त्यस दिन भगवानले हामी महिलाहरुलाई शक्ति दिन्छन् होलाजस्तो लाग्छ ।  
५. रिना रिमाल
म तीजको व्रत धेरै समयदेखि बस्दै आइरहेकी छु तर म तीजको व्रत पानी नखाई बस्दिनँ । तीजको व्रतको दिन म जुस, पानी, फलपूmललगायत खान्छु । मलाई तीज रमाइलो नै लाग्छ । यस दिन पूजाआजा र नाचगान गरिन्छ ।

६. सम्झना गौतम
तीजको व्रतमा एक महिना अगाडिदेखि नै चिनजान भएका र अफन्तको घरमा गएर दर खाइन्छ । दरको नाममा सबैसँग भेटघाट हुन्छ, रमाइलो गरिन्छ । पाहुनाहरुलाई आफ्नै घरमा पनि बोलाइन्छ, मीठोमीठो खानेकुराहरु खुवाइन्छ । अनि त्यसपछि व्रत बसिन्छ ।  
७. निर्मला श्रेष्ठ
तीजका बेला दुईतीन वर्षअगाडि चुरा र कस्मेटिक आइटमको बिक्री धेरै हुन्थ्यो तर यो वर्ष तीजमा चुरा र कस्मेटिकको त्यति राम्रो बिजनेस भएको देखिँदैन । पहिले पहिले हरेक दिन दस हजार जति कमाइयो हुन्थ्यो भने यस वर्ष दिनको बल्लतल्ल पाँच हजार हुन्छ । यसपालि तीजमा महिलाहरुले कम किनमेल गरेको देखिन्छ ।
८. श्वेता बास्कोटा
तीजको व्रत म धेरै पहिलेदेखि नै गर्छु । यो व्रत त म पानी नखाइकन नै बस्छु । तीज मलाई एक दुई दिन अगाडि नै लाग्छ । यस दिन रातो लुगा लगाइन्छ, मन्दिर गइन्छ, नाचगान गरिन्छ । तीजको पर्खाइमा म जहिले पनि हुन्छु । तीज मेरो सबैभन्दा मनपर्ने चाडमा पर्छ ।
९. अस्मिता कर्ण
मेरो परिवारमा सबैले तीजको व्रत बस्ने गर्नु हुन्छ तर म चाहिँ व्रत बस्दिनँ । त्यस दिन मन्दिरमा गएर पूजाआजा गरिन्छ । परिवारसँग रमाइलो गरिन्छ । तीजको व्रत महिलाहरुले आफ्नो पतिको लामो उमेर र राम्रो स्वास्थ्यका लागि गर्ने गर्छन् ।
१०. यशोदा बास्कोटा
हरितालिका तीज वर्षको एक दिन आउने चाड हो । अचेल यो चाड ज्यादै भड्किलो हुन थालेको छ, जुन गलत कुरा हो । तीज पर्वलाई धेरै खर्च नगरी संस्कृति जोगाउनका लागि मनाउनुपर्छ । तीजको दर तीजको अघिल्लो दिन पो खाने हो त ! यहाँ त एक महिनाअघिदेखि नै दर खान्छन् । यो सरासर गलत कुरा हो ।
११. मीना बास्कोटा
तीज पर्व साधारण तरिकाले मनाउनु पर्छ नकि तडकभडक देखाउन मनाउने हो । हिजोआज यतिसम्म भइसक्यो कि स्कुलहरुले ठग्नका लागि बच्चाका अभिभावकलाई समेत तीजको कार्यक्रममा अनिवार्य आउनू भनेर बोलाउँछन् । त्यसका लागि अभिभावकसँग तीजको कार्यक्रमका लागि पैसा उठाउने गर्छन् । यो सरासर गलत कुरा हो ।

१२. सविना तुलाधर
हाम्रो तीज त हुँदैन तर त्यो दिन गणेश चौथी हुन्छ । यस दिन हामी चन्द्रमाको पूजा गर्छौं । नेवारहरुमा त्यस दिन जसले भोज खान्छ, उसले दसैँको भोज खान पाउँछ भन्ने धारणा छ । यस दिन गणेश भगवानको पनि पूजा हुने गर्छ । कहिलेकाहीँ तीज र गणेश चौथी एकैदिन पर्छ भने कहिलेकाहीँ तीजको अर्को दिन पर्छ ।
१४ नितु रौनियार
म हरेक वर्ष तीजको व्रत बस्छु । म तीजको एक दिन अगाडि सबै चोखो नै खान्छु । म तीजको एक दिन अगाडि ठकुवा, खजुर, पिरुकिया बनाउँछु । त्यो दिन म लसुन, प्याज, माछामासु केही खान्नँ ।  त्यसपछि म तीजको व्रत बस्छु । यस दिन म शिव मन्दिरमा जान्छु र पूजाआजा गर्छु अनि पानी नखाइकन व्रत बस्छु ।
१५दिपक रौनियार
तीजको दिन म पत्नीसँग मन्दिर जान्छु । आहारबिना नै तीजको व्रत बसेको हुनाले भोलिपल्ट पत्नीका लागि चिया, खाना सबै बनाउने गरेको छु । उसले मेरालागि व्रत बसेपछि मैले पनि उसका लागि यति त गर्नुपर्ने नै हो । तीज मलाई मनपर्ने पर्वहरुमा पर्छ ।

Leave A Comment