एउटा टेनिस लिजेन्डको कथा

बिहिबार, ०८ भदौ २०७४, ०२ : ५७ शुक्रवार , Kathmandu
एउटा टेनिस लिजेन्डको कथा

एक स्वीडेनी बालक थिए । उनलाई सबै खेल मन पथ्र्यो । जुन खेलमा भाग लिए पनि अब्बलमा दरिन्थे । यद्यपि उनमा टेनिसको भूत सवार थियो । टेनिस नै उनको सपना थियो । यही खेलबाट इतिहास रच्न सकिने विश्वास उनमा थियो । यो लक्ष्य पूरा गर्न उनका बुबा सबै खाले सहयोग गर्न तयार थिए । त्यसैले ती बालक नौ वर्षको भएपछि उनका बुबाले उनलाई टेनिस ¥याकेट दिए । र्याकेट पाएपछि बुबासँगै पार्कमा टेनिस सिक्न थाले ।
उमेर बढ्दै जाँदा बालकमा टेनिसप्रति लगाव बढ्दै गयो । उनका लागि अब हरेक खेल जित्नु लक्ष्य बन्न थाल्यो । उनी सधैँ खेललाई आफ्नो पक्षमा पार्न उद्यत हुन्थे । राम्रो खेलाडीमा हुनुपर्ने गुण हुँदाहुँदै पनि उनमा केही कमजोरी थिए । रिस उनको नाकैमुनि थियो । चाँडै नै आवेगमा आउँथे ।  खेलका बेला अम्पायरले आफूविरुद्ध कुनै निर्णय लिए भने उनी रिस देखाइहाल्थे । भनेजस्तो नहुँदा बीचमै खेल रोकिदिन्थे । कतिसम्म भने अम्पायरसँग झगडा गर्न पनि पछि पर्दैनथिए । रिसले चुर हुँदा ¥याकेट नै फ्याँकेर हिँडिदिन्थे । खेल अवधिमा कौशल देखाउनुको साटो गुनासो बढी गर्थे । जस कारण उनले सजिलै जित्ने खेल पनि हार व्यहोर्नु पथ्र्याे ।
एक पटक ठूलो टेनिस प्रतियोगितामा ती बालक फाइनलसम्म पुग्न सफल भए । त्यस खेल हेर्न उनका बुबासमेत उपस्थित थिए । छोरा फाइनलसम्म पुगेकामा बुबाको छाती चौडा भएको थियो । उनी छोराले ट्रफी उचालेको हेर्न चाहन्थे । उनी एकटक छोराको खेल हेरिरहेका थिए तर बुबाले सोचेअनुरुप खेल चलिरहेको थिएन । खेल छोराको पकडमा थिएन । खेल अवधिभर छोराको रिस मात्र देखिन्थ्यो । अङ्क लिन नसक्दा चिच्याउने, र्याकेट कोर्टमा बजार्ने गरेको उनका बुबालाई मन परेन । यस्तो व्यवहार देखेर उनका बुबालाई सह्य भएन । उनी आफू बसेको सिटबाट उठे, कोर्टभित्रै छिरे र माइक्रो फोन हातमा लिए ।
उनले माइक लिएर दर्शकतिर फर्किए र भने, ‘यो खेल यहीँ समाप्त हुन्छ । मेरो छोराको हार भयो ।’ यति भनेपछि उनी छोरासामू गए । उनले छोराको हातबाट टेनिस र्याकेट खोसे र छोरालाई क्रुद्ध भावमा अनुहारमा हेरे र रुखो स्वरमा आदेश दिए, ‘तिमीले खेल हार्यौ, तिमी मसँग हिँड ।’
यस्तो अवस्था देखेर सबै हतप्रभ भए । कोर्टमा शून्यता छायो । दर्शक अलमलमा परे ।
घर आएपछि बुबाले र्याकेट दराजमा थन्क्याए र छोरालाई भने, ‘त्यो र्याकेट ६ महिनासम्म दराजमा सड्छ । तिमीले अब आइन्दा यो वा अरु कुनै पनि र्याकेट छुने अनुमति दिन्नँ । तिमी ६ महिना अब टेनिस खेल्ने छैनौँ ।’
यस्तो कडा निर्देशनको अपेक्षा छोराले गरेका थिएनन् । टेनिस नै उनका लागि सबैथोक थियो, भलै उनले मनबाटै खेलिरहेका नहोऊन् । ६ महिनासम्म टेनिसबाट टाढा हुनु छोराका लागि निकै पीडादायी अवस्था थियो । धेरै पटक उनले बुबासामू रोईकराई गरे तर उनले टेनिस खेल्न त के छुन समेत पाएनन् ।
छैटौँ महिनाको अन्तिम दिन, बुबाले दराजबाट र्याकेट झिके । बुबाले छोरालाई बोलाएर मायालु लवजमा भने, ‘आजको दिनबाट मैले तिम्रो मुखबाट कुनै खराब शब्द उच्चारण भएको पाएँ वा खेल खेल्दा रिसको झोँकमा र्याकेटलाई मैदानमा फ्याँकेको देखेँ भने तिमीले सधैँका लागि टेनिस खेल्नबाट वञ्चित हुनुपर्ला । ख्याल राख्नू । तिमीले आफ्नो रिस नियन्त्रण गर्न सिकेनौ भने तिम्रो भलाइका लागि जस्तोसुकै कडा दण्ड दिन पनि पछि पर्दिनँ ।’
छोराका लागि अब टेनिस खेल्न पाउनु नै सबैथोक थियो, त्यसैले बुबाको कुरामा उनले ध्यान दिएनन् । उनको अनुहारमा चमक थियो । महिनौँपछि उनले अब टेनिस खेल्न पाउने भएका थिए । उनका बुबा जिद्दी छन् भन्ने बुझिसकेका थिए र अबका दिन कहिले पनि रिस नपोख्ने प्रण गरे ।
त्यो प्रणले बिस्तारै उनमा परिवर्तन ल्याउन थाल्यो । उनका खेल परिमार्जित हुँदै जान थाले । नभन्दै १५ वर्षको कलिलो उमेरमा नै उनले धेरैलाई पछाडि पारे । १६ वर्षको उमेरमा त युरोपभरि प्रोफेसनल टुर्नामेन्टमा विजय दर्ता गराउन सफल भए । एउटा रिसाहा बालकबाट उनी टेनिसका महान् हस्ती बन्न पुगे । यी टेनिस हस्ती अरु कोही नभएर जोन बर्ग हुन् । उनले खेल जीवनभर १४ वटा प्रमुख प्रतियोगितामा सफलता चुमे । ६ वटा त उनले फ्रेन्च ओपन जिते । १८ वर्षकै कलिलो उमेरमा पहिलो फ्रेन्च ओपन जितेका थिए । उनी लगालग पाँच पटक विम्बल्डन च्याम्पियन भए । उनलाई टिन एन्जल भनेर पनि चिनिन्छ ।
अब त कुरा बुझ्नु भयो होला, प्रतिभा भएर मात्र हुँदैन । सम्भावना भएर मात्र पनि हुँदैन । विजेता बन्नका लागि आफ्नो दुर्गुणलाई पनि नियन्त्रण गर्न सक्नुपर्छ ।

Leave A Comment