बाढीपहिरोको दीर्घकालीन समाधान के हुन सक्छ ?

मङ्गलबार, ०६ भदौ २०७४, ०१ : ०० शुक्रवार , Kathmandu
बाढीपहिरोको दीर्घकालीन समाधान के हुन सक्छ ?

१. आरती पाण्डे
बाढीपहिरो हरेक वर्ष जाने गर्छ । यो कुनै नयाँ कुरा होइन तर यसका लागि सरकारले पूर्व तयारी गर्यो भने राम्रो हुन्छ । नत्र भने सधैँ मानिसहरु बाढीपहिरोमा मर्ने गर्छन् । यसलाई रोक्न नेपाल र भारतबीच बाँध खोल्ने सम्झौता हुन जरुरी छ । यसले गर्दा बाढीपहिरोमा परेर डुबानमा पर्नेको संख्या घट्न सक्छ होला ।
२. दीपक भट्ट
अहिले प्रधानमन्त्री भारत भ्रमणमा हुनुहुन्छ । यस्तो विपतमा उनले भारतसँग सम्झौता गरेर कोसी बाँध खोल्न आवश्यक छ । त्यो बाँध नखोलेर कैयौँ मान्छेको धनजन र जीवनको क्षति भइरहेको छ । यसलाई कम गर्न सरकारले पहल गर्न जरुरी छ । अहिलेको अवस्थामा सरकारले आफ्नो जनतालाई कसरी बचाउनु पर्छ भनेर सोच्न जरुरी छ ।
३. अनिपाल बम
सरकारले प्रत्येक वर्ष बाढी नियन्त्रण गरी बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न करोडौँ रुपैयाँ खर्चंदै आएको भए पनि त्यसको प्रभाव न्यून देखिएको छ । यस्तोमा सरकारले समयमा नै राहत सामान पठाएर पीडितहरुको उद्धार गर्ने जरुरी छ ।
४. गणेशबहादुर सिंह
बाढी, पहिरो र डुबानबाट धेरै मान्छेको मृत्यु, धेरै जना बेपत्ता भएका छन् । यसले गर्दा हजारौँ घरपरिवार विस्थापित भएका छन् । धेरै घर डुबानमा परेका छन् । यस्तो विपतमा सबै क्षेत्रका मानिसहरुले बाढीपीडितलाई सक्दो सहयोग गर्नुपर्छ । यस्तो विपतमा मधेसी नेताहरु कहाँ हराए, यो एउटा ठूलो प्रश्न छ ।
५. लालबहादुर शाही
हाम्रो देशमा बाढीपहिरो जानु कुरा हो तर सरकारले हरेक वर्ष यसका लागि काम गर्नुभन्दा दीर्घकालीन उपाय खोज्न जरुरी छ । यसलाई कम गर्न सरकारले जनतालाई सतर्क गराउन सक्छ । राहत सामग्रीलाई समयमा नै बाढीपहिरो जाने ठाउँमा पु¥याउनुपर्छ । यसरी जहिले पनि बाढीपहिरोलाई कुरेर बसेर केही हुँदैन ।
६. रणबहादुर धामी
अब बाढीपहिरो गइसक्यो । अब यसलाई कसरी रोक्नु भन्दा पनि कसरी पीडितको उद्धार गर्ने सकिन्छ भन्ने कुरामा सोच्न जरुरी छ । यस्तो अवस्थामा समयमा नै पीडितलाई राहत पु¥याउनु पर्छ । कति ठाउँमा अहिलेसम्म राहतका सामान पनि पुगेको छैन । जसले पीडितको पीडालाई झन् बढाएको छ ।

७. मोहन नेपाली
अहिले तराईमा बाढी आएको छ भने पहाडमा पहिरो गएको छ । यस्तो समयमा सबैले एकअर्काको मद्दत गर्नुपर्छ । सरकारकाले बाढीपहिरो जानुभन्दा पहिले नै कुन ठाउँमा बढी बाढी र पहिरो जान्छ त्यस ठाउँकोे पहिचान गरेर त्यसको क्षतिलाई कम गर्न सरकारले पूर्वतयारी गर्ने जरुरी छ ।
८. हेमबहादुर बिष्ट
पहिले चुरेको संरक्षण गर्नुपर्छ । यसले गल्छी पहिरोहरुलाई कम गर्ने काम गर्छ । पहिरोले गर्दा नदी पनि बढ्ने गर्छ । यसलाई रोक्न वृक्षरोपण गर्ने जरुरी छ । चुरे संरक्षणको काम पनि उत्तरबाट हुनुपर्ने काम दक्षिणबाट भइरहेको छ । उल्टो काम भएकाले गर्दा समस्या घट्नुभन्दा बढिरहेको छ । बाढीपहिरो पीडितका लागि हरेक वर्ष बजेट भए पनि काम चाहिँ भएको जस्तो देखिँदैन ।
९् लीलाधर बिष्ट
बाढीलाई रोक्न सबैभन्दा पहिले पहिरोलाई रोक्नु पर्छ । त्यसैले पहिरो जाने ठाउँमा रुख रोप्नुपर्छ । जुन ठाउँमा पहिरो जान्छ, त्यस ठाउँमा तटबन्धको काम गर्नुपर्छ । जुन ठाउँमा बाढी र पहिरो जान्छ, त्यस ठाउँमा पाइप, बाटो, बिजुली बत्तीका पोल बनाउनु हुँदैन । यसले बाढीपहिरो पीडितको समस्यालाई झन् बढाउने काम गर्छ । त्यसैले यस्तो कामहरु गर्नु भएन ।
१०. कृष्णधर लामी
बाढी र पहिरोलाई कम गर्न सबभन्दा पहिले जंगलको आगलागी नियन्त्रण गर्नुपर्छ । यसले जमिन बचाउने काम गर्छ । यसको साथै खोलाबाट धेरै बालुवा, ढुङ्गा, गिटी निकाल्नु हुँदैन । यसले गर्दा डुबानको समस्या कम हुन्छ ।
११. शिवलक्ष्मी शाही
बाढी पहिरो भनेको प्राकृतिक प्रकोप हो, यसलाई पूर्णरुपले रोक्न सकिदैन । यसको क्षतिपूर्ति कसरी गर्ने सकिन्छ भन्ने कुरामा सरकारले काम गर्न जरुरी छ । सबैभन्दा पहिले सरकारले बाढीपहिरो पीडितलाई राहत सामग्री उपलब्ध गराउनु पर्छ ।
१२. हर्कबहादुर बिष्ट
कुन–कुन ठाउँमा बाढी पहिरो बढी जान्छ, सरकारले त्यस ठाउँको पहिचान गर्नुपर्छ । भारतसँग सम्झौता गरेर बाढीपहिरोको समयमा बाँधहरु खोल्नुपर्छ । जसरी पनि पीडितहरुको ज्यान बचाउने काम गर्न जरुरी छ । अरु केही गर्न नसके पनि कम से कम अब त तिनीहरुलाई उद्दार गर्ने कामलाई अघि बढाउनु पर्छ ।  

 

Leave A Comment