सुन र हिराका लागि विभत्स हत्या !

मङ्गलबार, ०६ भदौ २०७४, ११ : ४२ अनिल यादव , Kathmandu
सुन र हिराका लागि विभत्स हत्या !

समय: दिउँसोको दुई बजे ।
रियान स्कुलबाट घर फर्किएका मात्रै थिए । सदाझैँ गेटबाटै उनले हजुरआमालाई ‘आमा, आमा’ भन्दै सम्बोधन गरे तर कुनै जवाफ आएन । भान्सा कोठामा पुग्नासाथ उनले हजुरआमालाई डाइनिङ टेबलमुनि लडिरहेको अवस्थामा देखे । भुइँमा रगतैरगत थियो । त्यसपछि १२ वर्षीय रियानले तत्कालै १०० नम्बरमा प्रहरीलाई फोन लगाए, ममीलाई फोन गरेर आमा ढलिरहेको बताए र वरिपरिका मान्छेलाई बोलाए ।

यो घटना बूढानीलकण्ठस्थित तौलुङको हो । साउन १२ गते बिहीबार घरमा एक्लै भएको अवस्थामा ५६ वर्षीया पार्वती ढकालको निर्मम तरिकाले हत्या भयो र धनमालसमेत लुटियो । घटना भएको २० दिन बितिसक्दा पनि न यो हत्याको कुनै चर्चा छ, न त प्रहरीले हत्यारालाई पक्राउ नै गरेको छ ।

प्रहरीका अनुसार दाहिने खुट्टा अपांग रहेको पार्वतीलाई टाउको र आँखामा हम्मरले हानी हत्या गरिएको आशंका छ । प्रहरीले घटनास्थलमा हम्मर पनि फेला पारेको छ । ३२ वर्षअघि नै श्रीमानसँग छुट्टिएर बसेकी पार्वती छोरी गीता ढकालसँग बस्दै आएकी थिइन् । गीताका अनुसार हत्याराले आमाको हत्या गरेपछि दराज फोडेर १८ तोला सुन र चार क्यारेट हिरा लुटेर लगेका छन् ।

‘घटना एकदमै रहस्मय छ,’ हत्याको अनुसन्धानमा संलग्न रहेका महानगरीय अपराध महाशाखाका एसपी दीपक रेग्मीले भने, ‘घटनाको प्रकृति हेर्दा सुरुमा हत्या गरेपछि लुटिएको जस्तो छ । किचन रुम भुइँतल्लामा छ तर रगत माथिल्लो तलाको कोठासम्म देखिन्थ्यो । अवस्था हेर्दा मुनि हत्या गरेपछि माथि दराज फोडेर लुटेको जस्तो देखिन्छ । ’
धन्न छोरा बाँच्यो !
पार्वतीकी छोरी गीता काठमाठौंस्थित गोगंबुमा रियान ट्राभल एन्ड टुर्स चलाउँछिन् । ‘म सदाझैँ बिहान आठै बजे छोरालाई स्कुल बस चढाएर अफिस पुगेकी थिएँ,’ घटनाबारे पार्वतीले भनिन्, ‘बिहान सँगै ब्रेकफास्ट गरेपछि निस्किएका थियौँ । जाने बेलामा सानो कुकुर रोएको पनि थियो । किन रोयो भन्ने त लागेको थियो ! एकैचोटी छोराले फोन गरेर आमा ढलिराख्नुभा’को छ भनेपछि अत्तालिएर घर आएँ । आउँदा त आमाको हत्या भएछ ।’
घरमा आमा, छोरा र आफू गरी तीन जना बस्दैआएको उनले बताइन् ।

पार्वतीका अनुसार हत्या भएका बेला छोराको परीक्षा चलिरहेको थियो । ‘परीक्षा सधैँ साढे १२ बजेतिर सकिन्थ्यो, १ बजेसम्म त घर पुगिसक्थ्यो तर त्यस दिन स्कुलको गाडी बिग्रिएछ । अर्को गाडी मगाएर पुग्दा २ बजेको थियो । धन्न ढिला भएछ, नत्र छोरालाई पनि माथ्र्यो होला, धन्न छोरा बाँच्यो !’


उद्देश्य लुट्ने कि हत्या गर्ने ?

हत्या भएको घर साढे दुई तल्लाको छ । वरिपरि बाक्लो बस्ती देखिँदैन । को कहाँ आयो गयो भन्ने पत्तो हुँदैन । घरमा एक तलाको ठूलो र बलियो पर्खाल छ । पर्खाल र गेटको अवस्था हेर्दा लाग्छ, त्यहाँ अन्जान मान्छेलाई प्रवेश गर्न मुस्किल पर्छ । त्यसमाथि अन्जान मान्छेलाई गेट खोल्ने कुरै हुँदैन । ‘आमाको घाँटी र कानको सिक्रीसमेत लुटेर लगेको छ,’ शुक्रवार संवाददाता छोरी गीताको कार्यालयमा भेट्न पुग्दा उनले भनिन्, ‘घटनाको प्रकृति हेर्दा चिनेकै मान्छेले हत्या गरेको र त्यो पनि लुट्नका लागि जस्तो देखिन्छ ।’
घर र घटनाको अवस्था हेर्दा पनि परिचित मान्छे नै हत्यामा संलग्न रहेको हुनसक्ने अनुमान लगाउन सकिन्छ । गीताका अनुसार आफू पुगेको ४५ मिनेटपछि मात्र प्रहरी घटनास्थलमा आइपुगेको थियो । ‘छोराले सयमा दुई पल्ट फोन लाउँदा पनि रङ नम्बर भनेर फोन राखिदिएछन्, बच्चाबच्चीको कुरा त झन् पत्याउनुपर्ने हो,’ उनले आक्रोश पोखिन् । घटनास्थलमा पुग्दा अवस्था कस्तो थियो ? एसपी रेग्मीले भने, ‘चिया पकाउन दिब्रेमा पानी बसाइएको अवस्था थियो । आफूलाई पिउनलाई हो या त्यहाँ आएको मान्छेलाई खुवाउन, त्यो भन्न सकिने अवस्था छैन । तर घटनालाई सर्सर्ती अध्ययन गर्दा चिनेकै मान्छेले हत्या गरेको जस्तो नै देखिन्छ ।’

यस घटनामा लुट्ने उद्देश्यले हत्या गरिएको आशंका एकातिर छ भने अर्कोतिर उद्देश्य हत्या गर्ने तर घटनालाई अन्तै मोड्नका लागि लुटिएको हुनसक्ने पनि अनुमान छ । ‘यथार्थ जे पनि हुनसक्छ, अहिले नै भन्न सकिँदैन,’ महानगरीय प्रहरी परिसर महाराजगंजका प्रमुख डिएसपी गोविन्द पुरीले भने, ‘हत्या भएकै हो । केही गरगहना पनि लुटिएको छ । उद्देश्य के हो ? त्यो त हत्यारालाई पक्राउ गरेपछि खुल्छ । हामी गम्भीर ढंगले अनुसन्धान गरिरहेका छौँ । अनुसन्धानको नजिक पुगेका छौँ । चाँडै हत्यारा पक्राउ गर्नेछौँ ।’
गीताका अनुसार उनले फूलको बास्केटमा दराजको चाबी लुकाउने गर्थिन् जसको जानकारी थोरैलाई मात्र थियो । ‘त्यो बास्केट पनि चलाएको अवस्था थियो, त्यसैले चिनेकै मान्छेप्रति मलाई शंका छ,’ गीताले भनिन् ।

गीताले घरको रेखदेखका लागि सेक्युरिटी कम्पनीकै गार्डसमेत राख्ने गरेकी  छन् । ‘घरमा १५ दिनअघिसम्म गार्ड थियो,’ उनले भनिन्, ‘गार्ड नभएको बेला यस्तो भएको हो ।’ प्रहरी स्रोतका अनुसार गीताको घरमा थुप्रै कामदार र गार्ड परिवर्तन भए । ‘मृतकको छोरीले दुःख गरेर छोटो समयमै धेरै सम्पत्ति जोड्नुभएको रहेछ, कसैले उहाँको सम्पत्तिमा आँखा लगाइरहेको थियो होला । त्यसैले हत्या भएको हुनसक्छ,’ घटनाबारे जानकार एक प्रहरीले बताए ।

अधुरो जनैपूर्णिमा
गीताका अनुसार आमाले घरमा जनै पूर्णिमा मनाउने तयारी गरिरहनुभएको थियो । उनले हत्या भएको दिन जनै पूर्णिमाका लागि घरमा आफन्तहरुलाई निम्तोसमेत गर्नुभएछ । ‘तर उहाँको जनै पूर्णिमा मनाउने सपना अधुरै रह्यो,’ मलिन स्वरमा छोरी गीताले भनिन्, ‘१२ बजेतिर लास्ट कल नै मामालाई गर्नुभएको रहेछ । जनै पूर्णिमाका लागि बोलाउनुभएको रहेछ । त्यसैले घटना १२ः१५ देखि १ बजेको बीचमा भएको हुनुपर्छ ।’

घटना किन बाहिर आएन ?
पार्वतीको हत्यालाई प्रहरीले समेत एकदमै रहस्मय मानेको छ । ‘यसलाई चोरले गरेको भनौं भने चोरले कति ठूल्ठूलो चोरी गर्दा पनि हत्याचाहिँ गर्दैन, हत्या डकैत गर्नेहरुले गर्ने हो तर यहाँ त समूहमा आएको जस्तो पनि देखिँदैन । त्यसैले यो चोरीभन्दा पनि हत्या हो । त्यो पनि चिनेजानैकै बाट,’ महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत एक प्रहरी अधिकृतले भने ।  यति ठूलो घटना घट्दा पनि बाहिर यसबारे धेरैलाई जानकारी छैन ।
त्यसमाथि घटनास्थलदेखि प्रधानमन्त्री शेरबहादुर देउवाको निवाससम्म पुग्न हिँडेर १५ मिनेट जति लाग्छ । ‘हत्यारा भाग्छ भनेर मैले पनि मिडियालाई खबर नगरेको हुँ,’ छोरी गीताले भनिन् । १६ वर्षदेखि ट्राभल व्यवसायमा आबद्ध रहेकी गीता पनि श्रीमानसँग अलग्गिएर बसेकी छन् । उनको एकजना बहिनी छिन्, जसको बिहे भइसक्यो । अहिले गीता सानो ममीको घरमा बस्दै आएकी छन् । घर बिक्री अर्थात् भाडाका लागि विज्ञापनसमेत गरेकी छन् । ‘१३ दिनको काम सकेर म सानो ममीकहाँ बसिरहेको छु, छोरा पनि यतैबाट स्कुल गइरहेको छ,’ उनले भनिन्, ‘एक्लै छु त्यही भएर । अहिले घरमा कुरुवा राखेको छु । उनीहरुले नै घरको रेखदेख गरिरहेका छन् ।’
संवाददाता मंगलबार उनको घर नजिकै गेटमा पुग्दा गीताले गोगंबु अफिसबाट देखिछन् । त्यसपछि उनले घरमा रहेका युवालाई फोन गरेर ‘बाहिर कोही आएको’ जानकारी गराइन् । युवाहरु छतमाथि निक्लिएपछि मात्र थाहा भयो– गीताले घरमा सिसिटिभी राखिसकिछन् । हत्यापछि गीता एकदमै त्रसित भएको यसले पनि पुष्टि गर्छ ।

अनुसन्धाननजिक पुगिसक्यौं
महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर महाराजगंजले मिलेर यो घटनाको अनुसन्धान गरिरहेको छ । घटनाबारे प्रहरी अहिले मुख खोल्न चाहँदैन । महाशाखाका एसएसपी दिनेश अमात्य भन्छन्, ‘अनुसन्धान भइरहेको छ, अहिले केही भन्न मिल्दैन ।’ यता एसपी दीपक रेग्मी अनुसन्धानको नजिक पुगिसकेको बताउँछन् । महाराजगंजका प्रहरी प्रमुख गोविन्द पुरीलाई सोध्दा उनी चाँडै नै हत्यारा सार्वजनिक गरिसक्ने बताउँछन् । ‘घटना रहस्यमय छ र हामी रहस्य खोलेरै छाड्छौँ, यो हाम्रो काम नै हो,’ डिएसपी पुरीले भने ।

 

Leave A Comment