तपाईं नेपालीमै बोल्नुस्, टाइप गर्ने काम गुगलको

सोमबार, ०५ भदौ २०७४, ०२ : ४० शुक्रवार , Kathmandu
तपाईं नेपालीमै बोल्नुस्, टाइप गर्ने काम गुगलको

गुगलले बोलेको कुरा स्वतः टाइप हुने सेवा यसअघि नै सञ्चालनमा ल्याइसकेको छ । तर अबदेखि नेपालीमै बोल्दा पनि आफैँ टाइप हुने सेवा गुगलले सञ्चालनमा ल्याएको छ । गुगलको एप्लिकेसन एन्ड्रोइड किबोर्डमार्फत अब सम्पूर्ण नेपालीले नेपाली भाषामा बोलेको कुरा स्वतः टाइप हुने सेवाको भरपुर उपयोग गर्न सक्नेछन् । यसले किबोर्ड थिचेर टाइप गर्ने झन्झटबाट मुक्त गर्नेछ ।
गुगलले यो सेवा अंग्रेजी भाषामा धेरै पहिले नै उपलब्ध गराइसकेको थियो । धेरै जनसंख्याले बोल्ने अन्य भाषामा पनि यो सेवा उपलब्ध थियो तर नेपालीमा थिएन । गुगलले सोमबार थप ३० वटा भाषामा यो सेवा उपलब्ध गराएपछि नेपाली बोल्ने प्रयोगकर्तालाई यो सुविधा उपलब्ध भएको छ । अब बोलेको कुरा टाइप गर्न, बोलेर कुनै कुरा गुगलमै खोज्न सजिलो भएको छ । अब यो सेवा विश्वका १ सय १९ भाषामा उपलब्ध छ ।
थपिने नयाँ भाषाहरुमा भारतका क्षेत्रीय भाषाहरु पनि छन् । अब तमिल, तेलेगु, मराठी, मलायम, कन्नाड र बंगालीजस्ता भाषामा पनि यो सेवा उपलब्ध छ । बोलेको कुरा स्वतः टाइप हुने बनाउन गुगलले निकै मिहिनेत गरेको छ । यसका लागि उसले नेपालीभाषीहरुलाई उनीहरुले मुख्यमुख्य शब्दहरु कसरी बोल्छन् भनी नमूना संकलन गरेको थियो । त्यही आधारमा उसले मेसिन तयार गरी आफैँ टाइप हुने सुविधा तयार गरेको हो ।
यो सेवा प्रयोग गर्न गुगल प्ले स्टोरमा गई द गुगल किबोर्ड सर्च गरी गुगल किबोर्ड एप डाउनलोड गर्नुपर्छ । यो किबोर्ड डाउनलोड गरेपछि त्यहाँ आवाजमा बोलेको कुरा स्वतः टाइप हुने सेवा प्रयोग गर्न पाइन्छ । टाइप भएको कुरा कपी गरी सोसल मिडिया तथा इमेलमा पेस्ट गर्न सक्नुहुन्छ ।

 

Leave A Comment