शैक्षिक प्रदर्शनी

आइतबार, ०४ भदौ २०७४, ०३ : ०१ शुक्रवार , Kathmandu
शैक्षिक प्रदर्शनी

हरेक वर्ष प्लस टुतर्फ साढे तीन लाख विद्यार्थी परीक्षामा सहभागी हुन्छन् भने डेढ लाखको हाराहारीमा उत्तीर्ण हुने गर्छन् । तीमध्ये अधिकांश विद्यार्थी स्नातक तहमा कहाँ, कुन विषय लिई पढ्ने भनेर दोधारमा परिरहेका हुन्छन् ।
विद्यार्थीको यही अन्योल हटाउन गर्न नेपाल रिपब्लिक मिडियाले ‘हेराल्ड कलेज   नागरिक इजुकेसन करिअर फेयर २०१७’को आयोजना गर्ने भएको छ । काठमाडौँको अन्नपूर्ण होटेलमा आयोजना गरिने यो मेला भाद्र २ देखि ५ गतेसम्म सञ्चालन हुनेछ ।
स्नातक तह नै विद्यार्थीको करियर बनाउने आधार भएकाले उनीहरु बजारको माग अनुसारको शिक्षा लिनुपर्ने अधिकांश अभिभावकको मत छ । त्यसैले पनि विद्यार्थीहरुमाझ प्राविधिक, आइटी तथा व्यवस्थापन तर्फको आकर्षण बढी पाइएको छ ।
विगतमा कक्षा १२ मा विज्ञान अध्ययन गर्नासाथ स्नातकमा मेडिकल र इन्जिनियरिङ नै अध्ययन गर्नुपर्ने अवधारणा विद्यार्थीमा परिवर्तन आइरहेको देखिएको छ ।
यसैलाई मध्यनजर गर्दै नागरिक एजुकेसन एन्ड करिअर शैक्षिक मेलामा २०१७ मा स्वदेशी तथा विदेशी गरी कुल २५ वटा कलेजले सहभागिता जनाउने मेला संयोजक धिरज ढकालले बताए । उनले मेला अवलोकनकर्तालाई निःशुल्क प्रवेशको व्यवस्था मिलाएको जनाए ।
‘मेलामा विद्यार्थीले कलेजका प्रतिनिधिलाई प्रत्यक्ष भेटेर कलेज, विषय, शुल्क लगायतका विषयबस्तुबारे सही सूचना प्राप्त गर्न सक्छन्,’ संयोजक ढकालले भने, ‘साथै मेलामा विद्यार्थीलाई ग्रोथसेलर संस्थाका प्रतिनिधिले करियरबारे सही गाइडलाइन दिने व्यवस्था छ । विभिन्न विज्ञहरुबाट सेमिनार र करियरबारे कक्षासमेत सञ्चालन हुनेछ ।’
मनोरञ्जनका लागि बिएसआर मुभीले गोलाप्रथाबाट विजेताका लागि टिकटसमेत व्यवस्था गरेको छ ।
नेपाल मेघा कलेजका कार्यक्रम निर्देशक मधुकर पाण्डेका अनुसार मेलामा एउटै छातामुनि विद्यार्थीलाई धेरै शैक्षिक कार्यक्रमबारे जानकारी गराइने भएकाले मेला विद्यार्थीका लागि उपलब्धिमूलक हुन्छ । ‘विद्यार्थीहरुले धेरै कलेज चहार्नु नपर्ने र समयको पनि बचत हुन्छ,’ पाण्डे भन्छन्, ‘नेपालमै स्नातक तहको पठनपाठन स्तरीय भएकाले अब विद्यार्थीहरु बाहिर जानु पर्दैन । करिब ५ हजार विद्यार्थीले दुई दिने मेला अवलोकन गर्ने हाम्रो अनुमान छ ।’
शैक्षिक मेलाका को–स्पन्सर हब इन्टरनेसनल इजुकेसनका उद्धव खड्काले स्वदेशमै बसेर विदेशी डिग्री हासिल गर्ने र विदेशमै गएर उच्च शिक्षा हासिल गर्न चाहने दुवै खाले विद्यार्थीका लागि नागरिक इजुकेसन करिअर फेयर निकै उपलब्धिमूलक रहने जनाए । मेलामा शैक्षिक परामर्श दातृ निकायको उपस्थितिले विदेशमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई सही परामर्श दिने उनको दाबी छ ।
‘विदेशमै गएर उच्चशिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई मेलामा विदेशी कलेज, शुल्क, छात्रवृत्ति लगायतका शैक्षिक परामर्श दिइने व्यवस्था हामीले गरेका छौँ,’ १२ वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा कार्यरत खड्काले भने, ‘स्वदेशी र विदेशी दुवै डिग्रीको विद्यार्थीसँग रोजाइ हुन्छ । कुन छान्ने उनीहरुको अधिकार हो ।’

Leave A Comment