‘म गम्भीर काम गर्छु भनेर छान्दिनँ’

आइतबार, ०४ भदौ २०७४, ०२ : ३५ शुक्रवार , Kathmandu
‘म गम्भीर काम गर्छु भनेर छान्दिनँ’

अक्षय कुमारको फिल्म ‘ट्वाइलेट–एक प्रेमकथा’ हाल प्रदर्शनमा आएको छ । एक्सन, कमेडी फिल्म गर्दै आएका अक्षय पछिल्लो समय गम्भीर विषयवस्तुका फिल्म गर्दै आएका छन् । भारतका केही ग्रामीण भेगमा चर्पी बनाउनु चलिआएको संस्कारको विरोधका रुपमा लिइन्छ । यही विषयमा बनेको फिल्मबारे अक्षयसँग एक भारतीय मिडियाले गरेको कुराकानी :
तपाईं बलिउडमा आएको २५ वर्ष भयो । तपाईं फिल्म पनि भिन्नै तरिकाका गर्नुहुन्छ जस्तो अहिले प्रदर्शनमा आएको ‘ट्वाइलेट एक प्रेमकथा’ । यो फिल्म गर्नेबारे कसरी सोच्नुभयो ?
म मेरो भाग्य वा अथवा भनौँ भविष्य हेरेर फिल्म गर्दिनँ । म आफूले आफूलाई लक्की ठान्छु । कुनै पनि फिल्म गर्दा यसले राम्रो गर्नेछ भनेर साचेर गर्दिनँ । फिल्म गर्नु स्वभाविक प्रक्रिया हो । म मेरा फिल्मबाट मनोरञ्जन मात्र नभएर केही मात्रामा प्रभाव पारुन भन्ने चाहन्छु ।
तर यो ट्वाइलेट एक प्रेम कथाजस्तो फिल्म गर्दा त यो लागु हुन्न होला नि ? फिल्म गर्ने बेला फिल्मबारेको पृष्ठभूमिबारे पनि जानकार हुनुपर्ने होला । फिल्म व्यावसायिक रुपमा समेत सबल पार्न निकै कसरत गर्नुपर्छ होला नि ?
कुनै पनि फिल्मको विषय एकदमै बलियो हुनुपर्छ । फिल्मले व्यावसायिक सफलता हात पार्न सकेन भने त्यो मासमा जान नसकेको ठहर्छ । र, ‘ट्वाइलेट : एक प्रेमकथा’ जस्तो फिल्म भने भारतमा मात्र नभएर पूरै विश्वले थाहा पाउनुपर्ने सामाजिक विषय भएको फिल्म हो । फिल्मका लेखक निकै सिर्जनशील छन् । फिल्मको प्रेमकथा अरु फिल्मभन्दा पृथक छ र यसले उठान गरेको विषय पनि नौलो छ । छोटोमा भन्दा प्रेमकथा एउटा ट्वाइलेट नहुँदाको अवस्थामा सिर्जित छ ।
फिल्मले उठाएको विषय त हाम्रो समाजले निधेष गर्दै आएको विषयमा छ । हाम्रा कतिपय कलाकारहरु त यस्ता कुराहरु अभियान र डकुमेन्ट्रीमा मात्र सीमित राख्दै आएका छन् । यो फिल्मले उठाएको विषय फिल्मी पर्दामै उतार्ने विश्वास चाहिँ कहाँबाट आयो ?
हेर्दा सामान्य लाग्ने तर गम्भीर विषयलाई सबैले सुनून्, बोलून् भन्ने चाहन्थेँ । फिल्मलाई ह्युमर र ड्रामाका माध्यमबाट सबैसामु पु¥याउँदा प्रभावकारी हुने देखिएरै फिल्म बनाउने निर्णय गरिएको हो । मलाई त यसको विषयसँगै फिल्ममा रहेको प्रेमकथाले सुटिङको पहिलो दिनदेखि नै तानेको थियो । हामी भारतीयहरुमाझ रहेको तीतो यथार्थलाई विश्वले थाहा पाओस् भन्ने नै हाम्रो चाहना हो । भारतमा थ्रीडी फिल्म बनाइन्छ तर ट्वाइलेट बनाइँदैन !
यसरी सामाजिक मुद्दालाई फिल्ममा उतारिँदा दर्शकहरुलाई ठगी त हुँदैन । फिल्म हेर्न जाने दर्शक मनोरञ्जन छाडेर सन्देशतिर मात्र लाग्ने त होइनन् ?
म मेरा दर्शकलाई ढाँट्न चाहन्नँ । यदि मैले एकपटक ढाँटेँ भने दर्शकहरु सधैँ मलाई त्यस्तै रुपले हेर्छन् । फिल्मको कथा एकदमै बलशाली छ । फिल्मको डेलिभरी पनि निकै मनमोहक छ । फिल्मले जतिसुकै गहन एवं गम्भीर कुरा उठाए पनि यो हास्यरसमा छ । दर्शक पूर्ण रुपमा रमाउनु हुनेछ र आफू वरिपरिको तीतो यथार्थलाई आत्मसात गर्नु हुनेछ ।
फिल्ममा तपाईंकी लेडी लभ भूमि पेडनेकर र तपाईंको भूमिका आम महिलाको जस्तो छ । भूमिसँग पहिलोपटक फिल्म खेल्दाका केही अनुभव सुनाइदिनुहोस् न ?
भूमिले यस फिल्ममा शालिन एवं अनुशासित र साहसी महिलाका रुपमा  देखिएकी छन् । भूमि अहिले चल्तीका हिरोइनभन्दा बिल्कुल फरक र नौला चरित्र गर्ने अभिनेत्री हुन् । उनी परम्परागत हिरोइनको मान्यता तोड्ने हिसाबले फिल्महरु गर्दै आइरहेकी छन् । तपाईं हिरोइन बन्न बार्बी डलजस्तो सजिएर मात्र पुग्दैन । हाम्रो देश प्रतिभाशाली अभिनेत्रीहरुको सम्भावना भएको देश हो । जसरी भूमि अघिल्लो फिल्मबाट चर्चामा आइन्, उनी यस फिल्मबाटै त्यस्तै चर्चामा आउने मेरो विश्वास छ । म आफैँ पनि इन्डस्ट्रीमा सुन्दर अभिनेत्रीभन्दा पनि प्रतिभावान अभिनेत्रीहरु भरिएको हेर्न चाहन्छु ।
श्री नारायण सिंह लामो समयदेखिका अवार्ड प्राप्त फिल्म सम्पादक हुन् । यसरी सम्पादनमा रमाइरहेका सिंह निर्देशकका रुपमा नौलो अवतारमा कसरी आएका छन् ?
श्रीनारायण नयाँ अवतारमा आउन आफ्नो सम्पूर्ण मन लगाएका छन् । उनीसँग काम गर्ने जो–कोहीले भन्न सक्छ, उनी निकै रोचक निर्देशक हुन् । उनी बिहान बिहान ३ घन्टा प्रार्थना गर्छन् । एउटा मात्र सुटिङका लागि उनी सबेरै सुटिङमा जान्थे । उनी खुला हृदयका छन् । उनी आफ्नो बाटोमा अवरोध आउने वातावरण नै दिँदैनन् । उनी फिल्म कसरी राम्रो बनाउने भनेर सधैं तल्लिन हुन्छन् । उनी सम्पादन गर्ने कला पनि अरुहरुको भन्दा बेग्लै छ । तीव्र गतिमा बगेको प्रेमकथाका लागि उनलाई म धन्यवाद नदिई बस्न सक्दिनँ ।
धेरै दर्शकले रुचाउने एक्सन फिल्म र कमेडी फिल्म हो । गम्भीर फिल्महरुबाट तपाईंले अवार्ड पाउनुभयो । तपाईंको करियरमा कहीँ न कहीँ एउटा कुरालाई लिएर अगाडि बढ्ने सोच त थियो होला नि ? तपाईंले योजनावद्ध तरिकाले वा यत्तिकै फिल्म खेल्नुहुन्छ ?
मैले आजसम्म गरेका सम्पूर्ण काम सचेत दिमागले गरेका काम वा निर्णय हैनन् । म कुनै बिहान उठेर अब चाहिँ गम्भीर रुपमा लागेर करियर बनाउनुप¥यो भनेर कहिल्यै सोच्दिनँ । यो सबै मेरो समयमा वा भनौं भाग्यको पोल्टामा परेका कुरा हुन् । म मेरो चेतनाले भ्याएसम्म अफबिट स्क्रिप्ट गर्छु । म मेरो फिल्मका मुख्य विषवस्तुहरुलाई राम्ररी सम्पादन समेत गर्छु । म मेरा दर्शकहरुलाई हाँस्न र हँसाउनतिर ध्यान दिन्छु । मैले आजसम्म यति धेरै फिल्म गरेँ कि अब म मेरा फिल्म र यसका विषय कुनै स्कुल वा विश्वविद्यालयका पाठमा मात्र सीमित राख्न चाहन्नँ । हाम्रो समाज, रीतिथिति, आस्था, इतिहास र स्वास्थ्यका कुरा फिल्ममा आउनुपर्छ भन्ने मेरो सोचाइ छ र यस्ता फिल्म गर्न कुनै पनि कलाकार पछि हट्नु हुन्न । म मेरा फिल्मले समाजमा सानो भन्दा पनि सानो प्रभाव राख्न सकेमा आफूले आफैँलाई ‘मैले कम्तिमा प्रयास त गरें’ भन्न सक्छु ।

 

Leave A Comment