निखिलका दुर्दिन

मङ्गलबार, ३१ साउन २०७४, १० : २६ शुक्रवार , Kathmandu
निखिलका दुर्दिन

चर्चामा रहँदा रहँदै हराएका कलाकारको कमब्याक बडो दुर्लभ हुन्छ । भारतका अमिताभ बच्चन सायद अपवादमा पर्छन् । नेपालमा होस् वा भारतमा कुनै पनि हिरो वा हिरोइनको कमब्याक सफल भएको देखिन्न । पहिलो फिल्म ‘भैरव’को ताबडतोड कमाइपछि भने निखिल पनि अपवाद बन्ने बाटोमा रहेको धेरैको अनुमान थियो । तर त्यसपछि रिलिज भएका फिल्मले पालैसँग निर्माता डुबाएपछि फेरि एक पटक बगेको खोलो फर्कन गाह्रै हुन्छ भन्ने उखान चरितार्थ भएको छ ।
‘भैरव’पछि उनको मुख्य भूमिका रहेका ‘लुटेरा’, ‘किङ’, ‘निर्भय’ सबै फ्लप रहे । हुँदाहुँदा निखिल आफैँ निर्मातासमेत रहेको ‘रुद्र’ले पनि निखिललाई हिट फिल्मको ट्याग दिन सकेन । ‘प्रेमगीत २’ सँग नराम्ररी पिटियो । यस वर्ष निखिलका थप तीन फिल्म रिलिज हुनेछन् । ‘पिंजडा ब्याक अगेन’, ‘भिलेन’ र ‘कमिटमेन्ट’ निखिलले सुटिङ सकेका फिल्म हुन् । माथि उल्लेखित तीन फिल्म चलेनन् भने निखिलले के गर्लान्, उनका विरोधीका लागि कौतुहलताको विषय रहनेछ । हामीलाई त यही लाग्छ, निखिल क्रेज नभएका हिरो होइनन् । बस समयसँग हिँड्न नसक्दा यस्तो दिन देख्न बाध्य भएका हुन् ।  

 

Leave A Comment