सदाबहार फेसन जिन्सको क्रेज

मङ्गलबार, ३१ साउन २०७४, १० : २३ शुक्रवार , Kathmandu
सदाबहार फेसन जिन्सको क्रेज

मोडल एव भीजे सुबह आचार्य जिन्स भनेपछि भुतुक्कै हुने गर्छन् । चाहे सर्टसँग होस् या टिसर्टसँग उनको पहिलो च्वाइस जिन्स नै हुने गर्छ । फेसनमा बढी रुचि राख्ने भएकाले उनीसँग जिन्सको राम्रै कलेक्सन छ । त्यस्तै गायक तथा नायक बाबु बोगटीको सदाबहार मनपर्ने पहिरन भनेको जिन्स नै हो । सेतो सर्टमा ब्लु जिन्स र ब्ल्याक रेबन ग्लास लगाएर ठाँटिनु उनको मनपर्ने सोख रहेको बाबु बताउँछन् । ‘गर्मीमा मलाई ह्वाइट पातलो सर्टमा जिन्स पेन्ट लगाउन मनपर्छ,’ उनी भन्छन्, ‘जाडो याममा भने ब्लेजर र ज्याकेटसँग जिन्स लगाउँछु ।’
जिन्स सबैको सदाबहार मनपर्ने फेसनमा पर्न आउँछ । महिलाहरु पनि जिन्स फेसनबाट अछुतो छैनन् तर यस कोलममा महिलाको फेशनबारे धेरै चर्चा गरिएकाले यस पटकको ‘राम्रो लाउँ’मा पुरुषको फेसन प्रस्तुत गरिएको छ ।
धेरै वर्षदेखि चलिआएको जिन्स पहिरन कहिले पनि आउटडेटेड भएको छैन । त्यसैले पनि यसलाई सदाबहार फेसन भन्ने गरिन्छ । हरेक उमेरका पुरुषले प्रयोग गर्ने भएकाले जिन्सको आफ्नै महŒव रहेको पाइन्छ । त्यसमा पनि विशेष गरी टिन एजरदेखि लिएर ३० प्लससम्मका पुरुषहरुले जिन्स पहिरन बढी प्रयोग गर्ने गरेको पाइएको छ ।
लगाउँदा आकर्षक एवं स्मार्ट देखिनुका साथै सहज रुपमा उपलब्ध हुने भएकाले पनि जिन्स प्रयोगकर्ता दिन प्रतिदिन बढ्ने क्रम जारी छ । साथै, हरेक डिजाइन र साइजमा पाइने, त्यति महँगो पनि नहुने भएकाले पुरुषमाझ यस पहिरन प्रतिको मोह बढेको हो । सुरुका दिनमा टेक्सवुड, लिभाइज हुँदै हाल डेनिम जिन्सको माग बढिरहेको पाइन्छ । फेसन ट्रेन्डमा युवामाझ डेनिम जिन्सको क्रेज दिन प्रतिदिन बढ्दो रहेको छ । जिन्समा ब्लु कलर सदाबहार चल्ने कलर भए पनि हाल आएर ब्ल्याक डेनिम जिन्सको माग पनि उत्तिकै छ । डेनिम जिन्समा स्काई ब्लु, डार्क ब्लु, ब्राउन, रेड सबै रङमा पाइने भए पनि अहिले सबैभन्दा बढी चलेको ब्ल्याक डेनिम नै हो । डेनिम जिन्स अझ स्ट्रेचेबल डिजाइनमा पनि पाइने भएकाले यसको लोकप्रियता दिन प्रतिदिन बढिरहेको छ । कतिसम्म भने पश्चिमी मुलुकहरुमा हरेक सेलेब्रेटीको पहिलो छनोट नै जिन्स हुने गर्छ । हामीकहाँ पनि जिन्सको प्रयोगकर्ताको कमी छैन । अचेल बजारमा हरेक रङ र आकर्षक डिजाइनमा जिन्सहरु सहज रुपमा उपलब्ध छन् । जिन्सलाई विशेष गरी क्याजुअल र सेमी क्याजुअलका रुपमा बढी प्रयोग गरिन्छ ।

ग्रन्च जिन्स
अहिले सबैभन्दा टिनएजहरुमा क्रेज रहेको ग्रन्च जिन्स हो । अगाडि फाटेको, घुँडामा फाटेको र पकेटमा फाटिएको नेभी ब्लु, स्काई ब्लु र ब्ल्याक जिन्सको फेसनबाट अहिलेका किशोरकिशोरी कोही अछुतो छैनन् । यस किसिमका जिन्स शितल हुनुका साथै फेशनेबल पनि देखिनाले यस प्रतिको आकर्षण बढेको हो । यस्तै भनेजस्तै कलर र डिजाइनमा हाफ पेन्ट, क्वार्टर पेन्ट र पेन्ट सहज रुपमा पाइने हुनाले पनि ग्रन्च जिन्सको क्रेज बढ्दो छ ।

 प्रस्तुति : जयन सुब्बा मानन्धर

Leave A Comment