भरतपुरका मतदाता भन्छन्, विकास त होला तर न्याय के होला ?

मङ्गलबार, ३१ साउन २०७४, १० : १९ शुक्रवार , Kathmandu
भरतपुरका मतदाता भन्छन्, विकास त होला तर न्याय के होला ?

रमेशकुमार पौडेल
स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका जति चर्चा सायदै अन्य ठाउँले पायो । यो चर्चा  मत्थर हुँदै जाला तर लामो समयसम्म सम्झनामा पक्कै रहने छ । खास गरेर निर्वाचनमा हुने धाँधलीको विषय उठ्दा भरतपुरको उदाहरण अगाडि आउने नै छ । मतगणना भइरहँदा भरतपुर महानगरपालिकाको वडा नं. १९ को मतमत्र च्यातिएपछि दोहर्याएर मतदान भयो । यस मतदानले माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहाललाई फाइदा भयो । मेयर उनैले जितिन् । उनका प्रतिद्वन्द्वि देवीप्रसाद ज्ञवालीले जित्दाजित्दैको चुनाव हारे ।
रेणुलाई नेपाली कांग्रेसको समर्थन थियो । मतपत्र च्यातेको दुई महिनापछि चुनाव भयो । पहिला कांग्रेस समर्थक मतादताले दहाललाई मत दिएका थिएनन् । दुई महिनापछि चुनाव हुँदा माओवादी र कांग्रेसका नेताले मतदातालाई मनाउने पर्याप्त आधार पाए । दोहोर्याएर मतदान गरे आफूलाई फाइदा हुन्छ भन्ने थाहा पाएर नै माओवादीले योजनाबद्ध रुपमा मतपत्र च्यातेको एमालेले सुरुदेखि नै आरोप लगाउँदै आएको थियो । परिणामले यही कुरा पुष्टि पनि गर्यो । कुल २९ वटा वडा रहेका भरतपुरमा एक लाख ५० हजार मतदाता छन् । जिल्लाको आधा मतदाता र जनसंख्या यहीँ बसोबास गर्छन् । भरतपुरको समग्र निर्वाचनप्रति यहाँका युवा मतदाताको बुझाइ कस्तो छ त ?
१) विमोचन पौडेल, विद्यार्थी
मेरो घर भरतपुर वडा नं. १० मा पर्छ तर म वडा नं. १९ सँग जोडिएको रामपुर क्याम्पसमा पशु विज्ञान विषयमा स्नातक तहमा पढ्छु । २० वर्षपछि स्थानीय तहको चुनाव हुने भएपछि म खुसी थिएँ । वैशाख १० गतेदेखि हाम्रो क्याम्पस पनि बिदा भयो । ११ गतेदेखि नै चुनावी कार्यक्रममा सरिक भएँ । मतदान भयो । गणना सुरु भयो । गणना सुरु भएपछि पनि दिनहुँ अबेलासम्मै गणना स्थलममै मतपरिणाम कुरेर बसेँ । मलाई एक दम चासो किन थियो भन्दा मैले स्थानीय तह निर्वाचनमा पहिलो पटक मतदान गरेको थिएँ ।
 जेठ १४ गते रातिसम्म म त्यहीँ थिए । म आएको एकाध घण्टापछि मतपत्र च्यात्ने घटना भएछ । यो सुन्दा निकै दुःख लाग्यो । म मात्रै होइन, यस्तो घटना भएपछि को दुःखी नहोला । तर आज मत परिणाम जो च्यात्ने हो, उसैको पक्षमा आएको छ । यसले पनि म दुःखी छु । मतपत्र च्यातेको घटनापछि माओवादी र कांग्रेस वडा नं. १९ मा निकै सक्रिय भए । एमालेले त्यो तहको सक्रियता देखाउन नसक्दा जनता अलमलमा परे । नभए दुनियाँ सबैले गलत भनेको काम गर्ने नै किन विजयी हुन्थे र ?
लामो समयको अन्योलपछि भरतपुरले मेयर–उपमेयर पाएको छ । केहीले विकास हुने हो भन्न थालेका छन् । विकास त जुन मान्छे मेयरमा आए पनि गर्नै पथ्र्यो तर यो चुनावमा जे जस्तो हथकण्डा अपनाइयो, त्यसले देवी ज्ञवालीलाई अन्याय नै भयो । पदका लागि यस्तो हथकण्डा अपनाउने कार्यले फेरि पनि न्यायपूर्ण काम नै गर्छन् भनेर कसरी पत्याउने ?
२) करिश्मा ढकाल, नारायणगढ
भरतपुरमा मतपत्र च्यात्ने काम राम्रो थिएन । यसले साह्रै बेइज्जत गरायो तर मतपत्र च्यातिएपछि अगाडि कसरी बढ्ने भन्ने थियो । अदालतले समेत फेरि चुनाव गर् भन्यो । सबै चुनावमा गए, यो राम्रो भयो । मलाई पनि के लाग्छ भने पहिला जे जसरी मत आइरहेको थियो, मतपत्र नच्यातेको भए देवी ज्ञवालीले नै चुनाव जित्ने रहेछन् । फेरि मतदान गराउँदा उनले हारे, उनलाई त अन्याय भयो ।
अर्कोतर्फ, चुनावले महिलालाई भरतपुरजस्तो महत्वपूर्ण महानगरपालिकाको मेयरमा विजयी गराएको छ । यसलाई पनि सकारात्मक रुपमा लिनुपर्छ । महिला सशक्तीकरणमा यसले पक्कै टेवा दिएको छ । अब पुराना कुरा बिर्सेर अगाडि नबढी हुँदैन । भरतपुर राम्रो होस् । युवाले पढ्न र रोजगारका लागि पनि भरतपुर छाडेर बाहिर जान नपरोस् । सहर सुन्दर होस् । केही नराम्रो सुन्न नपरोस् । मेयरले अब पनि राम्रो काम नगरे भरतपुर धेरै पछाडि पर्ने खतरा छ ।
३) जोन कँडेल, भरतपुर–४
२० वर्षपछि स्थानीय तहको चुनाव हुने भएपछि खुसी लागेको थियो तर भरतपुर सम्झँदा दुःख लाग्छ । भरतपुरको चुनावमा मत पत्र च्यात्ने दुःखद् काम भयो । यस्तो नचाहिँदो काम अब अन्यत्र नहोस् भनेर कामना गर्छ । नहोस् भनेर सबैले चासो र सावधानी पनि अपनाउनु पर्छ किनभने यस्तो हुन थाल्यो भने राजनीतिप्रति नै वितृष्णा जाग्छ । भरतपुरमा यस्तो भएको देखेपछि मलाई राजनीतिमा केसम्म बेइमानी हुँदोरहेछ भनेर मनमा कुरा खेलिरहन्छ । त्यसैले यो साह्रै घृणित काम भयो ।
फेरि पनि सबै सहभागी भएर मतदान गरे । चुनावी परिणाम हेर्दा देवीलाई अन्याय भयो भनेर सबैले भन्छन् । यो हो पनि तर उहाँ न्याय माग्ने सबै ठाउँमा पुग्नु भएकै हो । जुन निर्णय आयो, अब स्वीकार गर्नुपर्छ । पुराना कुरामा अल्झेर होइन, नयाँ कदम चाल्नु भयो भने उहाँ राम्रो नेताका रुपमा स्थापित हुनुहुनेछ । मलाई लाग्छ, उहाँले यसै गर्नु हुने पनि छ । राजनीति गर्ने मान्छेले एउटा घटनाले हार मान्नु हुँदैन ।
जे जस्तो भए पनि भरतपुरले मेयर–उपमेयर पायो । दुवैजना महिला हुनुहुन्छ । उहाँहरुले सपथ खाएर पदभार ग्रहण गरेलगत्तै महिलालाई सरकारी अस्पतालमा ओपिडी टिकटमा निःशुल्क गर्ने निर्णय गर्नुभएको छ । यस्ता जनमुखी कार्यक्रम र पूर्वाधार विकासमा राम्रा योजना ल्याएर जनताको सेवा गर्ने अवसर गुमाउनु हुन्न भन्ने आशा हामीले गरेका छौं । भरतपुरका मेयर–उपमेयरले राम्रो काम गरेको देख्न पाइयोस् ।
४) दीक्षा रिमाल, भरतपुर–१२ । हिंसापिडित महिला अधिकारकर्मी
मैले पहिलो पटक स्थानीय तह निर्वाचनमा मतदान गरेकी हुँ । मत माग्न धेरै आए । घरदैलोमा धेरै उम्मेद्वार आउँदा रमाइलो पनि लाग्ने । ओहो, यति धेरै मान्छे उठ्नु भएको रहेछ भन्ने लाग्यो । मान्छे धेरै भएपछि रोजेर मत हाल्न पाइन्थ्यो । को राम्रा हुन्, को उपयुक्त हुन् भन्ने बुझ्न थालेँ । पार्टी नहेरी जो राम्रा छन् भन्ने लाग्यो मैले उहाँहरुलाई नै मतदान पनि गरेँ ।
चितवन धेरै हिसावले चर्चा र चासो जोडिएको जिल्ला हो । यही जिल्लामा मत पत्र च्यात्ने जस्तो साह्रो नराम्रो काम भयो । पछिल्लो समय त चितवन र त्यसमा पनि भरतपुरमा घर हो भन्दा लाजमर्दो अवस्था आउन थालेको थियो । यो साह्रो दुःखद् भयो तर फेरि मतदान भएर प्रतिनिधि चुन्ने काम भयो । सबै चुनावमा सरिक भए, यो सुखद नै हो ।
मेयर–उपमेयरमा महिला आउनु भएको छ । महानगरको पहिलो महिला मेयर चुनेको जश पनि चितवनले पाएको छ । यो राम्रो भएको छ । महिला मेयर उपमेयर छन्, उनीहरु नामका लागि मात्रै हुन् । काम सबै पुरुषले नै गर्छन् भन्ने कुरा काटेको मैले नै सुनेको छु । त्यो चिर्न आवश्यक छ । उहाँहरुले कुरा सबैको सुन्नु पर्छ । सबैको अवस्था आफैँले हेर्नुपर्छ र निर्णय पनि आफैँले गर्नुपर्छ । यो गर्न उहाँहरु सक्षम हुनुहुन्छ । गर्न सक्नुहुन्छ भन्ने आशा र विश्वास छ ।
भरतपुरको काम कुराले देशैभर प्रभाव पर्छ । त्यसैले महिला मेयर–उपमेयरका लागि राम्रो अवसर सिर्जना भएको छ । मलाई आशा छ, उहाँहरुले भरतपुरलाई त राम्रो बनाउनुहुन्छ नै आसपासका अन्य नगरपालिकालाई पनि सुन्दर बनाउने अभियान पूरा गर्नु हुनेछ । उहाँहरुको काँधमा विकास मात्रै होइन, महिला सक्षम छन् भन्ने कुरा प्रमाणित गर्ने दायित्व पनि आएको छ ।
५) ज्ञानु आचार्य पौडेल, भरतपुर –१५
स्थानीय चुनावमा पहिलो पटक मतदान गर्दैगर्दा मैले मेयर उपमेयर पदमा भरतपुरका लागि चाहिने सबै दृष्टिले उपयुक्त भएका उम्मेद्वारलाई चुन्ने योजना बनाएकी थिएँ तर त्यस्तो उम्मेद्वार उठेझैँ लागेको थिएन । जो भए पनि एक जनालाई मत दिने हो, दिएँ तर गणना नसकिँदै मत पत्र च्यात्ने काम भयो । त्यो त राजनैतिक अपराधको पराकाष्टा नै हो ।
हुन त भरतपुरमा सुरुदेखि नै अचम्म अचम्म हुँदै आएको थियो । मेयर जित्ने कांग्रेसले नै उम्मेद्वारी फिर्ता लिएको थियो । दुई वटा पार्टी मिलेर एमालेका देवी ज्ञवालीविरुद्ध प्रतिस्पर्धा गरे । मतपत्र नै च्याते । परिणाम जो जसका पक्ष गए पनि राजनैतिक र नैतिक रुपमा भरतपुरमा देवी ज्ञवालीको जित भएको छ तर एउटा प्रक्रिया पूरा भयो, अब योभन्दा अगाडि जानु पर्छ ।
सबैको सरोकार विकास हो । रेणुलाई असफल बनाउँछु भन्दा भरतपुर पछाडि पर्छ । नगरपालिका, उपमहानगरपालिका हुँदै भर्खर महानगरपालिका भएको भरतपुरमा विकासका धेरै काम गर्न बाँकी नै छ । यस्तो बेलामा राजनैतिक झगडा नभए विकासले फड्को मार्ने हो । त्यसैले अब सबै दल र नागरिक मिलेर भरतपुरलाई राम्रो बनाउनतिर लागौँ ।

 

Leave A Comment