फेसबुकमा टेस्टोनीको हंगामा

सोमबार, ३० साउन २०७४, ०२ : ५९ शुक्रवार
फेसबुकमा टेस्टोनीको हंगामा

अघिल्लो साता फेसबुकमा एउटा एप भाइरल बन्यो । टेस्टोनी नामक एपले नेपालका फेसबुक प्रयोगकर्ताको ध्यान तानिरह्यो । थर्ड पार्टी यो एपले विभिन्न भविष्यवाणी गरेर नेपालीहरुलाई रमाइलो गराइरह्यो । रमाइलो गर्न पाएपछि नेपालीहरुलाई के चाहियो ? त्यही टेस्टोनी एपको भविष्यवाणीमा रमाइरहे तर पछिल्लो समय भने यसको प्रयोग घट्दै गएको छ । 
यसले ‘तपाईंको बिहे कोसँग हुन्छ ? तपाईं भविष्यमा के बन्नुहुन्छ ? तपाईँको मृत्यु कहिले हुन्छ ? तँ के कुरा सोच्दैछस् ? तँ किन जन्मिस् ? तेरो भाग्यमा के लेख्या छ ?’ लगायतका प्रश्नहरुको भविष्यवाणी यस एपले गर्छ । यी यावत् प्रश्नको उत्तर भने जे पनि हुने गथ्र्यो । नेपाली प्रयोगकर्ताले यस एपलाई गम्भीरतापूर्वक प्रयोग गर्ने भन्दा पनि रमाइलोका निम्ति भरपुर प्रयोग गरे । 
के हो टेस्टोनी एप ? 
फेसबुकमा प्रयोग हुने एउटा थर्ड पार्टी एप हो । यस एपलाई जर्मनको आइटी कम्पनी सोसियल स्वीटहर्टस्ले प्राविधिक सहयोग गर्नुका साथै होस्टिङ पनि गरेको छ । टेस्टोनीले आफ्नो वेबपोर्टलमुनि यसबारे जानकारी दिँदै यो केवल रमाइलो प्रायोजनका निम्ति भएको स्पष्ट पारेको छ । ‘यस साइटका सबै सामग्री प्रयोगकर्ताद्वारा सिर्जना गरिएका हुन् र यी सबै मनोरञ्जनका उद्देश्यले राखिएका हुन् । हामी तपाईँलाई यो एप त्यतिबेला मात्र प्रयोग गर्न अनुरोध गर्छौँ यदि अन्य प्रयोगकर्तालाई असर पर्दैन भने हाम्रो एपबाट रमाइलो लिनुस् ।’

४७ भाषामा भविष्यवाणी    
टेस्टोनी एपले नेपाली मात्र होइन, अन्य ४७ भाषामा भविष्यवाणी गर्छ । अर्थात् ४७ भाषी प्रयोगकर्ताहरु टेस्टोनीबाट मनोरञ्जन लिन सक्छन् । नेपालीबाहेक पनि अंग्रेजी, हिन्दी, जापानी, कोरियाली, उर्दु, बाङ्ला लगायतका भाषामा टेस्टोनी गर्न सकिन्छ । 

टेस्टोनी एपको खतरा ? 
टेस्टोनी एप भाइरल बनेसँगै अर्को कुरा पनि भाइरल बन्यो । टेस्टोनीले फेसबुकमार्फत गोप्य सूचना बटुलिरहेको छ, यसले फेसबुकको पासवर्ड चोर्छ आदिइत्यादि । वास्तवमा त्यसो होइन । यसले तपाईँको प्रोफाइल र इमेलचाहिँ संकलन गरेर राख्छ । पछि तपाईँलाई स्पाम मेल आउने सम्भावना भने हुन्छ । त्यस सम्भावनाबाट जोगिन सकेसम्म यस्ता वाहियात एप प्रयोग नगर्नु नै राम्रो हो ।
टेस्टोनी एपको नियत ? 
यी र यस्ता एपहरु मूलतः पैसा कमाउनकै लागि बनाइएका हुन्छन् । यो एप नेपालीमात्र नभएर अन्य ४७ स्थानीय भाषामा छन् । टेस्टोनी एप खोलेसँगै त्यहाँ हामीले गुगलको एड पनि हेर्न सक्छौँ । त्यही एडमार्फत टेस्टोनीले आर्थिक आर्जन गरेको हुन्छ । 
दिक्क लाग्यो ? यसरी हटाउनुस् टेस्टोनी 
यसबाट बच्ने दुई तरिका छन् । पहिलो, यस एपबाट आफ्नो टाइमलाइनमा कुनै पनि पोस्ट नदेखिने बनाउने र यसलाई दिएको अनुमति अर्थात एप नै हटाइदिने ।
तपाईँले यो एप प्रयोग गर्नुभएको छैन र तपाईँ अरुले यसको पोस्ट गरेको देखेर दिक्क हुनु भएको छ भने तपाईँलाई पहिलो विकल्प उत्तम हुन्छ । 
पहिलो विकल्प रोज्न टाइमलाइनमा देखिने पोस्टको दाहिनेपट्टि भएको बटनमा क्लिक गरी हाइड अल टेस्टोनी एप गर्न सकिन्छ ।  यसो गर्दा तपाईँले अरुले गरेको पोस्ट मात्र देख्नु हुन्न तर तपाईँले त्यस एपलाई दिएको अनुमति यो एपसँग अझै कायम हुन्छ । 
त्यसलाई दिएको अनुमति हटाउन भने फेसबुकको सेटिङमा जाने । त्यसपछि देब्रेपट्टि रहेको विकल्पको सूचीबाट एपमा क्लिक गर्ने ।  त्यसपछि टेस्टोनी एप खोजेर रिमुभ गर्न सकिन्छ । 
 

Leave A Comment