विशालको मोडलिङ मोह

सोमबार, ३० साउन २०७४, ०२ : ५५ शुक्रवार
विशालको मोडलिङ मोह

पर्वत दुर्लुङका विशाल गुरुङलाई विभिन्न विज्ञापनमा मोडलहरू देखेपछि आफूलाई पनि त्यस्तै बन्ने रहर जाग्यो । मोडलिङमै भविष्य बनाउने सपना संगालेर उनले सन् २००४ मा मिस्टर टिन पोखरामा भाग लिए । ख्यालख्यालमै उनी टाइटल विजेता बने । जतिबेला उनका ओठमा भर्खर जुँगाका रेखी बस्दै थिए । त्यसपछि उनलाई मोडलिङको रहर यसरी बढ्यो कि यसमै भविष्य बनाउने योजना बनाए । मोडल बन्न जति रहर पालेका थिए, पुरुषलाई यस क्षेत्रमा जम्न त्योभन्दा कयौं गुणा गाह्रो भएको थाह पाए उनले । 
तैपनि संघर्ष गर्न छाडेनन् । संघर्ष गर्न त उनले ६ वर्षको हुँदै सिके, कारण थियो आमाले छाडेर जानु । आमा पोइल गएपछि उनले बडो दुःखका दिन काटे । दुई वर्षपछि जब बाबाले बिहे गरेर कान्छी ल्याए । उनको पालनपोषणमा कान्छी आमाले कुनै कसर बाँकी राखिनन् । उनको पढाइ पोखराकै ज्योतिकुञ्जमा पढे । जब कक्षा १२ को परीक्षा दिएर खाली भए अनि सानोमै साँचेको सपना पूरा गर्नतिर लागे । मिस्टर टिन २००४ मा भाग लिएपछि पहिलो पटक नै सफलता हात लाग्यो । यस कार्यक्रमले निरन्तरता पाएन । ‘यो इभेन्ट राम्रो थियो तर आयोजकले छाडेपछि मैले नै सन् २०१० मा मिस्टर टिन कार्यक्रम गरेँ । घाटामा गयो,’ मोडलिङ रहरको रहस्य खोल्दै विशालले भने, ‘तैपनि मैले हिम्मत हारिनँ । सन् २०१३ मा आएर पुनः मिसेज पोखरा गरेँ ।’  उनलाई यसले धेरै राहत दियो । त्यसपछि इभेन्टस् फर यु नामक प्रालि नै दर्ता गरेर उनले विभिन्न नामका ब्युटी प्याजेन्ट गर्दै आएका छन् । त्यसपछि उनले आफ्नो रहर पूरा गर्न म्युजिक भिडियोमा अभिनय गर्न थाले । विभिन्न म्युजिक भिडियो खेले पनि उनले पोखराको बिग एफएमको विज्ञापनमा चर्चित भलिबल खेलाडी सिपोरा गुरुङसँग अभिनय गरेपछि उनी लाइमलाइटमा आए । त्यसपछि म्युजिक भिडियोको संसारमा छिर्न ढोका खुल्यो । त्यसपछि थोरै मेसो पाएका उनले अहिलेसम्म ६ वटा गीत र थुप्रै विज्ञापनमा मोडलिङ गरिसके । पछिल्लो सयम कुमार पुन र बिमाकुमारी दुराले गाएको गीत ‘बस माया...’ मा अभिनय गरेका छन् । जुन गीत अहिले चर्चामा छ । 
उनी अब व्यावसायिक रुपमा मोडलिङमै जम्ने योजनामा छन् । मिहिनेत गरे यस क्षेत्रमा नाम र दाम दुवै हुने उनको अनुभव छ । मोडलिङ गर्न उनको शरीरले पनि साथ दिएको छ । पाँच फिट ७ इन्च अग्ला उनी पातलो र ह्यान्डसम छन् । पोखरामै बसेर मोडलिङमै करिअर बनाउन तल्लिन उनी भन्छन्, ‘मैले मोडलिङमै भविष्य देखेर यो क्षेत्र रोजेको हुँ ।’ उनको विचारमा युवतीको तुलनामा युवकलाई मोडलिङमा जम्न अलि मुस्किल हुने गरेको छ । मोडलिङसँगै अभिनयमा रुचि राख्ने विशालले फिल्ममा समेत अभिनय गर्ने योजनामा छन् । मिसेज पोखरा, मिस पोखरा जुनियर, मिस एसइई पोखरा, मिस्टर एन्ड मिस टिन लिटिल धौलागिरी गरिसकेका उनले केही समयमै मिस्टर एन्ड मिस पोखरा मेट्रोसिटी गर्ने तयारीमा छन् । ‘यो सबै मेरै रहर पूरा गर्ने अवसर हुन्,’ माउन्ट एबोर मन्टेस्वरी चलाएर शिक्षणमा समेत लागेका उनी भन्छन्, ‘कुनै न कुनै रुपमा मेरो मोडलिङ रहरलाई पूरा गर्न म लागिरहेको छु ।’

Leave A Comment