‘कुकुर र बिराला मेरा साथी’

सोमबार, ३० साउन २०७४, १२ : २७ शुक्रवार , Kathmandu
‘कुकुर र बिराला मेरा साथी’

आलिया भट्ट पछिल्लो समयकी प्रतिभाशाली अभिनेत्री हुन् । आलिया फुर्सदको समयमा सो बिजभन्दा पनि परिवारसँग बिताउन चाहन्छिन् । घरका कुकुर–बिराला पनि उनका प्रिय साथी हुन् । उनीसँग एक भारतीय मिडियाले गरेको रमाइलो कुराकानी :
सोसल मिडियाका कारण स्टारहरुको चमकमा कमी आएको कुरामा तपाईं कत्तिको सजग हुनुहुन्छ ?
म यसलाई फरक तरिकाले हेर्छु । यदि तपाईं मुम्बईमा बस्नुहुन्छ र छुट्टिका लागि आइसल्यान्डमा पुग्नुभयो भने तपाईंले मुम्बईमा लगाउने पोसाक लगाउन सक्नुहुन्न । तपाईंले आइसल्यान्डको मौसम अनुसारको पोसाक लगाउनु अनिवार्य हुन्छ । सामाजिक सञ्जाल पनि तत्कालिन मौसम हो, जहाँ तपाईं अभ्यस्त हुन अपरिहार्य छ ।
अहिले तपाईं जुन स्थानमा हुनुहुन्छ नि, त्यहाँ आइपुग्न कत्तिको गाह्रो छ ?
यो जहीँतहीँ लागू हुने संघर्षको आवश्यकता हो । मैले मेरो जीवनको सुरुवाती समयदेखि नै यसलाई मनन गर्दै आएकी छु । म जीवनमा केही कुरा पनि आफैसँग होस् भन्ने चाहन्नँ र अहिले म भएको स्थान पनि हुनै पर्छ भनेर सोचेर गरेकी थिइनँ । यो सधैँ रहिरहन्छ भन्ने हुँदैन । भविष्यमा मभन्दा प्रतिभाशाली व्यक्तिले मलाई विस्थापित गर्न सक्छ । तपाईंलाई जे कुरामा मन छ, त्यो कुरा मनमै दबाएर नराख्नुस् । त्यसलाई पछ्याउँदै जानुहोस् । जीवनमा अगाडि बढ्न धेरै कुराहरु योजनाबद्ध तरिकाले अगाडि बढाउनुपर्छ । तर कुनै कुरामा धेरै विचार राख्नुभयो भने त्यो निरस बन्न सक्छ भन्ने कुरा पनि ख्याल गर्नु जरुरी छ ।
तपाईंले आफूले गर्ने भूमिका कसरी छान्नुहुन्छ ?
यो शुद्ध स्वभाविक प्रक्रिया हो । म निकै मुडी मान्छे हुँ । यदि म बिहान उठेर रमाउने मन भयो भने म आफूलाई रमाइला लाग्ने क्रियाकलाप गर्छु । मलाई यदि गम्भीर बन्ने मन भयो भने म त्यसैअनुसार आफूलाई ढाल्छु । तर म जे कुरामा पनि धेरै मन डुलाएर बस्न सक्दिनँ ।
बलिउडमा ३५ प्लस महिलाहरुको प्राथमिकतामा फिल्म उद्योग पर्दैन, तपाईंको धारणा के छ ?
मलाई लाग्छ, अहिले त्यो समय र मानसिकतामा परिवर्तन आएको छ । उमेर त अंक मात्र हो । यथावत् रहने त मानिसको कला र सीप नै हो । राम्रा अभिनेता सधैँ राम्रा काम गर्न उद्धत हुन्छन् । हामीसँग उमेर अनुसारका धेरै स्कोप र स्पेस पनि छ । उमेर अनुसारको पात्र चयन गरेमा जत्ति पनि पाइन्छ । श्रीदेवीलाई नै हेर्नुस् न, उनले यो उमेरमा पनि चुनिएका फिल्म गर्छिन् । यत्ति हुँदाहुँदै पनि उनी सबैको प्रिय कलाकार भएर मनमा बस्न सफल छिन् ।
कलाकारहरु सधैँ प्रशंसक र दर्शकहरुको नजरमा हुन्छन् । तपाईं कुनै दिन आफूलाई निरस र असफल पाएको अवस्थामा र कुनै भूमिका पनि गर्दै हुनुहुन्छ भने के गर्नुहुन्छ ?
म निकै पारदर्शी मान्छे हुँ । मेरा अगाडि क्यामेरा तेर्सिएको अवस्थामा मात्र अभिनय गर्छु । क्यामेरा बन्द भएपछि  म मेरो आफ्नो निजत्वमा फर्कन्छु । म मेरो रिस कसैमा कहिल्यै पोख्न चाहन्नँ । जब म आफूलाई निरस पाउँछु म मेरा कुराहरु मेरो टिम र मेरो निकटका मानिसहरुलाई सेयर गर्छु । उनीहरु पनि मेरो परिवारजस्तै हुन् । भावनाहरु साट्दा उनीहरुबाट हौसला मिल्छ र जब म सेटमा हुन्छ, त्यस बेला म कदापि उदास हुँदिनँ ।
फिल्मी क्षेत्रका तपाईंका बुबा महेश भट्ट र दिदी पूजा भट्टको आफ्नै फ्यान फलोइङ छ । यस्तोमा घरको कस्तो वातावरण हुन्छ ?
म स्वतन्त्र र खुला हुनुमा मेरो परिवारकै ठूलो हात छ । मेरो परिवार पनि स्वतन्त्रता रुचाउँछ । यसो हुँदा मेरो संसारलाई हेर्ने दृष्टिकोण पनि फरक छ । परिवारकै कारण मेरो विचारमा फैलावट आएको छ । मेरो जीवनमा पनि । मेरो बुबा र दिदीको संसारलाई हेर्ने आफ्नै दृष्टिकोण छ ।
तपाईंलाई सरसल्लाह चाहिँदा कसलाई रोज्नुहुन्छ ?
आयन मुखर्जी र अभिषेक वर्मन मेरा सबैभन्दा मिल्ने साथी हुन् । उनीहरुले मेरो पाइला पाइलामा गाइड गर्छन् र अर्को मान्छे करण जोहर हुन्, जसलाई म विश्वास गर्छु । उनले मेरो भावना र रुचि बुझ्छन् । उनले दिने सल्लाह पनि सधैँ सन्तुलित हुन्छ ।
तपाईंलाई घरको याद आउँदा के कुरा दिमागमा आउँछ ?
म मेरो बेड, मेरो बिरालो अनि दिदीलाई सम्झन्छु ।
तपाईंको बिरालो शिवबारे केही बताइदिनु न ?
शिवलाई मेरो दिदीले भेट्टाएकी हुन् । शिव हाम्रो समीप आउँदा खुसी भएपछि घरबारविहीन उसलाई हामी दिदी बहिनीले नै आफैसँग राख्ने निर्णय गरेका हौं । अहिले हाम्रो घरमा एडप्ट गरेका ३ बिराला र ३ कुकुर छन् ।
पाल्तु पशुहरुसँग तपाईंको सम्बन्ध कस्तो छ ?
मेरा पाल्तु जनावर मेरालागि संसारै हुन् । उनीहरुसँग समय बिताउनु भनेको मेरो परिवारसँग बिताएजस्तो लाग्छ । लामो यात्रापछि घरमा आउँदा उनीहरुसँग हासखेल गर्दा छुट्टै आनन्द आउँछ । मेरो बिरालो एडवार्ड मसँगै सुत्छ । बिराला साँच्चिकै ममतामयी हुन्छन् । बिरालाको घुर्र र म्याउँ म्याउँ मलाई मन पर्छ । उनीहरु काखमा बस्न रुचाउँछन् । म बिरालासँग लामो कुराकानी गर्न सक्छु । मेरा कुकुर र बिराला नै मेरा थेरापिस्ट हुन् ।
तपाईं अचेल दिदी सहिनसँग साह्रै मिल्नुहुन्छ, यसबारे अलिकति बताइदिनुस् न ?
हामीसँग राम्रो घर छ । यसो हुँदा हामी सधैँ आफूलाई भाग्यमानी र खुसी ठान्छौँ । घरमा दिनहुँ पार्टी चलेजस्तो वातावरण हुन्छ । हामी आफूलाई जिम्मेवार र आरमदायी व्यक्ति ठान्छौँ । घरमा हुँदा आरामसँग बसेर चिया खान, च्याट गर्न र टिभी सो, फिल्म हेर्न मज्जा लाग्छ ।
स्वतन्त्र जीवनयापन कत्तिको सजिलो वा गाह्रो छ त ?
हो, स्वतन्त्र जीवनयापनले नै हामीलाई परिपक्व बनाउँछ । मेरा बैंकिङ क्रियाकलापहरु आजसम्म मेरी आमाले  सम्हालिदिनु भएको छ । घरका सानातिना कुराहरुको ख्याल भने म आफैँ गर्छु । यसो गर्न पाउँदा साँच्चिकै गर्व लाग्छ । घरका ससाना काम गर्दा पनि थेरापीले दिने आनन्द दिन्छ ।

 

Leave A Comment