केराले धानेको जीवन

सोमबार, ३० साउन २०७४, १२ : २० अमर खड्का , Kathmandu
केराले धानेको जीवन

इटहरी वडा नं. ४ की पूर्णिमा चौधरीको उमेर ७५ पुग्यो । उनी आफैँमा स्वयं इतिहास बनिसकिन् । उनले सडकमै केरा व्यापार गरेको पनि २० वर्ष नाघिसक्यो । छोराछोरी सानैछँदा लोग्ने बिते । लोग्ने बितेको २५ वर्ष बितिसक्यो । लोग्नेको निधनपछि छोराछोरी पाल्ने जिम्मेवारी उनको काँधमा आयो । विवाह गरेर उनलाई सुनसरीकै चाँदबेला दिइएको थियो । घरमा न सासुससुरा, न त लोग्ने । साहरा दिने कोही नभएपछि उनी माइतीघर इटहरीमै फर्किन् ।
माइतीघर फर्किएपछि के गरौँ, कसो गरौँ भयो । उनले गरिखाने अनेक उपाय सोचिन् । सुरुवातमा उनले पाँच रुपैयाँ मन (४० केजी) धान किनेर चिउरा कुटाई गाउँ–गाउँ बिक्री गर्दै हिँडिन् । चिउरा बिक्री गर्न इटहरीबाट १८ किलोमिटर दुरीमा पर्ने धरानसम्म पैदल हिँडेरै आउजाउ गर्थिन् । चार छोरी र दुई जना छोरा पाल्न उनलाई ज्यादै सकस थियो ।
‘मजस्तो दुःख गर्ने त एकदमै कम हुन्छन्,’ उनले आफ्नो संघर्षमा गर्व गर्दै भनिन्, ‘छोराछोरी पढाउन चिउरा बिक्री गर्न गाउँगाउँ जान्थेँ, त्यसबाट भएको आम्दानीले सन्तान पाल्ने, तिनलाई पढाउने गरेँ । पछि चिउरा झन्झटिलो भएपछि केरा बिक्री गर्न थालेँ ।’ केरा बिक्री गर्ने क्रममा सुरुवातमा इटहरी बजारको चौरास्ता चोकनजिकै बस्थिन् । उनलाई हेक्का भएरअनुसार सुरुवातमा इटहरी बजार क्षेत्रमा आठ–दस घर मात्र थिए । ‘मैले इटहरी देख्दा केही पनि थिएन । न त पूर्व–पश्चिम सडक थियो, न त धरानसम्म जाने राम्रो सडक नै थियो,’ उनले विगत सम्झँदै भनिन्, ‘अहिले त इटहरी हेर्दाहेर्दै आकाश–जमिनको फरक भइसक्यो । पहिला पहिला इटहरीमा चौधरीहरुको जग्गा जमीन बढी थियो । अहिले चौधरीहरुले जग्गा बेचेर खाइसके ।’
उनले इटहरीको चौरास्ता चोक छेउमा ५–६ वर्ष केरा बिक्री गरिन् । चौरास्ता चोक छेउमा बस्ने व्यवस्थित ठाउँ नहुँदा र त्यसपछि विराटनगर रोडको राधाकृष्ण मन्दिरअगाडि सरिन् । त्यहाँ उनीसँगै अरु पनि थुप्रैले त्यस्तो व्यापार थाले । प्रतिस्पर्धा हुँदा ग्राहक उनकोमा कमै जान थाले । पूर्णिमाले ग्राहकको जमघट हुने र आनन्द खालको ठाउँ खोजी गर्न थालिन् । अहिले भने उनले इटहरी प्रहरी कार्यालय अगाडि हटिया प्रवेश मार्गमा सानो खाट राखेर केरा बिक्री गर्दै आएकी छन् ।
सुरुवातमा केरा बिक्री गर्दा उनले पाँच रुपैयाँ दर्जन बिक्री गर्थिन् । बिस्तारै मूल्य बढ्दै गयो । यतिबेला जाहजी केरा दर्जनको ७० र मालबोकको मूल्य दर्जनको ८० पुगेको छ ।
केरा बिक्री गरेकै आम्दानीले छोराछोरीको विवाह गरिन् भने इटहरी वडा नं. ४ मा जग्गा जोडिन् । तीन कोठाको पक्की घर पनि बनाइन् । उनका जेठो छोराको फागुन ६ गते सुगर रोगले च्यापेपछि मृत्यु हुन पुग्यो । अहिले कान्छो छोरा पुरणसँग बस्दै आएकी छन् । पुरणले सिटी सफारी चलाएर घर खर्च टार्छन् । पूर्णिमाले कमाएको पैसा भने आफू र नातिनातिनीका लागि खर्चिन्छन् । ‘मैले कमाएको आफैँ खर्च गर्छु, नातिनातिनालाई पनि दिन्छु,’ उनले भनिन् । उनका चार जना नातिनातिना छन् ।
उनी बेलाबेलामा बिरामी पर्ने गरेकाले गर्दा पनि पैसा खर्च भइराख्छ । ‘म पेटको बिरामी छु, त्यही भएर बढी नै खर्च हुने गर्छ,’ उनले सुनाइन् ।
उनलाई बुहारीले काममा फिटिक्कै सघाउँदैनन् । बरु केरा बिक्री गरेको ठाउँमा कहिलेकाहीँ सघाउन नातिनातिना जान्छन् । ‘बुहारीले केही चासो राख्दैनन्, घरमै बस्छन्,’ उनले गुनासो गरिन्, ‘मेरो काम हो, अनि अरुले के सहयोग गलान त ?’ सकुञ्जेलसम्म केरा बिक्री गर्ने उनको सोच छ । ‘जहिलेसम्म सक्छु, केरा बिक्री गर्छु,’ उनले भनिन्, ‘केरा बिक्री गर्न नसक्दा पनि वृद्ध भत्ता आउँछ । खासै चिन्ता छैन ।’ उनले दिनभरि त्यत्तिकै घरमा बस्नुभन्दा यसरी मिहिनेत गर्नु नै राम्रो भएको खुलाइन् ।
चाडपर्वको बेला भने उनलाई केरा बिक्री गर्न भ्याइनभ्याइ हुने गर्छ । ‘चाडपर्वको बेला पैसा पनि असाध्ये हुन्छ । अरु बेला चाहिँ ठीकठीकै हुन्छ,’ उनले भनिन् ।
उनले केरा खेती गर्ने किसानसँग सम्पर्क गरेर केरा ल्याई बिक्री गर्ने गर्छिन् । इटहरीको बूढी खोला पार गरेपछि आउने मोरङको सुन्दरहरैँचाको ठडियाका किसानसँग सम्पर्क गर्नासाथ केरा ल्याइदिनेगरेको उनी बताउँछिन् । केरा बिक्री गर्दा प्रतिदर्जन ५ देखि १० रुपैयाँसम्म कमाइ हुने गर्छ । उनका अनुसार, पहिला पहिला पैसा भेटिँदैनथ्यो, अहिले पैसाको महत्व कम हुँदैगएको छ । ‘अहिले त पाँच हजार लिएर बजार गयो भने छिनभरमै सकिन्छ,’ उनको गुनासो छ । 

Leave A Comment