‘सुटिङमा बाङ्लादेशी कलाकारको नाकमुख फुट्यो...’

सोमबार, ३० साउन २०७४, १२ : १७ अनिल यादव , Kathmandu
‘सुटिङमा बाङ्लादेशी कलाकारको नाकमुख फुट्यो...’

नेपाली साहित्य क्षेत्रमा प्रकाश आङ्देम्बे परिचित नाम हो । उनले भुटानी शरणार्थीको कथामाथि पहिलोपल्ट ‘देश खोज्दै जाँदा’ फिल्म निर्देशन गरेका छन् । फिल्म भदौ ८ गतेदेखि देशव्यापी प्रर्दशनमा आउँदै गर्दा प्रकाशसँग अनिल यादवले गरेको निर्देशन संवाद :

साहित्यकर्ममा लागिरहेको मान्छे फिल्म निर्देशनतिर किन आउनुपर्यो ?
दुई दशकभन्दा लामो समयदेखि रंगमञ्च, फोटोग्राफी, साहित्यको विधामा निरन्तर काम र अध्ययन गर्दै आइरहेको छु । यसै क्रममा नेपाली भाषी भुटानी, जो नेपालमा शरणागत अवस्थामा हुनुहन्छ र हुनुहुन्थ्यो उहाँहरुको शिविर बसाइ/भोगाइसँग नज्दिक हुने दुःखद् तर सुन्दर अवसर पाएँ । उहाँहरुको भोगाइमा सम्वेदनाको ‘फुल प्याकेज’ भेट्टायौँ । यसलाई सिर्जनाका अन्य विधाभन्दा कथानक चलचित्रमार्फत अभिव्यक्त गरियो भने बढी न्यायिक सम्प्रेषण होला भन्ने ठानेर चलचित्र विधा रोजियो ।   

‘देश खोज्दै जाँदा’मार्फत तपाई खासमा के खोज्दै हुनुहुन्छ ?
हामीलाई विचार, धर्म, धारणा, राजनीति आदिले क्रमशः संवेदनाहीन बनाउँदै लगिरहेको छ । संसारमा प्रत्येक सेकेन्ड सयौँ मानिस शरणार्थी बन्न विवश छन् । हामीले आ–आफ्नो कुण्ठा, हठ त्यागी विचारको विविध रंगसँगै संवेदनाको न्यायिक सतहलाई बुझेनौँ भने कुनै दिन हामी पनि शरणार्थी बन्नेमा दुई मत छैन । त्यसैले यस चलचित्रमार्फत म मान्छेभित्र हराएको मानवीय संवेदनालाई उजागर गर्न खोज्दैछु ।     

फिल्म सुटिङ भएको त चार वर्षअघि नै हो, रिलिज हुन किन यति ढिला ?
पहिलो कुरो, यो चलचित्रभन्दा बढी एक लाख बीस हजार नेपालीभाषी भुटानीको शिविर अवधिको साक्षी कथा हो । कसैको साक्षी कथालाई प्रस्तुत गर्दा प्राविधिक हिसाबले पनि न्याय दिनुपर्छ भन्ने मेरो मान्यता हो । तसर्थ नेपालमा वनलाइन पोस्ट प्रोडक्सनको काम गरिसकेपछि फिल्मका आर्ट डाइरेक्टर प्रल्हाद गुरुङमार्फत अमेरिकाका फिल्म स्टुडियो र फिल्म युनिभर्सिटीका ल्याबमा पुग्यौँ । सानो सानो टेक्निकल (साउन्ड, स्केच एनिमेशन, कलर) कामको फिनिसिङ टचले समय खायो । त्यसपछि भुँइचालोले पनि असर पुर्यायो ।

तपाईंको फिल्मसँगै शरणार्थीमाथि बनेको अर्को फिल्म ‘हामी शरणार्थी’ पनि रिलिज हुँदैछ । एउटै विषयवस्तुमाथि बनेको फिल्म एकैदिन रिलिज गर्न आवश्यक थियो र ?
यो एउटा संयोग मात्र बन्यो । हामीले हाम्रो चलचित्र जेठ पहिलो साता नै लगाउने तयारी थियो तर अचानक देशमा बीस वर्षपछि स्थानीय चुनाव हुने भयो । चुनावको वातावरणमा देश होमिएपछि हामीले चलचित्रको प्रदर्शन मिति सा¥यौँ । तर हामीले उही बेला मिति सार्वजनिक गरेर सारेका हौँ । प्रेसमिटपछि मात्र ‘हामी शरणार्थी’ पनि त्यही मितिमा चल्ने थाहा भयो । त्यसमा पनि हाम्रै साथीभाइ धेरैले काम गर्नुभएको छ र उहाँहरुले राम्रै काम गर्नु भएको होला । राम्रोसँग चलोस, शुभकामना भन्न चाहान्छु ।

फिल्मका लागि लामो समय अनुसन्धान गर्नुभएको भन्ने कुरा छ नि ?
हामी दमकमा बस्छौँ । दमक आसपास भुटानी शरणार्थी शिविर छन् । कला र साहित्यको सम्बन्धले गर्दा शिविर र शिविरका प्रतिभासँग ज्यादै निकट भयौँ । शिविरमा जाने, खाने, बस्ने घुलमिल हुन थाल्यौँ । त्यहाँभित्रका सुन्दर मन बोकेका जमातलाई सुन्नेबुझ्ने मौका मिल्यो । शिविरभित्रका विविध घटनाको साक्षी भइयो । अन्तर्राष्ट्रिय राजनीतिले शिविरमा पारेका असर नियाल्ने मौका पाइयो । अभावले जन्माएको प्रतिभा र अपराध बुझ्ने अवसर जु¥यो । यो कथाभन्दा बढी एउटा इतिहास थियो, अन्तर्राष्ट्रिय विषय थियो । त्यही भएर हामीले संवेदनशील, जिम्मेवार भएर काम गर्नु थियो । राम्रो काम गर्न समय त जरुर लाग्छ नै । विषयवस्तु भित्रबाट एउटा लाइन कथा छनोट गर्यौँ । कथाका लागि सिक्वेन्स र संवाद खोज्यौँ । चर्चित होइन कथा सुहाउँदो चरित्र खोज्यौँ । संवाद र पटकथाका लागि उपेन्द्र सुब्बासँग वर्षौं काम ग¥यौँ । हामीले परिकल्पना गरेको दृश्यलाई भिजुअल्ली न्याय गर्न सक्ने क्यामेरामेन खोज्यौँ । छायांकनका लागि तयारी गरेको शिविरका केही लाइन जलेर खरानी भयो । फेरि हामीले अर्को लोकेसन खोज्नु प¥यो । केही मुख्य कलाकारबाहेक चारित्रिक हिसाबले शिविरभित्रकै कलाकारले कथालाई न्याय दिन सक्छन् भनेर कार्यशाला गरेर कलाकार छनौट ग¥यौँ । सुटिङ हुन लाग्दा केही कलाकार तेस्रो देश स्थानान्तरण भए । केही सुटिङको बीचमै पनि बिदा भए । यस्तै चुनौतीलाई सन्तुलन गर्दा हामीलाई समय लाग्यो तर हामीले सकेसम्म राम्रो गर्ने कोसिस गरेका छौं ।

धेरै भुटानी शरणार्थी तेस्रो देश पुनर्वास भइसकेको अवस्था छ । यतिखेर फिल्ममार्फत तपाईंले भन्न खोेजेको कुरा के हो ?
यतिखेर होइन । हामीले चलचित्रको सोच बनाउँदा तेस्रो देश पुनर्वासको प्रक्रिया आएको वा सुरु भएकै थिएन । हामीले पूर्वतयारी, रिसर्च गर्ने क्रममा यो सबै घट्दै आयो । पुनर्वास प्रक्रियाभन्दा अघि प्रायः धेरै संख्यामा भुटानी आफ्नो देश फर्कन चाहनुहुन्थ्यो । पितापुर्खाको पालादेखि रगत पसिना बगाएर सिँगारेको जन्मघर, जन्मदेश टेक्न चाहनुहुन्थ्यो । अचम्मको कुरा त के छ भने भुटान सरकारले देशबाट लखेटेको बेला भुटानको बोर्डरबाट गाडीका गाडी उनीहरुलाई मेचीको सिमानासम्म ल्याएर गिट्टी, बालुवा जसरी खसाल्ने इन्डिया सरकार हो ।  शान्तिपूर्ण तवरले आफ्नै देश फर्किन्छु भन्दा मेचीको पुलमा छेकेर गोली हानेर निर्दोष मान्छे मार्ने पनि उही हो । ठूला र शक्तिमा भएकाहरुले जे गरे पनि हुने ? कमजोरहरुको आवाज यत्तिकै बिलाएर जाने ? कमजोर सही हामीले इमान्दार, देशभक्तहरुको कथा भन्न चाहेका हौँ । शिविरमा बाँच्ने विकल्प घटदै/घटाइँदै गइयो । बाध्यताले (केही रहरले पनि होला) उनीहरु तेस्रो देश लागे तर केही जमात अझै पनि भुटान फर्कने भनेर आन्दोलन गरिरहेका छन् । भलै उनीहरुको आवाज कसैले सुनिदिएका छैनन् । भित्री रुपमा म शरणार्थीहरुले तेस्रोभन्दा पनि बढी आफ्नै देश फर्कन पाउनुपर्छ भन्ने पक्षमा छु ।  

फिल्ममा वास्तविक भुटानी शरणार्थीको पनि अभिनय छ हो ?
८० प्रतिशत भुटानी कलाकार पर्दाअघि र पर्दापछि छन् । खासमा म लगायत हाम्रो आइडियल टिम सबै कलाकार नै शिविर भित्रकै कलाकारहरुलाई लिएर यो चलचित्र निर्माण गर्ने सोचमा थियौँ किनभने यो सम्वेदनाका लागि, यो विषयका लागि बाहिरी  कलाकारलाई लिँदा धेरै इम्प्रोभाइजेसन गराउनुपर्ने हुन्थ्यो । बडी ल्याङ्वेज, चरित्रको चेतनातह, संवाद बोल्ने तरिका, संवेदनाको फ्लो आदि ध्यान दिनुपथ्र्यो । कथालाई न्याय दिन चरित्र सही हुन जरुरी हुनाले शिविरभित्र दर्जनौँ कार्यशाला गराएर कलाकार छनोट गरेका थियौँ । सुरुमा आर्थिक समस्याले पनि गाँज्यो हामीलाई । अलिपछि हामीले छनोट गरेका कलाकार भटाभट तेस्रो देश जान थाले । हामीलाई झन् समस्या भयो । अन्ततः बाहिरबाट पनि कलाकार लिनु पर्ने स्थिति आयो ।

शरणार्थी शिविरमा फिल्म सुटिङ हुँदै गर्दा शरणार्थीहरुको प्रतिक्रिया कस्तो थियो ?
पहिलो कुरा यो चलचित्रमा कलाकार, आर्ट, निर्माण सबैमा उहाँहरुको सहभागिता छ । संवेदनाको हिसाबले म ज्यादै नज्दिक भएकाले र उहाँहरुको कथा उहाँहरुलाई जानकारी भएकाले माहोल सहयोगी बन्यो । सुटिङका शुरुवाती दिनमा एकदमै भिड लाग्थ्यो । पछिपछि कम हुँदै गयो । कथालाई हल्काफुल्का रमाइलो होइन, गम्भीर तरिकाले काम हुँदैछ भन्ने उहाँहरुलाई पनि थाहा थियो । धेरै जसो दृश्यको छायांकनमा दर्शकहरु साँच्चै नै रुने, साँच्चै नै हाँस्ने गर्थे । एउटा प्रसंग भन्छु । मेचीपुलको आन्दोलनको दृश्य हामीले मोरङ कानेपोखरीको पुलमा गरिरहेका थियौं । हाइवे ब्लक गर्न नपाइने तर हामीले दृश्यको लागि हाइवे ब्लक गर्नुको विकल्प थिएन । स्थानीय प्रशासन सुटिङ रोकेर बाटो खुलाउन हामीलाई धरपकडको अवस्थामा पुगेको थियो । हजारौँ मानिस सहभागी थिए । भारतीय बोर्डर सेक्युरिटी फोर्ससँग लड्नु पर्ने दृश्य थियो । हामीले कलाकार बाङ्लादेशका नागरिक जुटाएका थियौँ । हुँदाहुँदै साँच्चै नै फिल भएर एक वृद्ध कलाकारले त बाङ्ला कलाकारको नाकमुख नै फुट्ने गरी हिर्काउनु भएछ । पछि माफी माग्नु भो ।

यथार्थ कथामा बनेका फिल्म नेपालमा त्यति चलेको छैनन् । यो चल्छ भन्नेमा कत्तिको आशावादी हुनुहुन्छ ?
सबै दर्शक एकै प्रकारका हुँदैनन् । कोही सिरियस विषयवस्तु र काम पनि मन पराउनुहुन्छ । शरणार्थी समस्या विश्वकै ठूलो समस्या हो । आज दैनिक हजारौँ मानिस शरणार्थी भएका छन् । नेपालमा मात्र पनि भुटानीका अलावा बर्मा, तिब्बत, पाकिस्तान, अफ्रिकन आदि मुलुकका शरणार्थी बढिरहेका छन् । यो समग्रतालाई थोरै भए पनि बुझ्ने अवसर दर्शकले पाउने छन् भन्ने हामीलाई लागेको छ ।

Leave A Comment