पृथ्वीनारायण क्याम्पस

आइतबार, २९ साउन २०७४, १० : ४८ मनोज घर्तीमगर , Kathmandu
पृथ्वीनारायण क्याम्पस

पश्चिमाञ्चल क्षेत्रकै शैक्षिक ज्योति पुञ्ज हो, पृथ्वीनारायण क्याम्पस । नेपालकै सबैभन्दा ठूलो क्याम्पसका नामले पनि चिनिएको छ यो । अध्ययन–अध्यापन केन्द्रका रुपमा चिनिएको यो क्याम्पस वि.सं. २०१७ साल भदौ १७ गते स्थापना भएको हो ।
स्थानीय बुद्धिजीवी एवं समाजसेवीको पहल र सक्रियतामा स्थापित यस क्याम्पसले आफ्नो भवन नभएका कारण तत्कालीन रत्नराज्यलक्ष्मी कन्या स्कुल, नदीपुरको कक्षाकोठाबाट अध्यापन सुरु गरेको थियो । सुरुमा २ जना शिक्षक १३ जना विद्यार्थी र एक जना कर्मचारीबाट आफ्नो शैक्षिक क्रियाकलाप सुरु गरेको यस क्याम्पसको विधिवत उद्घाटन वि.सं. २०१७ साल असोज ३ गते नारायणस्थानस्थित पौवामा कक्षा सञ्चालन गर्ने गरी तत्कालीन गृहमन्त्री सूर्यप्रसाद उपाध्यायले गरेका थिए ।
स्थापनाकालको सुरुवातमा इन्टर मिडियट कलेजका रुपमा स्थापना गरिएको तत्कालीन पृथ्वीनारायण क्याम्पसपछि पृथ्वीनारायण बहुमुखी क्याम्पसका रुपमा स्थापित भयो । यसले एक अघोषित विश्वविद्यालयको रुप धारण गरिसकेको छ । आफ्नो जग्गा र भवन नभएकाले नदीपुरबाट अध्ययन–अध्यापन सुरुवात गरिएको पृथ्वीनारायण क्याम्पस मिति २०१९ वैशाख ३ गतेदेखि वर्तमान क्याम्पस रहेको स्थान भीमकालीपाटनमा आफ्नै टहरामा कक्षा सुरु भएको थियो ।
आइए (प्रवीणता प्रमाण पत्र तह) को अध्यापनबाट सुरुवात गरिएको पृथ्वीनारायण क्याम्पसले स्नातकोत्तर तहसम्म १७ विषयमा अध्यापन गराउँछ । पोखरा उपमहानगरपालिका वडा नं. १, भीमकालीपाटन तथा सेती नदीको किनारमा अवस्थित पृथ्वीनारायण क्याम्पसले ४९८–५–२१ र सेती किनारको अधिग्रहणधीन करिव २५० रोपनी क्षेत्रफल ओगटेको छ ।
क्याम्पसको भौतिक परिसरभित्र शिक्षाशास्त्र भवन, वातावरण शिक्षा भवन, शिक्षण समिति भवन, प्रशासकीय भवन, कला तथा व्यवस्थापन भवन, कानुन भवन, प्राध्यापक संघ भवन, स्नातकोत्तर भवन, विज्ञान भवन ल्याव, तथ्याङ्क शास्त्र भवन, पुस्तकालय, विज्ञान छात्रबास भवन, कन्या छात्राबास भवन, महिला छात्राबास भवन, पुरुष छात्रबास भवन, कर्मचारी संघ भवन, स्वास्थ्य केन्द्र भवन, स्ववियु भवन, छात्र विश्राम गृह, क्याफ्टेरिया भवन एवं प्राध्यापक आवास भवनहरु, मोटरसाइकल स्ट्यान्ड नेपालकै ख्याति प्राप्त म्युजियम (अन्नपूर्ण प्रकृति विज्ञान संग्रहालय) जो विशेष गरी विभिन्न जातका ठूलो संख्यामा पुतलीहरुको संकलन केन्द्रका रुपमा प्रख्यात छ । सुलभ र नियमित पिउने पानीको स्रोतका रुपमा डिप बोरिङको समेत व्यवस्था छ । क्याम्पस ग्रिन स्पेस पार्क, खेलमैदान, स्वर्ण जयन्ती स्मृति भवन लगायतका भौतिक सुविधाहरुले सम्पन्न छ । यसका बावजुद पनि विद्यार्थी संख्या र चापको अनुपातमा क्याम्पसको विद्यमान भौतिक सुविधा, साधन र स्रोतको अझै अभाव नै छ ।
यस क्याम्पसमा ५ वटा सङ्काय— मानविकी तथा सामाजिक, विज्ञान तथा प्रविधि र व्यवस्थापनमा स्नातकोत्तर तहसम्म अध्यापन तथा अनुसन्धान कार्य हुने गर्छ । प्रातकालीनदेखि सन्ध्याकालीन कक्षा सञ्चालन हुने यस क्याम्पसमा २८ वटा विभाग छन् । शिक्षण सहायकदेखि प्राध्यापकसम्म करिब ६०० कर्मचारी रहेको यस क्याम्पसमा विभिन्न संकाय, विषय र तहमा गरी करीब ११,००० (क्याम्पस प्रशासनबाट प्रात तथ्याङ्क) विद्यार्थी अध्ययनरत छन् । देशका विभिन्न क्षेत्र (सुगमदेखि दुर्गम क्षेत्र) बाट समेत उच्च शिक्षा हासिल गर्न आउने र अध्ययन–अध्यापन गराउने पृथ्वीनारायण क्याम्पसका विद्यार्थी संख्या र कार्यक्रमका दृष्टिले मुलुककै सर्वाधिक ठूलो शैक्षिक संस्था हो । यसको ऐतिहासिक पृष्ठभूमि, भौतिक पूर्वाधार अवस्थिति, कार्यक्रम एवं मानवीय स्रोत साधनको दृष्टि समेतलाई मध्यनजर गर्दा पृथ्वीनारायण क्याम्पसको आफ्नो विशेष किसिमको स्पष्ट पहिचान र गरिमामय इतिहास छ ।
यो त्रिभुवन विश्वविद्यालयको नियम तथा निर्देशनअन्तर्गत पर्छ । विभागीय अनुसन्धान समितिले मूलतः मास्टर्स डिग्रीका विद्यार्थीको थेसिस लेखनको अभिमुखीकरण कार्यदेखि उनीहरुले लेखी बुझाएको थेसिसलाई आवश्यक परिमार्जन गर्न सुझाव दिने तथा विभागबाट प्रकाशित हुने जर्नललाई गुणस्तरीय बनाउने काम गर्दछन् । तर, जति गर्नुपथ्र्यो यस क्याम्पसले अनुसन्धानमूलक काम खासै गर्न सकेको छैन । यहाँका प्राध्यापक विद्यार्थीलाई राम्रोसँग कोअर्डिनेसन गर्दैनन् भन्ने आरोप लाग्ने गरेको छ । केही विभाग त यति गएगुज्रेका छन् कि ४÷५ जना विद्यार्थी हुन्छन् र त्यति नै प्राध्यापक तर ती प्राध्यापक विद्यार्थी पढाउन आउँदैनन् ।
७४८ रोपनीको परिसर भएको क्याम्पस वास्तवमा साधन र स्रोतको कमी छ भन्न मिल्दैन तर पनि पृथ्वीनारायण क्याम्पस अझै विश्वविद्यालयको रुपमा रुपान्तरित हुन सकेको छैन । यस क्याम्पसको समग्र विकास, उत्थान एवं यसलाई विश्वविद्यालयमा रुपान्तरित गर्न विशेष किसिमको पहल र प्रयास गर्न बेलाबेला चर्चा चले पनि रुप धारण गर्न सकेको छैन । क्याम्पसको भौतिक संरचना संरक्षणमा खासै ध्यान दिइएको देखिँदैन । भवनहरु, प्रयोगशाला एवं अन्य भौतिक सम्पत्ति लथालिंग छन् । यहाँको ग्रिनस्पेस पार्क संरक्षण र रेखदेशको अभावमा भताभुंग छ । यसको संरक्षण व्यवस्थापन एवं स्वतन्त्र विद्यार्थी युनियन र युएनडिपीबीच भएको सम्झौतालाई व्यवहारमा लागू गरिएको छैन । क्याम्पस परिसरभित्र रहेका भानु पार्क पनि लथालिंग छ । क्याम्पस परिसरभित्रै रहेको ऐतिहासिक अन्नपूर्ण स्टेडियमलाई पनि व्यवस्थित गरी चलाइएको छैन । पहिले यस क्याम्पसमा विद्यार्थीको जति चार्म थियो बर्सेनि घट्दो छ । तैपनि यस क्याम्पसलाई उभो लगाउन कसैको चासो छैन ।
विद्यार्थीका अनुभव
१. प्रेम रोका

पश्चिमाञ्चलको सबैभन्दा पुरानो र ठूलो क्याम्पसमा पढ्न पाउनु आफैँमा गर्वको विषय हो । इतिहास बोकेको पिएन क्याम्पसको बारेमा सानैमा धेरै सुनेको थिएँ । अहिले यहीँको विद्यार्थी भएर पढ्न पाएको छु । थोरै खर्चमा राम्रो शिक्षा आर्जन गर्नका लागि यो उपयुक्त क्याम्पस हो ।
२. सुशीला हमाल
सेतीको छेउमा विशाल क्षेत्रमा फैलिएको यो क्याम्पस आफैँमा रमणीय स्थल लाग्छ । मानिसको जीवनको सबैभन्दा रमाइलो क्षण क्याम्पसमा बित्छ भन्छन् । मलाई पनि साँच्चिकै यहाँ पढ्दा रमाइलो लागिरहेको छ । यस क्याम्पसका धेरै कुरा मलाई मन पर्छन् । सरहरुले राम्रोसँग पढाउनु हुन्छ । कहिलेकाहीँ कक्षामा साथीभाइले हल्ला गर्दा बडो दुःख लाग्छ ।

३. निशा घर्तीमगर
सुरुमा पढ्न आउँदा कतै हराएझैँ लाग्थ्यो । क्याम्पस आफैँमा विशाल हाताभित्र छ । यहाँको वातावरण मलाई निकै मन पर्छ तर लाइब्रेरीमा खोजेअनुसारका किताब सहज रुपमा उपलब्ध नहुँदा दुःख लाग्छ ।

४. प्रेम बुढा
यस क्याम्पसमा धेरै विद्यार्थी पढ्छन् । म गाउँबाट यहाँ पढ्न आउँदा सरकारी क्याम्पसमा धेरै राजीति मात्रै हाबी हुन्छ भन्ने सुनेको थिएँ । हल्काफुल्का विद्यार्थी संगठनले राजनीति पनि नगरेका होइनन् । त्यसले पढाइमा बाधा पुग्थ्यो तर अहिले धेरै परिवर्तन भएको छ । यो राजनीति गर्ने थलो होइन, ज्ञान लिने थलो भएकोमा खुसी छु । विद्यार्थी संगठनले गर्ने आन्दोलन अहिले त लगभग शून्यजस्तै भएका छन् । यही अवस्था रहिरहनुपर्छ ।
५. पुरुषोत्तम सुनार
अचेल जति महँगा क्याम्पसमा छोराछोरी पढायो, उति राम्रो पढ्छन् भन्ने गलत कन्सेप्ट धेरै अभिभावकमा छ । त्यसैले सरकारी क्याम्पस छाडेर धेरैजसो निजी क्याम्पसका पछाडि दौडने गर्छन् तर ठीक उल्टो पिएन क्याम्पसमा पढ्ने विद्यार्थीको चाप कहिले घटेन । आइए हट्दासमेत यहाँ विद्यार्थीको चाप उस्तै हुनुले पुष्टि गर्छ, यस क्याम्पसले राम्रो शिक्षादीक्षा दिएकाले यसको चार्म घटेको छैन ।
६. जुना मगर
यस क्याम्पसमा टाढा–टाढाबाट विद्यार्थीहरु पढ्न आउँछन् । यहाँ होस्टलको पनि व्यवस्था छ । कक्षाहरु पनि रेगुलर छ । लाइब्रेरी राम्रै छ । पढ्ने वातावरण पनि छ । साथी कमाउन र शिक्षा आर्जन गर्न पिएन क्याम्पसको विकल्प छैन ।

Leave A Comment