गुलाबले लोभ्यायो मिस नेपाललाई

शुक्रबार, २४ असार २०७३, ११ : १४ गोपाल दाहाल , Kathmandu
गुलाबले लोभ्यायो मिस नेपाललाई

‘आहा’ कस्तो राम्रो रोज । यस्तो झुप्पाझुप्पा भएको रोज त कहिल्यै देखेकी थिइनँ ।’ भेडेटारको नाम्जे होम–स्टेमा पुगेकी मिस नेपाल अश्मी श्रेष्ठ गुलाब फुलेको देखेर मख्ख भइन् । होम–स्टेको डिलमा फुलेका गुलाबसँग सेल्फी खिचिन् । अनि, रमाउँदै सुनाइन्, ‘कस्तो मज्जा आयो ।’
पहिलो पटक धरान आइपुगेकी यी नेपाल सुन्दरी भेडेटार पुग्ने बित्तिकै छिनमै घाम र छिनमै हुस्सु लागेको दृश्य देख्दा खुशीले रमाइन् । बेलायतका युवराज चाल्र्सको नाममा रहेको ‘चाल्र्स टावर’ चढ्ने उनको रहर भने पूरा भएन । भूकम्पले चर्किएपछि टावर भत्काइएको ठाउँमा निर्माण कार्य हुँदै रहेछ । त्यसपछि छेउकै सानो पाथीभरा मन्दिर पुगिन् अश्मी । मन्दिरभित्र पूजा गरिन्, फूल चढाइन्, घण्टी बजाइन् ।
भेडेटारचोक छेउमै रहेको होटल मनशान्त ग्यालरीमा बाँसबाट बनाइएका कलाकृतिको अवलोकन गर्दागर्दा ग्यालरीका सञ्चालक कलाकार रोजन राईले उनलाई बाँसकै मादल उपहार दिए । उनी झनै खुशी भइन् । रोजनले बनाएका बाँस, ढुंगा, माटोका कलाकृति हेरेर अश्मी सीधै लागिन् नाम्जेको होम–स्टे । होटल एसोसिएसन भेडेटारका सचिव जीतेन्द्र रुम्दाली राईले अश्मीलाई होम–स्टेबारे जानकारी गराए ‘यो मगर जातिको बसोवास भएको स्थान हो । केही वर्षदेखि यहाँको चर्चा देशविदेशमा हुन थालेपछि पर्यटक आउन थालेका हुन् ।’
अमेरिकी सञ्चार संस्था सीएनएनले नसुनिएका विश्वका उत्कृष्ट १२ गन्तव्यको सूचीमा नाम्जेको नाम पनि सूचिकृत गरेपछि यो गाउँमा विभिन्न देशका पर्यटक आउन थालेका हुन् । त्यसपछि होम–स्टे सञ्चालन गरेर मगर संस्कृति प्रदर्शन गर्दै आएको नाम्जेमा अश्मीलाई भने गुलाबका झुप्पाले निकै आकर्षित गरे । घरको पिँढीमा राखिएका गुलाबका साना बिरुवा हेर्दै उनले भनिन्, ‘रोजको बिरुवा लान मिल्दैन ?’ होम–स्टे सञ्चालकले नमिल्ने बताए । सचिव जीतेन्द्रले सुनाए, ‘यहाँको गुलाब बेग्लै किसिमको छ । सबैलाई आकर्षित गर्छन् ।’
होम–स्टेपछि अश्मी आफ्नो टोलीसहित आत्माघरतिर उकालो लागिन् । उकालोमा गुराँस, चियालगायत बोटबिरुवा हेर्दै आत्माघर पुगेकी उनले भेडेटारबाट नाम्जे चढ्नुअघि नै यसबारे गुगलमा खोजिसकेकी थिइन् । पिककोर स्वयंसेवक राजीव गोयलको सक्रियतामा थुम्की डाँडामा रहेका चिहानका ढुंगा उखलेर विभिन्न देशका आर्किटेक्चरहरूले निर्माण गरेको आत्माघरमा पर्यटकहरू आएर बितेका आफन्तलाई सम्झिन्छन् । भेडेटारभरको अग्लो यो डाँडाबाट अश्मीले हुस्सुले ढाकेको भेडेटार, धरान, इटहरी र तराईको दृश्यावलोकन गरिन् । आत्माघरको बारेमा आफ्नो फेसबुक पेजमा लेख्दै उनले एउटा हातमा चश्मा र अर्को हातमा जुत्ता बोकेर ओरालो झरेको तस्बिर पोस्ट गरिन् । सरकारको घुमफिर वर्ष २०७३लाई स्मरण गर्दै लेखिन् ‘धरान लाइटन्ड अप माई हर्ट’
आत्माघरपछि अश्मीले भेडेटारको शंखेश्वर मन्दिरको पनि अवलोकन गरिन् । मन्दिर पुगेकी उनीसँग ‘मिस नेपाल’ भन्दै एक हुल युवती उनीतिर झुम्मिए । सेल्फी खिचे । मिस पूर्वाञ्चलको अतिथि बन्न आइपुगेकी अश्मीलाई भेडेटार, नाम्जेको घुमघामले रमाइलो अनुभव भयो । उनले शुक्रवारसँग भनिन्, ‘यसपालिका यात्रा अविस्मरणीय भयो ।’
अश्मीको घुमघाममा सँगै रहेका युरेका आवासीय स्कुल धरानका प्रिन्सिपल राजेन्द्र गुरुङ उनको सरल व्यक्तित्वबाट निकै प्रभावित भए । ‘अश्मीमा अलिकति पनि घमण्ड देखिनँ । मन्दिर होस् वा रमाइलो ठाउँ अप्ठ्यारो भए पनि झन्झट नमानी हिँडिन् । उनले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग गर्नेछिन् ।’ पहिलो पटक यात्रा गरेको धरान र भेडेटारको न्यायो स्वागत र अविस्यमरणीय यात्राले अश्मीलाई खूब छोएछ । यहाँको सुन्दरताले लोभ्याएछ । त्यसैले फर्किएपछि धरान सम्झिदै फेसबुकमा स्ट्याटस नै लेखिन्– ‘धरान, यू आर ब्युटिफुल । सी यू अगेन !’

 

Leave A Comment