मिश्रणवाद कसरी जिन्दावाद ?

आइतबार, २९ साउन २०७४, १० : २२ शुक्रवार , Kathmandu
मिश्रणवाद कसरी  जिन्दावाद ?

 बद्रीप्रसाद दाहाल  

‘उहिलेका कुरा खुइले, अहिलेका कुरा फैलिए’ भन्ने उखानको बखान त मसान जाने बेलामा पो बल्ल खुल्न  थालेको छ । पूर्वीय र पाश्चात्य संसारमा प्रतिपादितवादहरु अचेल नेपाली समाजमा बढी फिक्का लाग्ने र हिक्का बढाउने खालका छन् । नेपाली समाजमा यस्ता वादका पोथीहरु निरर्थक भएकैले यतिखेर सबै क्षेत्रमा मिश्रणवादले हाकोडाको मच्चाएको छ । जुन वादले आवाद गर्दा राष्ट्र नै बरबादतिर भासिँदैछ । राजनीति, अर्थतन्त्र, वाणिज्य नीति, शिक्षा, धर्म, संस्कार सबैतिर मिश्रणवादकै चित्रण गरिने रोगको घरजम छ । हाम्रा शीर्ष मुखियाहरुका लोकतान्त्रिक समाजवाद, बहुदलीय जनवाद, जनतान्त्रिक समाजवाद लगायतका ठिमाहावादहरु राजनीतिमा हावी गराइएका छन् भने सरकारी, निजी, सहकारी अनि सामुदायिकजस्ता तीन खम्बे–चार खम्बे मिश्रित अर्थतन्त्रमा नेपालको अर्थनीति मार्च गराउने स्वैर कल्पनाहरुले मिलावटवादकै पृष्ठपोषण गरिरहेका छन् । शिक्षा पद्धति अलिकति गुरुकूल, अलि बढी लर्ड मेकाले वाचा प्रयोगात्मक मिसाएर यसमा पनि अस्वस्थ वर्णशंकर चिन्तनको  भयङ्कर कंशवाद बढोत्तरीमा छ । त्यसै गरी संस्कृति, उद्योग, स्वास्थ्य लगायतका क्षेत्रमा पनि मिसावटवादको हाकोडाको र साम्राज्य मज्जैले जमेको छ ।
यी माथि उल्लेख गरिएका सबै क्षेत्रमा सघन रुपमा फैलिएको मिश्रण तन्त्र, मिसावटीवाद वा फ्युजनलाई आदर्श मान्दै यतिखेर उपभोग्य सामग्री आपूर्ति गर्ने व्यापारी एवं व्यवसायीहरु तुच्छकोटीको, मिलावटी चिन्तनबाट आक्रान्त छन् । हिजोका रोडपतिहरु आजका करोडपति र खर्बका गर्व गर्न लायक मालिक बनेका  दृश्य सालिक भएर बिरिल—बिरिलै  हेर्न पाइन्छ अचेल । हिजोका हात्ती छापे र गैँडाछापे चप्पल लगाएर कैंडा लाग्ने गरी सडकमा भौँतारिने आदर्शका स्वाङहरु आज भ्वाङ परेर थला परेकैले प्राडो, पजेरो, सुजुकी र त्यस्का हजुर्बाउ तहका वातानुकूलित कारमा हार लाएर गुडेको वा उडेको दृश्य आँखैेमा ठुङ मार्न आइपुग्छन् बा !  आलिशान महलमा राज गरेर सर्वहाराका कुरा छाद्ने र अभक्ष्य भकुरेर अपानवायुमा दुर्गन्धित हुने टुप्पाबाट पलाएकाहरुले थामिसक्नु भएन । हिजोका दोबाटो कुरुवाहरु पनि मिश्रणवादकै आडमा धेरै उपभोक्ताको ढाड सेकेर हाड चुसेर नव कुवेर बनी तालुमा आलु फलाई  भालुझैं आम उपभोक्तालाई चिथोर्दैछन् । पानी, तेल, मासु, मसला, दूध, तरकारी, चामल, गेडागुुडी, मिठाई, पाउरोटी, चकलेट, पुष्टकारी, घिउ, तरकारी, मैदा, दालजस्ता सबै वस्तुमा मिश्रणवादको अस्तु जाकिरहेका छन् । कतिसम्म भने चामलमा प्लास्टिकको चामल मिसाएर आमाशयमा नै भय दिने ग्यास्ट्रिकको हजुर्बाउ मिश्रणवादीहरुले सघन रुपमा बाँडेको हल्ला चल्लालाई समेत थाहा भैसकेको छ । मिति सक्किएका, छिमेकी देशले स्तरहीन भनी घिन गरिएका र प्रतिबन्ध लगाएका सडालु पदार्थ नयाँ संस्करणमा सानादेखि ठूला–ठूला कम्प्लेक्ससम्म झिल्के खोल ओढेर विचित्र चित्रसहित ग्राहकको आँखामा फुलो पार्न कस्सिएका छन् । यमराजका सहोदर भाइ कृष्ण बनियाँहरुको बेपार पोलिसी पनि अपार खालकै छ  ।
जसरी राजनीति चिन्तनमा व्यास, चाणक्य, विदुर, प्लेटो, गान्धी, माक्र्स–लेलिन र माओवादले मात्र नपुगेर खाओवाद मिसाइएको छ– झन् गुट, महागुट र कोटरीवादले पूर्ववादहरुलाई अभूतपूर्व रुपमा विस्थापित गराएर स्वार्थवादको एकाधिकारले मजैसित राइँदाइँ मच्चाएको छ । त्यसै गरी वाणिज्यवादमा पनि ‘एनिहाउ पैसा कमाउ’ भन्ने तुच्छ आपराधिक वाद मिसाएर उपभोक्ताका अर्थधरातलदेखि स्वास्थ्यसम्म तलातल, पाताल र रसातलतिर धकेलेर यमराज मार्ग खडा गरी दिएका छन्, जब्बर मिश्रणवादका ठालूहरुले । पुतना, सुपर्णखा, वक्कासुर, अघासुरका विप्ल्याँटा  चिन्तनका कोक्ल्याँटा जमातले नमाज, गीता र बाइबल पढ्नु बेकार भैसक्यो । झलक्क हेर्दा झिलिक्क र टिलिक्क भएपछि मख्ख पर्ने अज्ञ उपभोक्तालाई विज्ञ अझ झर्रो भाषामा भन्नु पर्दा चट्टू र छट्टू जमातले उपभोक्ता लखनटट्टू पारिसके ।
बोर्डिङ स्कूलहरुले नानीहरुको ओजनभन्दा बढी तौलको किताबी भोजन बोकाएर सानैमा गानुगोलाका सोला रोपिदिने भए । गणित, भाषा, इतिहास, भूगोल, विज्ञान, प्रविधि, विधि, चित्रकला, फोटोग्राफी, योगा, आइटी सबै मिश्रण गरी अपच हुने गरी ख्वाउन डंगुर किताब किन्न लगाएर आफ्नो मिश्रणवादको धन्दामा फन्दा नपर्ने बनाएका छन् । निर्माण व्यवसायीहरुले पनि निर्माणका ठेक्काहरुमा छड, सिमेन्ट, बालुवा, गिट्टी , अलकत्रा र अन्य आवश्यक सामग्रीमा गुणस्तरीय वाचा, मध्यमस्तरीय चौथाइ र अधमस्तरीय चाहिए जति मिश्रण गरेर यो वादको सेवा मजैले पुर्याएका छन् । यो कुकामले व्यवसायीहरुको रोजगारीमा असिना कहिल्यै नबर्सिने भएको छ ।
अब मिसाटवादविरुद्ध आम उपभोक्ता वा जनता आफैं उत्रिएर लागि नपर्ने हो भने यो वाद स्वाइन फ्लूको हजुर्बाउ भएर जनता सोत्राम्मे पार्ने  छ । अब नेपाली समाज अराजतकतातिर त हाम्फाल्दैन ? खबरदार मिसावटी, मिलावटी कुचिन्तनमा ग्रस्त सबैखाले मिश्रणवाद वा फ्युजनवादीहरु ! आततायी मिलावटवादलाई   कसरी  जिन्दावाद भन्ने  त ?

Leave A Comment