बोेल्ट राजको अन्त्य

शनिबार, २८ साउन २०७४, ०२ : २७ शुक्रवार , Kathmandu
बोेल्ट राजको अन्त्य

अर्को एउटा फाइनल खेलमा कीर्तिमानी धावक उसेन बोल्ट ट्रयाकमा थिए । । १ सय मिटर दौडका लागि ५० मिटर पूरा गरेपछि बोल्टले अगाडि हेरे । एक मात्र होइन थुप्रै धावक उनका अगाडि दौडिरहेका थिए ।
अन्तिम समयमा विश्वकै सबैभन्दा तीव्र गतिका धावकले अगाडिका सबैलाई उछिन्ने प्रयास गरे । त्यति बेलासम्म पनि उनमा जित्न सक्ने आत्मविश्वास थियो । उनले सक्दो प्रयास गरे तर यस पटक उनको प्रयास सफल हुन सकेन । एक जनाले मात्र होइन, उनलाई दुई जनाले पछाडि छाडिदिए । जस्टिन गाटलिन र क्रिस्टेन कोलेमनले । यस नतिजासँगै विश्व एथलेटिक्समा बोल्टको राजको अन्त्य भएको अनुमान गरिएको छ ।
यस धर्तीकै तीव्र गतिका धावक बोल्टले विश्व च्याम्पियनसिपको १ सय मिटरमा तेस्रो स्थानमा चित्त बुझाए । ‘कुनै पछुतो छैन,’ नतिजापछि स्तब्ध बनेका दर्शकमाझ बोल्टले भने, ‘जे भयो त्यसले मेरो करियरमा कुनै परिवर्तन हँुदैन ।’
एक समय गाटलिन बोल्टभन्दा पछाडि थिए तर उनले ९.९२ सेकेन्डमा दूरी पूूरा गर्दै स्वर्ण पदक जिते । ३५ वर्षे गाटलिन दुई पटक डोपिङ काण्डबाट गुज्रिएका थिए । जितेपछि पनि गाटलिनले बोल्टलाई नायकका रूपमा उभ्याए । गाटलिन ट्र्याकमै बोल्टअगाडि गएर निहुरिए ।
‘म उनलाई सम्मान व्यक्त गर्न चाहन्थेँ,’ गाटलिनले भने, ‘यस ट्र्याकमा आजको रात जादुमय रह्यो कि बोल्ट पराजित भए । उनको ठूलो प्रतिस्पर्धी हुन सकेकोमा म खुसी छु ।’
पहिलो ठूलो दौड दौडेका २१ वर्षे कोलेमन पनि आश्र्चयचकित बने । ९.९४ सेकेन्डमा दूरी पूरा गरेका कोलेमन भन्छन्, ‘जसलाई हेर्दै म हुर्किएको थिएँ, उनैलाई पराजित गरेँ । उनीसँगै ट्र्याकमा हुन पाउँदा पनि म खुसी थिएँ ।’
९.९५ सेकेन्डमा दूरी पूरा गरेका बोल्ट तेस्रा भए । ३० वर्षे बोल्टले संन्यास लिनका लागि अब समय भएको कुरालाई स्वीकार गरे । ‘समर्थकका लागि मैले यो गरेँ,’ १ सय मिटरमा तीन स्वर्ण पदक जितेका बोल्टले भने, ‘उनीहरू मलाई थप एक सिजन दौडेको हेर्न चाहन्थे । मैले यहाँ सक्दो प्रयास गरेँ ।’
शनिबार राति खेल सुरु हुनुपूर्व जमैकाका समर्थकहरू राष्ट्रियका झन्डाका साथ उल्लास मनाइरहेका थिए । रंगशालामा मधुर संगीत गुन्जिएको थियो । यो त्यही रंगशाला थियो, जहाँ बोल्टले ओपम्पिकका ९ मध्ये बीचका ३ स्वर्ण पदक जितेका थिए । गाटलिन र कोलेमनले रंगशाला छाडिसक्दा पनि बोल्ट १० मिनेट ट्र्याकवरिपरि बसिरहे । त्यसपछि जमैकाका समर्थकसँग सेल्फी खिचे । केही मिनेटपश्चात् पुनः ट्रयाकमा फर्किए । उनले पूरा गरेको लाइन (लेन ४)लाई चुमे । त्यसपछि उनले समर्थकमाझ आफ्नो चर्चित ‘पोज’ दिए ।
बोल्टले अझै अर्को साता ४ गुणा १ सय मिटर दौडने छन् । उनले दौडनेमध्येको २ सय मिटर दौडमा भने बोल्टले प्रतिस्पर्धा गर्ने छैनन् ।

Leave A Comment