संभावनाको क्षेत्र मोडलिङ

शनिबार, २८ साउन २०७४, ०२ : १८ शुक्रवार , Kathmandu
संभावनाको क्षेत्र मोडलिङ

सहरीकरण र अहिलेको स्क्रिनको दुनियाँसँगै मौलाउँदै गएको क्षेत्र हो मोडलिङ । मनोरञ्जन उद्योग, औद्योगिक, व्यापारिक उत्पादन, व्यापार तथा सेवा विस्तारको क्षेत्रमा फैलिरहेको मोडलिङले उद्यमको रूप लिएको केही समय हुन थालेको छ । काठमाडौँ लगायत ठूला सहरमा प्रशस्त फेसन सो र सुन्दरी प्रतियोगिता हुन थालेका छन् । बर्सेनिजस्तो यस्ता आयोजनाको दायरा बढ्दै गएको देखिन्छ । साना नानीदेखि किशोर, युवती र वयस्कका नाममा आयोजना हुने विभिन्न प्रतियोगिताबारे टीकाटिप्पणी नभएका होइनन् । यस्ता प्रतियोगिताको दुइटै पक्ष छ । एउटा राम्रो पक्ष छ, त्यो भनेको – ठूलो संख्याका युवाहरू मोडलिङ तथा ग्ल्यामरको क्षेत्रमा होमिएका छन् । त्यसका निम्ति उनीहरूले तालिम तथा प्रशिक्षण लिइरहेका हुन्छन् । बर्सेनि दसौँ हजारले विभिन्न प्रतियोगितामा भाग लिने, त्यहाँ आफ्नो बौद्धिकता र सौन्दर्य प्रदर्शन गर्ने र प्रतियोगिताहरू छिचोल्दै मोडलिङमा प्रवेश गर्ने लहर चलेको देखिन्छ तर यस पेसाका बारेमा सामाजिक धारणा त्यति उदार देखिँदैन । यो पेसालाई उत्ताउलो पेसाका रुपमा लिनेहरूको संख्या ठूलो छ । त्यस्तो सामाजिक धारणाबीच बेलाबेलामा मोडलिङ क्षेत्रमा लाग्नेहरूका सेक्स स्क्यान्डल, यौन र श्रम शोषणका समाचारले यो क्षेत्र अझ बढी बदनाम हुने गरेको छ । समयक्रममा यस्ता मामलाबाट मोडलिङ माथि उठ्दै जाने र यसले उद्यमी, व्यावसायिक रूप लिने अपेक्षा गरौँ । मोडलिङ सोखबाट पेसा बन्दै गएको अवस्थामा यस क्षेत्रमा राम्रो शिक्षादीक्षा लिएकाहरू पनि आएका छन् । र, क्षेत्रीय, जातीय नाममा नेपालमा विभिन्न क्षेत्रबाट यो दुनियाँमा प्रवेश गर्नेहरू पनि छन् । भोलिका दिनमा मोडलिङ सम्मानित पेसाकर्मीका रूपमा विकसित हुन सकोस्, यही आशा गरौँ । नेपालका केही मोडलले न्युयोर्क, दिल्ली र मुम्बईका र्यापहरूमा आफ्नो परख पस्किसकेको सुखद् समाचार हामी सुन्दैछौँ ।
मोडलिङ लगभग उद्योगको रुपमा विकसित भइसकेको छ र यस क्षेत्रमा ठूलो धनराशि लगानीसमेत भएको छ । नेपालको ५ देखि ७ अर्बको अनुमानित बजारको ठूलो अंश मोडलिङ लगायत ग्ल्यामरसँग सम्बन्धित क्षेत्रले ओगटेको छ । मोडलिङमा कति ठूलो संख्यामा युवायुवती लागिपरेका छन्, उनीहरूको कमाई कति छ यस्ता प्रश्नको उत्तर पाइँदैन । यस्तो अपारदर्शिताले पनि यो क्षेत्र मर्यादित बन्नबाट चुकेको छ ।
मोडलिङ ग्ल्यामर दुनिँयाको एउटा पाटो हो । यो विकसित हुनु, उद्यमको रूप लिनु भनेको मुलुकले आर्थिक विकासमा फड्को मार्दैछ र उद्यम, व्यापारको क्षेत्रमा मुलुक अगाडि बढिरहेको छ भन्ने सन्देश र संकेत पनि हो ।  काठमाडौँले कस्मोपोलिटन सहरको रूप धारणा गरिरहेको छ र पोखरा, विराटनगर, धरान, बुटबलजस्ता सहरहरू दिनदिनै आधुनिकतातर्फ पाइला चाल्दैछन् । तसर्थ सबैभन्दा पहिला सहरियाहरूले मोडलिङलाई एउटा सम्मानित पेसा र उद्यमका रुपमा स्वीकार्ने वातावरण दिनुपर्छ । उद्यम, व्यापारमा लागेकाहरूले यसलाई सम्मानित बनाउने ध्येय राख्नुपर्छ ।  मोडल स्वयं पनि सामाजिक आचारसंहिताबाट बाहिर जान मिल्दैन । मोडलिङमा लागेका कतिपयले यस क्षेत्रमा अगाडि बढ्न ठूलो धनराशि खर्चनु परेको  कथाव्यथा र त्यसका लागि देह बेच्नुपरेका बाध्यताहरू पनि सुनिन्छन् ।
मोडलहरूको सेवा बेच्ने एजेन्सी पनि ठूलो संख्यामा छन् तर ती बारम्बार चर्चामा आउने विषय भनेको एजेन्सीबाटै हुने विविध किसिमका शोषण पनि हो । यस्तो अवस्था पक्कै पनि राम्रो होइन । एजेन्सीहरू जसलाई देखाएर आफ्नो ‘बिजनेस’ गर्छन्, उनीहरू नै शोषणमा पर्नु सुहाउँदिलो कुरा होइन । खासमा एजेन्सीले अभिभावकको भूमिका खेल्न सकेको अवस्थामा मोडलिङ उद्योगले चाँडै उचाइ लिनेछ । त्यसैले मोडलिङलाई शोषण होइन, सम्भावनाको प्वाँख दिऔँ ।

Leave A Comment