पत्रकार बनिन् मलिना

बिहिबार, २६ साउन २०७४, १० : ०७ शुक्रवार , Kathmandu
पत्रकार बनिन् मलिना

सन् २०११ की मिस नेपाल मलिना जोशीको गृहनगर हो धरान । उनलाई नृत्य, गीत, संगीत र मोडलिङमा रुचि छ । करियर बनाउने क्रममा अधिकांश राजधानीतिर रहने उनी धरान आउँदा भने फुरुंग हुन्छिन् । ग्ल्यामरको दुनियाँमा भविष्य बनाउँदै गरेकी मलिना सोमबार (साउन २३) धरान आइन् र आफू पत्रकार बनेको घोषणा गरिन् । हो, उनी पत्रकार बनेकी छन् तर रियल लाइफमा होइन, रिल लाइफमा ।
साउन २७ गतेदेखि देशभर प्रदर्शन हुन लागेको छ, नेपाली फिल्म ‘संरक्षण’ । सोही फिल्मको प्रचारको क्रममा धरान आएकी मलिनाले आफू फिल्ममा पत्रकार बनेको खुलाइन् र पत्रकारहरुकै अघि भनिन्, ‘फिल्ममा म पत्रकारको भुमिकामा छु ।’ पत्रकारहरुको जीवन धेरै जोखिममा रहेको स्वीकार्दै उनले फिल्मले त्यस पाटोलाई पनि उजागर गरेको बताइन् । मलिनाले साइन गरेको पहिलो फिल्म हो, ‘संरक्षण’ तर रिलिजको हिसाबले भने तेस्रो फिल्म हुँदैछ । यसअघि उनले अभिनय गरेको फिल्म ‘ऋतु’ र ‘द विनर’ रिलिज भइसकेका छन् ।
फिल्म ‘संरक्षण’का निर्देशक पुर्णेन्दु झाले भने, ‘फिल्मले राजनीति र अपराधबीचको नेक्ससलाई उदांगो मात्र पारेको छैन, दोस्रो जनआन्दोलनपछि नेपालमा विकसित भएको राजनीतिक, सामाजिक द्वन्द्व र विभाजनले विभिन्न समुदाय र समाजमा पारेको व्यावहारिक, मनोवैज्ञानिक द्वन्द्वलाई पनि चित्रण गरेको छ ।’ सार्वभौमसत्ता सम्पन्न जनता एकजुट हुँदा राजनीतिलाई नै लिड गर्न सक्ने सन्देश पनि फिल्मले दिएको उनले खुलाए । ‘दोस्रो जनआन्दोलनपछि पहाड र मधेस, लिम्बूवान, थारुवानजस्ता राजनैतिक, सामाजिक विभाजनले निम्त्याएको व्यावहारिक र मनोवैज्ञानिक द्वन्द्वको चित्रण छ तर संघीयताविरोधी फिल्म होइन,’ फिल्मका निर्देशक पुर्णेन्दु झाले भने, ‘शक्तिका लागि हुने राजनीति र राजनतिले प्रेस, पुलिसलाई आफ्नो पक्षमा राख्दा अपराधले पाउने संरक्षण र पब्लिकको पीडालाई प्रस्तुत गरिएको छ ।’
राजनीतिबाट निराश जनतालाई आशा जगाउने गरी फिल्म बनेको निर्देशक झा बताउँछन् । नेपाली समाजको यथार्थलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको हुनाले हरेक दृश्यमा दर्शकले आफूलाई महसुस गर्ने उनको भनाइ थियो । फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, रमेशरञ्जन झा, मलिना जोशी, अशिष्मा नकर्मी, प्रमोद अग्रहरि, कामेश्वर चौरसिया, रमेश बुढाथोकी, कृष्ण सिंह, सुशान्त श्रेष्ठलगायत कलाकार छन् । फिल्मको कथा निर्देशक झा र रमेशरञ्जन झाले लेखेका हुन् ।

Leave A Comment