‘ओम पुरीसमेत मेरा फ्यान’

मङ्गलबार, २४ साउन २०७४, १२ : ४५ अनिल यादव , Kathmandu
‘ओम पुरीसमेत मेरा फ्यान’

हास्यव्यंग्य क्षेत्रमा चर्चित नाम हो– राजाराम पौड्याल । दुई दशकअघि महजोडीको ‘१५ गते’ सिरियलबाटै लोकप्रियता कमाएका राजाराम विभिन्न चलचित्रका हास्य चरित्रबाट चर्चामा आए । सात वर्ष अमेरिकामा बरालिए पनि नेपाल फर्किएलगत्तै टेलिभिजनको हास्य शृंखला ‘जिरे खुर्सानी’ले पुरानै ख्याति फर्काइदियो । उनले सिरियलमा बोल्ने थेगो ‘परेका म बेहोरौँला’ जनजिब्रोमा खुब झुण्डियो । हाल टेलिभिजनकै लागि हास्य शृंखला ‘ब्रेकफेल’मा उनी अभिनय गरिरहेका छन् । पहिलोपल्ट ‘हुर्रे’ फिल्मबाट प्रमुख भूमिकामा पनि देखिँदैछन् । उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानी :


‘गाईजात्रा’ कत्तिको लाग्दै छ ?
अस्तिसम्म लागेको थिएन । हुन्छ कि हुँदैन भनेर दोधारमा थिएँ । भर्खरै जितु नेपालले ‘स्क्रिप्ट लेख्नुप¥यो’ भनेर फोन ग¥यो । दिमागमा बल्लबल्ल एउटा प्लट आ’ छ । अब लेख्न बाँकी छ । अब २४ गतेबाट राम्रोसँग लाग्छ ।

हालसालै रिलिज भएको फिल्म ‘म यस्तो गीत गाउँछु’मा तपाईंले निर्वाह गरेको डाक्टरको भूमिकालाई धेरैले फिल्मको हाँसोको ‘एक्स्ट्रा डोज’का रुपमा लिए है ?
हो । धेरै दर्शकले त्यही भन्नुभयो । कतिले ‘नायक÷नायिकाबाहेक अर्को कोही पात्रको लागि त्यो फिल्म बनेको हो भने त्यो तिम्रो लागि हो’ सम्म भन्नुभयो । यसरी आफ्नो कामको प्रशंसा हुँदा खुसी लाग्छ । तर मैले जति भूमिकामा काम गरे पनि मेरो दिमागबाट ‘१५ गते’को छाप गएको छैन । २०४६ सालतिर महजोडीले बनाएको यो टेलिफिल्मका बारेमा नयाँ पुस्तालाई थाहा नहुन सक्छ तर यसअघिको पुस्तालाई राम्रोसँग थाहा छ ।  त्यतिबेला क्यासेटको जमाना थियो र सायद यो सिरियलको चक्का नभएको नेपाली नै हुँदैनथ्यो । अहिले त युट्युबमा हेर्न सकिन्छ । मलाई र किरण केसी दुवैलाई यो सिरियलले जन्माएको हो ।

तपाईंले नै नाम जुराइदिएको ‘मह जोडी’ नेपाली हास्यव्यंग्य क्षेत्रको उदाहरणीय जोडी बन्यो । किरण केसी र तपाईंको ‘किरा जोडी’चाँही किन चाँडै सेलाएको थियो ?
खासमा हामी दुई जनालाई ‘किरा जोडी’ भनेर पहिलोपल्ट सम्बोधन गरिएकोचाहिँ पोखरा जेसिजको एउटा कार्यक्रममा हो । हामी त्यतिबेला सँगै कार्यक्रम गथ्र्याैं । केही वर्ष किरा जोडी चल्यो त्यसपछि सेलाएकै हो । तर केही झगडा, मनमुटाव भएर होइन । त्यसपछि शिवहरि पौडेल र किरणजीको जोडी जम्यो । अहिले म उहाँहरुसँगै ‘ब्रेकफेल’मा काम गरिरहेको छु ।

नेपाली हास्यजोडीमा ‘टुटफुट ट्रेन्ड’ धेरै देखियो, यस्तो किन हुन्छ ?
हास्य क्षेत्रमा मात्र होइन यो टुटुफुट भन्ने कुरा हरेक क्षेत्रमा हुन्छ । मनोरञ्जन क्षेत्र अलि प्रचारमा आउने भएकाले चर्चा भएको मात्र हो । तर टुट्नु र फुट्नु राम्रो हुँदैहोइन । अरुलाई मिल्नुपर्छ भनेर सन्देश दिने हामी आफू भने फुट्ने ? फुट्नु छ भने कि जुट्नु ? त्यसैले हामी सचेत हुनुपर्छ ।

जतिबेला तपाईंको राम्रै चर्चा र व्यस्तता थियो त्यतिबेलै तपाईं अमेरिका जानुभयो । अहिले सम्झदा कस्तो लाग्छ ?
खासमा यो आर्ट लाइन हेर्नुभयो भने कता कता सुकुलगुण्डा लाइन जस्तो छ । बाहिर टाइसुट लगाएर हिड्ने, घरमा सुकुलमा सुत्ने ! बाहिर दर्शकले हेर्दा सधैँ रमाइलो । कहिले जंगलमा बसेर खाएका छौँ, कहिले पिकनिक गएका छौँ, कहिले के–कहिले के तर त्योभित्रको पीडा दर्शकले देख्दैन । अभिनयको पीडा पनि कसैलाई थाहा हुँदैन । ‘दक्षिणा’ फिल्ममा पाइन्टको गोजीभित्र  भाले (कुखुरा) हाल्दा मेरो तिघ्रा चिथोरेर कति घाउ भएको थियो, त्यो त मलाई मात्र थाहा छ । बाहिर त दर्शकले खुब इन्जोय गरे । यतिसम्म कि मलाई चिथोरेको कुरा क्यामेराम्यान र निर्देशकलाई सम्म थाहा दिइनँ । अब म अमेरिका किन गएँ भन्ने कुरा गरौँ । त्यतिबेला सशस्त्र द्वन्द्वले चरम रुप लिइरहेको थियो । देशमा बन्द÷हड्ताल बढ्दो थियो । दुइटा छोरा भइसकेका थिए । वर्षमा मुस्किलले स्टेज कार्यक्रम तय हुन्थ्यो त्यो पनि नेपाल बन्दले रोकिन्थ्यो । मेरो भाइ अमेरिकामा नासाको वैज्ञानिक थियो  । त्यसैले छोराहरुको भविष्यका लागि पनि दुई वर्ष अमेरिका जाने निधो गरेँ । दुई वर्षका लागि गएको मान्छे सात वर्षपछि फर्किनुप¥यो ।

किन नि सात वर्षसम्म ?
ग्रिनकार्ड बनाउने क्रममा वकिलको सामान्य त्रुटिले सात वर्षसम्म त्यतै बस्नुप¥यो । छोराहरुका लागि अमेरिका गएको थिएँ । छोराको पढाइ पनि सकियो तर यता कार्ड नमिलेपछि अस्ट्रेलिया ट्राई गर्छु भन्यो, भयो पनि । त्यसपछि त मनै म¥यो । जसका लागि कार्ड लिन खोजेको थिएँ, ऊ नै अस्ट्रेलिया जाने भएपछि म स्वदेश फर्किहालेँ ।

धेरै नेपालीको सपना आज पनि अमेरिका जाने छ । तपाईंलाई अमेरिका पुगेर के–के फाइदा भयो भनिदिनुस् न ?
मलाई त अमेरिका गएर घाटैघाटा भयो । यहाँबाट उडेको दिनदेखि नै लोधर लागेको फर्किने बेलासम्म दुःख पाएँ । उता गएर दुई लाख ९९ हजार डलरमा एउटा घर किनेको थिएँ । आर्थिक मन्दी सुरु भएर बैंक लिलामी राख्दा १ लाख डलरमा पनि घर बिक्री भएन । एकातिर यता मलाई कलाकारितामा ठूलो घाटा त भयो–भयो उता पनि फाइदा हुन सकेन । त्यसैले म अहिले बाहिर जान्छु भन्नेलाई घुम्न जानु, संसार चिन्न खोज्नु राम्रो हो भन्छु तर उता पुग्दा यहाँ आफूले सोचेजस्तो हुँदैन । मलाई त्यहाँ सात वर्ष घाटा हुँदा यहाँको १५ वर्ष भएजस्तो भयो । मलाई त्यहाँ कहिले स्वदेश फर्कौं जस्तो लाग्थ्यो । खासमा आफ्नो देश भनेको आफ्नै हो ।

त्यहाँ पुगेर तपाईंले के–के काम गर्नुभयो ?
अढाई वर्ष पिज्जा हटमा डेलिभरीको काम गरे । घर–घर, गल्ली–गल्लीमा पिज्जा पुर्याइन्थ्यो । ग्यास स्टेसनमा क्यासियरको काम पनि गरियो ।  

अमेरिकाबाट नेपाल फर्किनासाथ तपाईंलाई फेरि चर्चा कमाउन धेरै समय लागेन नि !
हो । खासमा म एकदमै लकी रै’छु । जितु नेपालले आउनासाथ ‘जिरे खुर्सानी’का लागि अफर गरिहाल्यो । सिरियलबाट म चाँडै नोटिस्ड पनि भइहालेँ ।

त्यतिबेला सिरियलमा तपाईंले बोल्ने ‘परेको म बेहोरौँला’ थेगो एकदमै हिट थियो । तपाईं थेगो नरुचाउने मान्छे तर थेगोले चिनायो भन्छन् नि ?
हो । सुरुमा जितुले यो थेगो बोल्नु भनेर दिँदा मैले ‘यो नगरौँ हो, मलाई मनपर्दैन’ भनेको थिएँ । मन नलागी बोलेको थिएँ । पछि त पूरै हिट भयो । यति साह्रो मान्छेको जिब्रोमा झुण्डिएला भनेर कल्पना पनि गरेको थिइनँ । त्यसपछि त आफैँले ठाउँ मिल्यो कि बोल्दिहाल्थँे, ‘परेको म बेहोरौँला’ ।

हास्यअभिनेता बन्छु अनि मान्छेलाई यसरी हसाउँछु भनेर तपाईंले कहिल्यै सोच्नुभएको थियो ?
कलाकारिता मेरो बच्चैदेखिको सोख थियो । ८ वर्षको उमेरदेखि नै रेडियो नेपालको कार्यक्रममा भाग लिन्थेँ । पहिलोपल्ट ०३७ सालमा मैले गाईजात्राको प्रहसन हेरेको थिएँ । त्यतिबेलाको गाईजात्रा प्रहसन एकदमै स्तरीय हुन्थ्यो । चार–पाँच पटक त सेन्सर नै हुन्थ्यो । प्रहसन हेर्नासाथ मेरो मनमा एक प्रकारको छाप परेको थियो । पछि गोरखापत्रमा गाईजात्राका लागि स्क्रिप्ट बुझाउने अन्तिम मिति भोलि भनेर एउटा सूचना आएको थाहा पाए । आँट गरौँ जस्तो भयो । पहिलोपल्ट हास्यव्यंग्य लेख्न बसेँ । मन्त्रीको क्वार्टरमा डेरा खोज्न गएको विषयमा स्क्रिप्ट बनाएँ । पास पनि भयो । संयोगवश मेरो नाटक ‘किङ सो’मा प¥यो । म आफैँले मन्त्रीको भूमिका गरेँ । यसरी मेरो हँसाउने यात्रा सुरु भएको थियो । गीत त म त्योभन्दा अघिदेखि नै गाउँथे । सुरुमा गायक बन्ने पनि सोच थियो, पछि घाँटीमा समस्या आएपछि गाउन छाडेँ ।

तपाईंले त भारतीय अभिनेता ओम पुरीसँग पनि काम गर्नुभयो है ?
हो । नेपालमा छायांकन भएको ‘सांग्रिला’ भन्ने हिन्दी सिरियलमा काम गर्ने मौका पाएँ । ओमजी मेरो फ्यान नै हुनुभएको थियो । ओमजी गाडीबाट ओर्लिएपछि उहाँ र म गफ गर्ने सिन थियो । साता पन्ना लामो संवाद थियो । त्यसका लागि साढे दुईदेखि तीन दिनको समय छुट्याइएको थियो । ४५ मिनेटमै सुटिङ प्याकअप भएपछि उहाँ चकित हुनुभएको थियो । तर खोई, किन हो त्यो सिरियल टिभीमा रिलिज भएन ।

तपाईंले पहिले र अहिलेको हास्यव्यंग्य गर्ने शैलीमा के परिवर्तन पाउनुभएको छ ?
धेरै परिवर्तन भएको छ । पहिला वास्तवमै हास्यव्यंग्य हुन्थ्यो । पञ्चायतको बेला थियो । सिधा बोल्न पाइँदैनथ्यो । घुमाएर व्यंग्य गर्नुपथ्र्यो । त्यसैले हास्यव्यंग्य एकदमै कलात्मक हुन्थ्यो । अहिले त ठ्यामठ्याम गोली हानेजस्तो गरी नामै लिएर व्यंग्य गर्छन् । चाहिनेभन्दा बढी भयो स्वतन्त्रता ।

हसाउनु निःसन्देह स्वास्थ्यका लागि फाइदाजनक छ तर यहाँ हँसाउने बहानामा विभिन्न समुदाय, जात, लिंग र कमजोर मान्छेहरुको खुब मजाक उडाइन्छ । यसलाई समीक्षकहरु हास्यव्यंग्यको हिंसा भन्छन्, तपाईं के भन्नुहुन्छ ?
हँसाउने बहानामा कुनै पनि समुदाय, जात, लिंगलाई होच्याउन पाइँदैन । म त यसलाई हास्यव्यंग्य भन्दा पनि गालीगलौज भन्छु । यति मात्रै होइन यहाँ त हँसाउने बहानामा छाडापन पनि बढेको छ । दर्शकहरु मरिमरि हाँस्छन् भने सस्तो र भद्दा हास्यव्यंग्य पनि तयार गरिन्छ । हास्यअभिनेताको काम हँसाउने मात्रै होइन, समाजलाई उत्तरदायी बनाउने पनि हो । गलत मान्छे र गलत प्रवृत्तिमाथि व्यंग्य गर्ने हो, अरुको मजाक उडाउने होइन ।

विश्वका थुप्रै चर्चित कलाकारहरु हँसाउनुलाई एकदमै गाह्रो काम भन्छन् नि ?
हो । रुवाउन त सजिलो छ नि, मान्छेलाई चिमोटिदो भने पनि रोइहाल्छ तर हसाउन सजिलो छैन । हाँस्नु औषधि पनि हो । त्यसैले त मान्छेहरु लाफ्टर थेरापी जाने गर्छन् ।

हँसाउने टेक्निक हुन्छ ? हुन्छ भने स्टेजमा पुग्नुअघि विषयवस्तुको छनोट र टेक्निक छनोट कसरी गर्नुहुन्छ ?
सबैभन्दा गाह्रो भनेकै विषयवस्तुको छनोट हो । कहाँनेर के गर्दा, कसरी भन्दा मान्छे हाँस्छ भन्ने कुरा कल्पना गर्छु । फिल्म, नाटक गर्दा पनि संवादमा बाँधिन चाहन्नँ । थिम बुझेर अभिनय गर्छु । मलाई त डायलग मुखले मात्र होइन, आँखाले पनि बोल्नुपर्छ भन्ने लाग्छ ।

Leave A Comment