प्रचण्डपथको खरो व्याख्या

सोमबार, २३ साउन २०७४, ०९ : ४० शुक्रवार , Kathmandu
प्रचण्डपथको खरो व्याख्या

– केदार आचार्य
राजनीतिको आवश्यक तत्वः दीर्घसोच हो । लघुसोचका पारखीेहरु राजनीति गर्न सुुरिएर जान्छन् अनि निहुरमुन्टी ‘न’ को पारामा ‘पुनर्मुसीको भवः’ हुन्छन् । त्यसपछि उनीहरु फ्याउराले अङ्गुरको झुप्पोतिर झम्टिँदा टिप्न नसकेपछि ‘यस्तो अमिलो अङ्गुर नि कसैले खान्छ’ भन्दै बाटो लागेजस्तै गरी राजनीतिलाई गाली गर्न थाल्छन् ।
अहिले यस्तो रोग पेरिसडाँडामा छ । पार्टीको नाम– एनेकपा (माओवादी केन्द्र), अनि त्यसको सदस्यता लिने सबै केन्द्रीय सदस्य । जनताको बीचमा जाँदा मुस्किलले तेस्रो ठूलो दल ! अँ त, एउटा कुरा स्मरणीय छ– ‘माओवादी’ को विशेषता चाहिँ ‘काओवादी’, ‘खाओवादी’ देखि शनैःशनैः ...‘ज्ञाओवादी’ सम्म जहाँ मिलाए पनि त्यसको अर्थ मिल्छ है ? नपात्याए ट्राइ मार्नुस् त !
त्यस पार्टीमा फेरि सदावहार अध्यक्ष हुनुहुन्छः कमरेड प्रचण्ड ! हो, यतिबेला त्यहाँ शान्तिप्रक्रियापछि हालसम्म हिँड्दै आएको पथलाई डोजरै लगाएर भत्काइ पुरानै प्रचण्डपथलाई सखारेर हिँड्नुपर्छ र हँसिया–हतौडालाई खुम्च्याउनुपर्छ भन्ने मत वलशाली भएर उभिएको छ ।
जब त्यहाँ ‘प्रचण्डपथ’ को नारा वलशाली भएको समाचार सञ्चारमाध्यममा छरियो । त्यसपछि म यी दुई शब्दको संयोजनपछि बनेको संयुक्तवाक्यको अर्थ खोज्न आतुर भएँ । मसँग पूर्वराजकीय प्रज्ञा प्रतिष्ठान र अहिले प्रज्ञा प्रतिष्ठानको ‘नेपाली वृहत् शब्दकोश’ छ । जो २०५८ मा पुनुर्मुद्रित, संशोधित र परिवर्तित हो ! विडम्बना ! त्यसमा ‘प्रचण्डपथ’ लाई संयुक्त वाक्य बनाइएको छैन । त्यो अन्याय किन...? तत्कालीन समयमा माओवादी प्रचण्डपथमा त थियो तर भूमिगत । ऊ शान्तिमा आइसकेपछि माओवादी पार्टीकै सदस्यताधारीहरुको एउटा जमात ‘प्राज्ञ’ को पगरी गुथेर त्यता जागिरे छ । त्यो दस्ताले प्रचण्डपथको संयुक्त वाक्य बनाएर शब्दकोश अझै पुनर्मुद्रित गरेको छ कि...? त्यतापट्टिचाहिँ मेरो चक्षु परेको छैन । पुरानो मुद्रणमा प्रचण्डको अर्थः ज्यादै चर्को स्वाभावको, ज्यादै मापाको, ज्यादै खरो...भनेर लेखिएको छ । यो देखेपछि मेरो दिमाग फेरि रिङ्गाइरहेको छ, होइन, शब्दकोश हेरेर अध्यक्षको नाम राखिएको हो कि, प्रचण्डका क्रियाकलाप देखेपछि शब्दकोशमा ‘प्रचण्ड’ शब्द राखिएको हो...? यसको उत्तरै मिलाउन सकिएन ।
अनि अर्को कुरा, ‘पथ’ द्वैतार्थ शब्द हो । पहिलोले अर्थ दिन्छ– रोगी वा पेट कमजोर भएका मानिसले खान लायकको वस्तु । अर्कोले भन्छ– बाटो, मार्ग, कार्यपद्धति, कार्यप्रणाली । यो दुईअर्थ भेटेपछि म झन् सोचनीय बनेको छु । एनेकपा (माओवादी) यतिबेला राजनीतिमा त्यसै पनि कमजोर छ । उसलाई जनताले नै कमजोर बनाइदिएका छन्, त्यसै हुनाले उसले पहिलो नम्बरको वस्तु ज्युनार गर्न खोजेको हो कि... ? कि प्रचण्डपथमै हिँड्न खोजेको हो ? जनताले उसलाई कमजोर बनाइदिएकाले उसले पहिलो पथ अपनाएको हो भने त स्वागतयोग्य नै हो, तर उसले दोस्रो पथमा हिँड्न खोजेको हो भने त त्यो गम्भीर भएन र ?
शहरिया होइन, म गाउँले कुरा गर्दैछु, वर्षामास, खोलो सुसाइरहेको थियो । मध्यरातमा देउरालीमा  चर्को स्वर गुन्जियो– ‘प्रचण्डपथ–जिन्दावाद !’  त्यसपछि जिन्सको पाइन्ट लगाएर स्कुल गएका छात्रा बाटैबाट फर्काइए, प्रचण्डपथले नेपाली छात्रालाई जिन्सको पाइन्ट होइन, फ्रक वा कुर्तामा स्कुल जान भन्यो । तास खेल्ने युवालाई तासै खुवायो । जाँड खानेको घ्याम्पो फुटाइदियो, नाफाखोर, सुदखोरहरुको हातखुट्टै भाँचिदियो ।
जब ऊ खुला राजनीतिमा आयो, तब उसले सहिदको घर जाने पथ भुल्यो र दलाली पथतिर लम्कियो । त्यहाँ उसले डेढ लाखको पलङ देख्यो, ५० लाखको घडी ! हँ भाइ राजनीति गरेको जोगी हुनलाई हो र ? यस्ता जिनिसको भोगी हुनलाई पो हो त ! श्रीमती धेरै ल्याउनेलाई मात्र होइन, महिलामाथि हेर्दा पनि कारबाही गर्ने पथ आफ्नै घरमा वधु भित्र्याउने–घोक्र्याउने खेलमा लिप्त बन्यो । पैसो, सुरा, सुन्दरी सबैको भोग त्यहाँ मनग्गे भो । गाउँबाट शहर घेर्ने भन्थ्यो, शहरबाट गाउँ हेर्ने भयो ! जुट्ने कुरा गथ्र्यो फुट्नमा माहिर भयो । यी आदि कारणले प्रचण्डपथ कमजोर बन्दै गयो तर प्रचण्ड झन् वलशाली बन्नुभयो । अहिले उहाँ वर्तमान प्रधानमन्त्रीलाई हँसाउन, नचाउन सक्नुहुन्छ । प्रतिपक्षी नेता ओलीको बोली मात्रै गोली जस्तो हो उहाँ ताकेरै हान्न जान्नुहुन्न । तर प्रचण्ड अलराउन्ड हुनुहुन्छ । एकताका उहाँ पेरिसडाँडामा पार्टी प्रवेशीलाई राता टीका लगाएर नभ्याउने भएपछि अबिर छर्कनुहुुन्थ्यो, निर्वाचनमा जमानतै जफत ! उहाँको त्यही क्षमता खस्कने हो कि भन्ने लागेर पो एनेकपा (माओवादी केन्द्र) का सदस्यले माओवाद बिउँताउन खोजेका हुन् कि ! त्यसो हुँदा यो लेखनदासको (माओवादी–केन्द्र) का केन्द्रीय सदस्यहरुलाई सुझाव छ– अहिले प्रचण्ड निवासमा जाने–आउने पथको नाम प्रचण्डपथ राखौं न कमरेड हेरिचाइन्जोहो !

 

Leave A Comment