तीज गीतको लहर

आइतबार, २२ साउन २०७४, १२ : ४७ मनोज घर्तीमगर , Kathmandu
तीज गीतको लहर

नेपाली महिलाको सबैभन्दा ठूलो चाड तीज आउन एक महिनाभन्दा बढी समय बाँकी छ तर पोखरेली गायकगायिकालाई तीजको रन्कोले छोइसकेको छ । तीजमा रमझम गर्ने महिला यतिबेला आ–आफ्नै योजनामा छन् । चेलीहरुलाई छमछमी नचाउन गायिकाहरुले आफ्नै तयारी गरिरहेका छन्, विभिन्न भाकामा गीति एल्बम निकालेर । उनीहरु यतिबेला कोही तीजका गीत रेकर्ड गराउन व्यस्त छन् त कोही म्युजिक भिडियो बनाउन । कोही आफ्नो गीतको प्रचारमा लागेका छन् भने कोही तीनै गीतमा मोडल बनेर छमछमी नाचिरहेका छन् । जो जुन काममा व्यस्त भए पनि सबैले तीजमा छमछमी नचाउने सुर कसेका छन् ।

लोकदोहोरी भाकामा गाइएका गीतहरुले यतिबेला सांगीतिक बजार तताएर तीजमय बनाएका छन् । म्युजिक कम्पनी, गायक÷गायिका र संगीतकारलाई तीजे गीत रेकर्डिङ गर्दैमा फुर्सद छैन । पोखराका फेवाताल, केदारेश्वर मन्दिर, विन्ध्यावासिनी मन्दिर, यहाँका चौतारो, बाटोघाटोमा तीजसम्बन्धी म्युजिक भिडियो छायाङ्कन भइरहेको दृश्य देखिन्छ यतिबेला । लोक गायिका तथा प्राज्ञ हरिदेवी कोइरालाले यस पटकको तीजमा चार वटा गीत ल्याउँदैछिन् । पुराना र मौलिक तीज गीतलाई संरक्षण गर्दै केही रिमेक गीत तयार गरेको उनले सुनाइन् । पछिल्लो समय तीजका गीत नै हैनन् जस्तो लाग्ने गीतको बाढी आइरहेका बेला उनले ‘असली तीजका गीत’ बजारमा ल्याउन लागेको दाबी गरिन् । यस पटक तीजको कोसेलीका रुपमा ‘वर्ष दिनको तीजमा’, ‘मेरो राजै’, ‘कहाँ जान्छ्यौ रानीचरी’ र ‘चल्ती आएको’ बोलका गीत छन् । २०४५ सालदेखि तीजे गीत निरन्तर निकाल्दै आएकी कोइरालाले थुप्रै फुटकर गीतहरु समेटिएको संगालो ‘हम्क्याइलो साथमा लालीजोवन कालीले लग्यो सलल’ भिसिडी पनि छन् । हरिदेवीको स्वर, शब्द, लय रहेको तीजका झन्डै ३० वडा भिसिडी छन् ।

निकै पुरानी र चर्चित गायिका हरिदेवीले यसबाहेक पछिल्लो पुस्ताले बिर्सदै गएको त कतिले सुन्दै नसुनेको हम्क्याइलो (एक वर्षभरिका घरको दुःख गीति भाकामा भट्याउने) गीत पनि दुई वर्ष अघि श्रोतामाझ पस्किएकी थिइन् । ‘अहिलेका तीजका गीतमा मौलिक भाका नै छैन । तीजका गीत हैन, दोहोरी भने पनि हुन्छ,’ हरिदेवी भन्छिन्, ‘अहिलेका तीजे गीत रत्यौलीजस्ता छन् । रातो सारी निकालिदिने हो भने भाका, विषयवस्तु, नृत्य कुनै पनि तीजसँग मेल खाने खालका छैनन् । त्यस कारण मैले भिसिडी बजारमा ल्याएको हुँ ।’ उनले तीजे संस्कृतिलाई छोडेर गीतमा पनि बढी व्यवसाय हुन, कलाकारले अस्वस्थ प्रतिस्पर्धा गर्नुले तीजको मौलिक विशेषतालाई ती गीतले समेट्न नसकेको दाबी गरिन् ।

गायक रामजी पौडेलले यो तीजे सिजनमा आठ वटा गीत संकलन गरे । उनले ‘पानको दोकानमा, मान्छे राम्रो बानी नराम्रो र जिते चुनाव’मा गीतमा आफैँले स्वर भरेका छन् भने बाँकी पाँचमा शब्द, लय सिर्जना गरेका छन् । सात वर्षदेखि तीज गीत निकाल्न थालेका गायक केशव घिमिरेले यस पटक ‘वचन नलाउ है...’ बोलको मार्मिक तीज गीत निकालको छन् । तीजमा मौलिकलाई मर्न दिन नहुने भन्दै घरकै कथालाई गीतमा समावेश गरेको उनले बताए । घिमिरेका यसअघि थुप्रै गीत आएका छन् । गायक तथा सञ्चारकर्मी कृष्ण सुवेदीले यो तीजमा दुई वटा गीत बजारमा ल्याएका छन् । उनले तीजमा आएको विकृतिलाई व्यङ्ग गर्दै गीत तयार गरेका छन् । उनले  ‘बोतल ठडाउने र ए मेरी पुतली’ नामक दुई तीजका भाका बजारमा ल्याएका छन् ।

हरके वर्षझैँ यो वर्ष पनि गायिका ज्योति लोहनीले दुई वटा डान्सिङ बिटका गीत निकालेकी छिन् । हरेक वर्ष तीजे गीत निकाल्ने चटारोले भ्याइनभ्याई बनाउँछ उनलाई । यस वर्ष पनि उनले ‘जापनीज साडी–२ र डिम्पलवाली’ गीतको म्यूजिक भिडियोसहित बजारमा ल्याइन् । पाँच वर्षदेख भिडियोसहितका तीजे गीत निकाल्न थालेकी उनका गीत छमछमछी नाच्ने खालका हुन्छन् । ‘म हरेक वर्ष तीजका बेला गीत गाउन व्यस्त हुन्छु, यसपटक आफ्नै एल्बम र अरुका केही तीज गीतमा व्यस्त छु,’ लोहनी भन्छिन् ।

साहित्यकार तथा लोकगायिका अम्बिका भण्डारी र चन्द्रावती वाग्लेको संयुक्त प्रस्तुति ‘माइती देशै झलल’को भिडियो भर्खर बजारमा आयो । एक दसकदेखि साहित्य, संगीतको क्षेत्रमा लागेकी लोकगायिका अम्बिका भण्डारीले २०७० सालदेखि निरन्तर नेपाली लोकलयमा आधारित तीजे भाका बजारमा ल्याउँदै आएकी छन् । ‘यसपालिको तीजमा दिदीबहिनीले राम्रैसँग नचाउँछन्, उनीहरुलाई गीत बनाउन भ्याईनभ्याई छ । मैले मात्रै ५५ वटा गीत रेकर्ड गराएँ,’ पोखराको सृजनाचोकस्थित स्टार डिजिटल रेकर्डिङ स्टुडियो प्रालि सञ्चालन गरेका सर्जक तारानाथ आचार्य भन्छन् ।

पोखरामा तीज गीत बन्ने लहर चलेपछि गायक÷गायिका मोडल त व्यस्त हुने नै भए, निर्देशक अनि म्युजिक भिडियो मेकरलाई पनि भ्याईनभ्याई छ । पोखराका सफल फिल्मस् प्रालि सञ्चालन गरिरहेका चर्चित म्युजिक भिडियो निर्देशक शिव भुर्तेलले यस सिजनमा मात्रै २४ वटा तीजे म्युजिक भिडियो बनाए । ‘दौडधुपको त कुरै छाडौं, यति बिजी भइयो कि सबैलाई एकैपटक गर्नुपर्ने,’ निर्देशन र सम्पादन समेत आफैँ गर्ने भुर्तेल भन्छन्, ‘बल्ल अहिले आएर तीजे म्युजिक भिडयोलाई यस सिजनमा बिट मारियो ।’

 

 

Leave A Comment