‘मलाई बादशाहभन्दा पनि रोमान्स किङ भनेको रुचाउँछु’

आइतबार, २२ साउन २०७४, १२ : ३४ शुक्रवार , Kathmandu
‘मलाई बादशाहभन्दा पनि रोमान्स किङ भनेको रुचाउँछु’

बलिउडका बादशाह भनेर चिनिने शाहरुख खान संसारभरि फ्यान फलोइङ भएका सुपरस्टार हुन् । कुनैबेला रोमान्स किङसमेत कहलिएका खानका पछिल्ला फिल्मले बक्स अफिसमा राम्रो गर्न सकेनन् । पछिल्लो समय ‘दिलवाले’, ‘फ्यान’ र ‘रइस’मा देखिएका थिए । केहीअघि उनी ‘डियर जिन्दगी’, ‘यह दिल हे मुस्किल’ र ‘ट्युबलाइट’मा पनि क्यामियोका रुपमा झुल्किएका थिए । यही शुक्रबारदेखि उनको नयाँ फिल्म ‘जब ह्यारी मेट सेजल’ आउँदैछ । शाहरुख मात्र नभएर उनका प्रशंसकहरुलाई समेत यो फिल्म नौलो स्वादको हुने दाबी गरिँदैछ । यसको कारण छ– उनी पहिलोपटक फरक धारका फिल्म बनाउने इम्तियाज अलिसँग काम गर्दैछन् । यसै सन्दर्भमा उनीसँग एक भारतीय मिडियासँग उनले खुलेर कुराकानी गरेः  
‘जब ह्यारी मेट सेजल’ किन फरक छ ? यो फिल्मको के कुराले तपाईंलाई आकर्षित गर्यो ?
‘चक दे इन्डिया’ वा ‘दंगल’को जस्तो यो फिल्मको सन्देशले मलाई तानेको हैन । यो सरल र मिठो प्रेम कहानी हो । मलाई लाग्छ, यो फिल्म हामीले सुन्न र हेर्नै चाहने अन्यजस्तै सामान्य तरिकाको प्रेम कथा हो । इम्तियाज अलि बेग्लै तरिकाको सोच र लेखनी भएका मान्छे हुन् । प्रेमलाई आफ्नै ढंगले प्रस्तुत गर्न उनी माहिर छन् ।
तपाईंलाई त रोमान्स किङको पगरी गुथाइएको छ । यसबारे के छ तपाईंको विचार ?
म आफूलाई त्यस्तो त सोच्दिनँ । मलाई थाहा छ म भर्सटाइल छु । जब म यशराज स्टुडियोमा करण जोहर र यशजीसँग बस्थेँ, उनीहरु मलाई धेरैभन्दा धेरै प्रेमकथाका फिल्म खेल्न सुझाउँथे । मैले आजसम्म चार पाँच वटा मात्र प्रेमकथामा काम गरेँ । समयक्रममा मलाई प्रेम कथाले तान्न छाडे । पक्कै पनि प्रेम कथाका फिल्म हिट हुन्छन् । आइकोनिक हलिउड फिल्म ‘रोमन होलिडे’ र ‘कसाब्लान्का’ यसका उदाहरण हुन् । दर्शकहरु यी फिल्मलाई जीवनभर सम्झन्छन् । मलाई रोमान्स किङको टाइटल दिँदा मलाई आपत्ति छैन । म यसलाई सहजै ग्रहण गर्छु । नकारात्मक भूमिकाका लागि बादशाहको टाइटलभन्दा पनि रोमान्स किङ भनेको मलाई औधि मनपर्छ । यत्ति भनिसकेपछि, लामो समयको अन्तरालपछि म प्रेम कथामा आउँदैछु । हेरौँ, फिल्मले कस्तो प्रतिक्रिया पाउँछ । म लामो समयदेखि असल मानिस र अभिनेताका रुपमा परिचित छु र यो कुरा मेरो फिल्ममा पनि प्रतिविम्वित हुनुपर्छ ।
स्टारडमले तपाईंको व्यक्तिगत जीवनमा कत्तिको परिवर्तन भएको छ ?
म साह्रै एकान्तप्रिय छु । मेरो यो कुरा मेरी श्रीमती, छोराछोरी र बहिनीहरुको सन्दर्भमा पनि लागू हुन्छ । म घरमा एक्लै हुँदा सधैँ काखमा ल्यापटप लिएर बस्छु । मेरा धेरै सोख छैनन् तर पनि स्टारडमले मेरो व्यक्तिगत जीवनमा खासै परिवर्तन ल्याएको छैन । मानिसहरु मलाई देखेर, सम्झेर रमाउँछन् । उनीहरुले मलाई स्टारका रुपमा हेर्छन् । मेरो आफ्नै व्यवसाय छ । यत्ति हुँदाहुँदै पनि मेरो व्यक्तिगत जीवन जस्ताको तस्तै छ ।
तपाईं आफूले कमाएको नाम र दाम बापत समाजलाई केही दिन चाहनुहुन्छ ?
म यसबारे अहिले नै खुलाउन चाहन्नँ । मैले आजसम्म धेरै केही गर्न सकेको पनि छैन तर पनि म मेरा कामहरु सामान्यभन्दा सामान्य तरिकाले गर्दै आएको छु । महिलाहरुका लागि शौचालयको निर्माण गर्ने मेरो सोच छ । म महिलाहरुलाई सम्मान गर्छु र उनीहरुको हितका लागि काम पनि गर्दै आएको छु । म एसिड हमलाको सिकार भएका महिलाहरुलाई काम दिलाउन चाहन्छु । म सधैँ प्रार्थना गर्छु, मेरो व्यवसाय बढ्दै गयो भने म उनीहरुलाई सोचेजस्तो हिसाबले सहयोग गर्न सक्नेछु । मेरो सानो सहयोगले उनीहरु आत्मनिर्भर होऊन् । मेरो काममा म छोरीलाई पनि संलग्न गराउन चाहन्छु । उनी मेरो काममा संलग्न भइन् भने उनी यसलाई आफ्नो जीवनमा पनि साथै लिएर अघि बढ्नेछिन् ।
तपाईंले अचेल आफ्ना सन्तानलाई ‘महाभारत’ पढेर सुनाउनु हुन्छ रे भन्ने सुन्नमा आएको छ ? यसमा रहेका पात्रमध्ये तपाईंलाई मनपर्ने कुन हो ?
म महाभारतको कथामाथि एउटा प्रोजेक्ट गर्ने सोचमा छु तर त्यो निकै जटिल छ । म मेरा बालबच्चालाई पढाउन पाउँदा रमाउँछु । मलाई यसमा भएका सबैजसो पात्रहरु मनपर्छन् र मैले पाएअनुसार यसमा रहेका सबै कुरा चाखलाग्दा छन् । यसको सुरुवात नै चित्ताकर्षक छ । नलुकाई भन्ने हो भने महाभारत बुझ्न निकै कठिन छ । धेरै पात्रहरु हुनाले पनि त्यस्तो भएको हो भन्ने मलाई लाग्छ । मैले पढाउने किताबमा एउटा रुख छ, जसले पात्रहरुको बारेमा जानकारी दिन्छ । म यसमा भएजस्तो हिसाबले पटकथा त लेख्न सक्दिनँ । त्यसका लागि विज्ञकै सहारा लिनुपर्छ । यसमै धेरै भिएफएक्स मिसाएमा राम्रो फिल्म बन्न सक्छ । मेरा बालबच्चाहरुलाई अहिले यसका सम्पूर्ण कथा थाहा भइसक्यो । अचेल म अब्राम (कान्छो छोरा)लाई पढाउने गरेको छु । आर्यन र सुहाना त यही कथा पढेरै ठूला भइसके ।
तपाईंले अब्रामका लागि निक्कै खेलौना किनदिनुहुन्छ रे ?
हो । म उसलाई निक्कै खेलौना किनिदिन्छु । उसलाई धेरै खेलौना किनिदिएको भनेर गौरीसँग बेला–बेला ठाकठुक पर्छ । अचेल त हामीले नियम नै बनाएर उसलाई दैनिक रुपमा एक–एक वटा खेलौना दिन्छौं । एउटा खेलौना खेल्दाखैल्दै अल्छी मान्यो भने म उसलाई अर्को खेलौना दिन्छु ।
अन्त्यमा, तपाईंलाई खेल्न मन लागेको कुनै ऐतिहासिक पात्र छ ?
मैले यसबारेमा सोचिसकेको त छैन । मलाई कुनै मेकरले त्यस्तो अफर गरेका पनि छैनन् । निकै पहिले आशुतोष गोवारिकरले मलाई ‘स्वेदश’ गर्नुअघि नै ‘जोधा–अकबर’का लागि अफर गरेका थिए । हेरौँ, जिन्दगीको सन्दुकमा मेरो भविष्यलाई भनेर केही संग्रह गरिएको पो छ कि !

 

Leave A Comment