सडकमै काम गरेर धानेको जीवन

शनिबार, २१ साउन २०७४, १२ : १८ अमर खड्का
सडकमै काम गरेर धानेको जीवन

इटहरी वडा नं. ४ की पूर्णिमा चौधरीको उमेर ७५ बर्ष बितिसक्यो । उनले सडकमै केरा व्यापार गरेको पनि ३५ बर्ष नाघिसक्यो । छोराछोरी सानै छँदा लोग्ने बिते । छोराछोरी पाल्ने जिम्मेवारी उनको काँधमा आयो । विवाह गरेर उनलाई सुनसरीकै चाँदवेला दिइएको थियो । घरमा न सासुससुरा न त लोग्ने । सहारा दिने कोही नभएवपछि माइती घर इटहरीमै फर्किन् ।
माइती घर फर्किएपछि के गरौँ, कसो गरौँ भयो उनलाई । गरिखाने एउटा उपाय सोचिन्, उनले । सडक छेउमा सानो खाट राखेर केरा बिक्री गर्ने ठानिन् । त्यही काम गरेर उनले इटहरी वडा नं. ४ मा जग्गा जोडिन् र तीन कोठे पक्की घरसमेत बनाइन् । छोराले सिटी सफारी चलाएर घर खर्च टार्छन् । तर पनि काम नगरी घरमा बस्दा उनलाई पट्यार लाग्छ । हरेक दिन बिहान सात बजेदेखि साँझसम्म इटहरी प्रहरी कार्यालयअगाडि हटिया लाइनमा केरा बिक्री गर्न बस्छिन् । उनलाई चाडपर्वको बेला भ्याईनभ्याई हुने गर्छ । ‘चाडपर्वको बेला त असाध्ये पैसा हुने गर्छ,’ उनले अनुहारमा चमक ल्याउँदै भनिन्, ‘अरु बेला चाहिँ ठीकठीकै हुन्छ । मैले कमाएकै पैसा नातिनातिनालाई पढ्ने खर्च जुटिरहेको छ ।’ उनका चार जना नातिनातिना छन् । सबै जना बोर्डिङ पढ्ने गरेको उनी सुनाउँछिन् ।
‘घरमा त्यत्तिकै बस्नै सक्दिनँ,’ उनले भनिन्, ‘बरु केरा बिक्री गर्दा थुप्रै मान्छे आउँछन् । उनीहरुसँग बोलचाल गर्दा दिन गएको पत्तै हुँदैन । कमाई पनि राम्रै हुन्छ । म त्यसैमा खुसी छु ।’ उनले केरा खेती गर्ने किसानसँग सम्पर्क गरेर केरा ल्याई बिक्री गर्ने गर्छिन् । पछिल्लो समय सुनसरी–मोरङमा केरा खेती गर्ने क्रम बढ्दो छ । त्यसैले पनि उनलाई बिक्रीका लागि केराको कुनै समस्या छैन ।
यसैगरी इटहरीकै शिव परियारले सडक छेउमा लुगा सिलाउने काम गरेको २४ वर्ष भइसक्यो । उनले सडक छेउमा लुगा सिलाउँदा सिजनको बेला तीन हजारसम्म कमाउँछन् । अरु बेला उनको न्यूनतम पाँच सयसम्म कमाइ हुन्छ । उनकी श्रीमती नीरा सडक छेउमै किराना र छोरा शिल्प पनि सिलाइको काम गर्छन् ।
श्रीमती र छोराको पनि दैनिक कम्तीमा पाँच सय कमाइ हुन्छ । श्रीमती नीरा र छोरा शिल्प बाबु छेउछाउ नै काम गर्ने गर्छन् । ‘घरपरिवारका तीन जनाले दैनिक एक हजार वचत गर्ने गर्छौं,’ शिवले भने । उनका अनुसार, तीन छोरामध्ये जेठो विदेशमा छन् भने माइलो पनि जाने तयारीमा छन् । शिवसँगै श्रीमती र कान्छो छोराले सडकछेउमै काम गरेर इटहरी वडा नं. ४ मा एउटा घरसमेत बनाइसकेका छन् । ‘२०५१ सालमा पहाडबाट इटहरी झर्दा केही थिएन, अहिले घर पनि बनाइसक्यौँ, खानालाउन कुनै समस्या छैन,’ उनले भने । शिव सडक छेउमै काम गरेर आर्थिक रुपमा सवल भएका छन् ।
उनको सामाजिक इज्जत र छवि पनि राम्रो बनाएका छन् । उनकी पत्नी गएको असार १४ गतेको स्थानीय निकाय निर्वाचनमा वडा नं. ४ बाट दलित महिला सदस्यमा उम्मेदवारसमेत बनिन् । एक हजार १७० मत ल्याए पनि विजयी हुन भने सकिनन् । त्यसमा उनलाई कुनै पछुतो छैन । ‘चुनावमा हारजित हुनु स्वाभाविक हो,’ नीराले भनिन्, ‘निरन्तर हिँड्ने मान्छे एक दिन गन्तव्यमा पुग्छ । चुनावमा सम्मानजनक मत ल्याएँ । यसमा खुसी छु ।’
यसैगरी सप्तरीबाट इटहरी आएर १७ वर्षदेखि ६० वर्षीया अनिता चौधरी भूइँकटहर बिक्री गर्दैआएकी छन् । सप्तरी ग्रामीण क्षेत्र भएकाले गर्दा छोराछोरीलाई बजारमा ल्याउने सोचले भूइँकटहर बिक्री गर्ने गरेकोमा अहिलेसम्म पनि त्यही काम गर्दैआएको बताइन् । उनले भुइँकटहर भने भारतबाट ल्याउने गरेकी छन् । ‘एउटा भुइँकटहर बिक्री गर्दा ३० रुपैयाँसम्म कमाइ हुन्छ,’ उनले भनिन् । उनले भुइँकटहर काटेर प्लेटमा बिक्री गर्ने गर्छिन् । यसो गर्दा बढी नै फाइदा हुन्छ । उनका भुइँकटहर बिक्री गरेकै आम्दानीले चार छोरीको विवाह गरिसकेकी छन् ।
उनका दुई वटा छोरा भने सडक छेउमै आइसक्रिम बिक्री गर्ने गर्छन् । ‘छोराहरुको पनि कमाइ राम्रो छ,’ उनले भनिन् ।

 

 

Leave A Comment