जापान जाँदै २४ खेलाडी

शनिबार, २१ साउन २०७४, १२ : १० शुक्रवार , Kathmandu
जापान जाँदै २४ खेलाडी

अखिल नेपाल फुटबल संघ (एन्फा)ले अर्को साताबाट हुने जापान भ्रमणका लागि २४ खेलाडीको नाम सार्वजनिक गरेको छ ।
साउन २७ गते जापान जाने नेपालले त्यहाँ ५ वटा मैत्रीपूर्ण खेल खेल्नेछ । मंगलबार सार्वजनिक गरिएको सूचीमा यमनविरुद्ध खेल्ने चार जना खेलाडी परिवर्तन गरिएको छ । गोलकिपर किरणकुमार लिम्बु, रक्षक आदित्य चौधरी र मिडफिल्डर रोहित चन्द जापान भ्रमणमा हुने छैनन् । किरणको स्थान विशाल श्रेष्ठले लिनेछन् । फिलिपिन्सविरुद्ध रातो कार्डको सामना गरेपछि यमनविरुद्धको खेल गुमाएका विक्रम लामालाई टोलीमा बोलाइएको छ । आदित्यको स्थान विमल बस्नेतले लिएका छन्  । रोहितको स्थान विक्रम लामाले लिनेछन् भने सुमन लामाले पनि टोलीमा आफ्नो स्थान बनाउन सफल भएका छन् । किरण माल्दिभ्स र रोहित इन्डोनेसियाली क्लबमा अनुबन्धित भएका छन् । आदित्य घाइते छन् ।  
नेपालले साउन २९ गते गाब्बा ओसाका यु–२३ विरुद्ध खेल्नेछ । ख्वानसेइ गाकुइन युनिभर्सिटीविरुद्ध साउन ३२ गते खेल्ने नेपालले भदौ १ गते एमिती स्पोर्ट्स क्लबविरुद्ध खेल्नेछ । नेपालले भदौ २ गते हनान युनिभर्सिटीसँग प्रतिस्पर्धा गर्नेछ । अन्तिम खेल भदौ ३ गते भिसेल कोबेको यु–१८ टोलीविरुद्ध खेल्नेछ । त्यसबाहेक नेपालले जापानको घरेलु लिग जे–लिगको एक खेल हेर्नेछ ।
मुख्य प्रशिक्षक ग्योटोकु कोजी रहेको टोलीमा ३ गोलकिपर, ९ रक्षक, ७ मिडफिल्डर र ५ फरवार्ड रहेका छन् । मुख्य प्रशिक्षक कोजीलाई राजुकाजी शाक्य र उज्ज्वल मानन्धरले सघाउने छन् । टोली व्यवस्थापक विराटजंग शाही, डाक्टर राजु डंगोल र दोभासे रोशन तुलाधर पनि टोलीमा समावेश छन् ।
जापानको परराष्ट्र मन्त्रालय तथा जापान फुटबल संघको निम्तो पाएको नेपालले १० दिने जापान भ्रमणलाई एएफसी एसिया कप छनोट प्रतियोगिताको तयारीका रुपमा लिएको एन्फाले जनाएको छ । छनोट प्रतियोगिताअन्तर्गत नेपालले भदौ २० गते ताजकिस्तानविरुद्ध काठमाडौंमा प्रतिस्पर्धा गर्नेछ । एएफसी एसिया कप छनोट प्रतियोगिताको समूह ‘डी’मा रहेको नेपालले फिलिपिन्स भ्रमणमा ५–१ को नतिजा बेहोरेको थियो भने यमनसँग घरेलु मैदानमा १–१ को बराबरी खेलेको थियो ।

Leave A Comment