बाँझोपनको उपचार

शनिबार, २१ साउन २०७४, १२ : ०७ शुक्रवार , Kathmandu
बाँझोपनको उपचार

मेरो विवाह भएको दुई वर्षसम्म पनि सन्तान भएन । विभिन्न ठाउँमा भाकल गर्नुका साथै औषधि उपचार पनि सुरु गरेँ तर सन्तान भएनन् । मेरा पतिले दोस्रो विवाह गर्दा पनि सन्तान भएनन्  । यसमा केही उपाय छ कि ?
रुक्मिणी, वर्ष २७, सिन्धुली

अध्ययनअनुसार करिब ६ प्रतिशत नेपालीमा बाँझोपनको समस्या रहेको छ । बाँझोपन महिला र पुरुष जसलाई पनि हुन सक्ने भए तापनि नेपालमा अज्ञानता र अन्धविश्वासका कारण यो समस्या महिलाहरुलाई नै हुन्छ भनेर लान्छना लगाउने गरिएको छ तर समस्या महिला–पुरुष दुवैलाई हुन सक्ने भएकाले दुवैलाई सँगै बोलाएर सोधपुछ, परीक्षण र आवश्यकताअनुसार उपचार गर्नुपर्छ ।  
बाँझोपन हुँदा पुरुषको परीक्षण नै नगरी महिलाको मात्र परीक्षण गर्ने, महिलालाई बहिष्कार गर्ने, कमजोर पार्ने, अर्की विवाह गर्ने कुसंस्कार छ । यो ठूलो सामाजिक समस्या हो । अध्ययनअनुसार बाँझोपनको ३५ प्रतिशत कारणहरु महिलामा र ३५ प्रतिशत नै कारण पुरुषमा पाइएको छ । बाँकी ३० प्रतिशत कारण महिला–पुरुष दुवै (दम्पती)मा वा कारण नै पत्ता नलागेको स्थिति छ ।
गर्भनिरोधक कुनै पनि साधन प्रयोग नगरेको र सन्तान प्राप्तिका लागि लगातार दुई वर्षसम्म प्रयत्न गर्दा पनि सन्तान भएन भने यस्तो अवस्थालाई बाँझोपन भनिन्छ । कतिपय महिला भने गर्भधारण गरे पनि विविध कारणले भ्रूण खस्ने समस्याबाट पीडित हुन्छन् । यसको पनि उपचार गरी बाँझोपनको समस्याबाट मुक्त हुन सकिन्छ ।
पुरुषमा बाँझोपनको कारण
विभिन्न कारणले गर्दा पुरुषमा बाँझोपनको समस्या देखिन सक्छ । शुक्रकीटको उत्पादन कम भएमा, वीर्यवाहिनी नलीमा ट्युमर वा यौनरोग संक्रमणका कारण बन्द भएमा सन्तान प्राप्तिमा असर पर्छ । त्यस्तैगरी हर्निया, हाइड्रोसिलको अप्रेसन गरेको अवस्थामा शुक्रवाहिनी नलीमा असर पुग्न सक्छ । शरीरको विकास क्रममा पुरुष हर्मोन विकास हुने बेलामा हर्मोन असन्तुलित हुँदा अण्डकोषको विकास हुँदैन । यस्तै आमाको पेटमा हुँदा अण्डकोष शरीरभित्र हुन्छ र जन्मिदा बाहिर आउँछ तर कसैकसैमा बाहिर नआई भित्रै बस्छ र कसैमा आधा भित्र र आधा बाहिर हुन्छ । यस्तो अवस्थामा पनि पुरुष सन्तान उत्पादनका लागि सक्षम हुँदैन ।
बालक जन्मिएपछि अण्डकोष परीक्षण गरी उपचार गरेमा भविष्यमा बाँझोपनको समस्या आउँदैन । अण्डकोषको राम्रो विकास नभएको, अप्रेसनका कारण शुक्रवाहिनी नलीमा असर परेको तथा शुक्रकीट कम उत्पादन भएको अवस्थामा पनि उपचार गरी बाँझोपनको समस्या हटाउन सकिन्छ । कहिलेकाहीँ भाइरस संक्रमणका कारण पनि अण्डकोष सुकेको हुन सक्छ । हाँडेरोग भाइरसका कारणले हुन्छ । यो रोग लागेको बेला भाइरस संक्रमण भई पेटको तल्लो भाग तथा अण्डकोष सुन्निने, दुख्ने हुन्छ र पछि अण्डकोष सुक्दै गई पहिलेको आकारभन्दा सानो हुन सक्छ । त्यसकारण हाँडेरोग भएको बेला अण्डकोष दुखेमा, सुन्निएमा तुरुन्तै डाक्टरलाई भेटिहाल्नुपर्छ ।
यस्तै शुक्रकीटहरु अण्डकोषबाट लिंगतर्फ भएर आउने नली विभिन्न कारणले टालिन सक्छ । कुनै पुरुषलाई टी.बी. भएमा टी.बी.का कीटाणुहरु संक्रमण भई शुक्रवाहिनी नली टालिन सक्छ । यस्तै सिफलिस, गनोरिया, एचआइभी÷एड्स आदि यौनसंर्सगबाट सर्ने यौनजन्य रोगका कारण पनि सन्तान उत्पादनमा बाधा पुग्न सक्छ । एड्सबाहेक अन्य रोगको उपचार गरी सन्तान प्राप्त गर्न सकिन्छ । यौनजन्य रोगहरु पहिले नै लागेर निको भइसकेको भए तापनि ती रोगका कीटाणुले शुक्रवाहिनी नलीको प्वाल साँघुरो पार्ने वा टाल्ने काम गरेको हुन सक्छ । उपचारपछि यस्ता प्वाल खोल्न सकिन्छ ।
महिलामा बाँझोपनको कारण
महिलामा बाँझोपन आउनुका मुख्य कारणहरुमा डिम्बको विकास समयमै हुन नसक्नु, अनियमित महिनावारी, डिम्बवाहिनी नलीको विकास हुन नसक्नु तथा रोगका कारण साँघुरिनु वा टालिनु हुन् । डिम्बवाहिनी नली बन्द हुनुमा नलीभित्र गाँठाहरु आउनु, टी.बी.लगायत अन्य विभिन्न यौनरोगको संक्रमण पनि हुन सक्छ । यस्ता रोग लाग्नासाथ उपचार गरेमा समस्या नै आउँदैन । समस्या आइसकेको अवस्थामा बेलैमा उपचार गरी सन्तान प्राप्त गर्न सकिन्छ । गर्भाधानका लागि मुख्य भूमिका खेल्ने अण्डको विकास समयमै नुहने समस्या बाँझोपनको प्रमुख कारणमध्ये हो । यसको पनि उपचार गरी समाधान गर्न सकिन्छ ।
असुरक्षित गर्भपतन पनि बाँझोपनको कारण बनिरहेकाले आवश्यक परेको बेला सुरक्षित तथा स्वीकृति प्राप्त संस्थामा गई गर्भपतन गराउनुपर्छ । असुरक्षित गर्भपतन गराउँदा अण्डवाहिनी नली टालिने, पाठेघरमा प्वाल पर्ने भई भविष्यमा गर्भ नै नरहने हुन सक्छ । यसबाहेक केही अज्ञात कारणहरु पनि हुन सक्छन् । सामान्यतः बाँझोपनको उपचार गरी सन्तान प्राप्त गर्न सकिन्छ तर उपचारमा ढिलाइ गर्नु हुँदैन र जथाभावी उपचार गराउनुभन्दा सम्बन्धित विशेषज्ञकहाँ नै परीक्षण तथा उपचार गराउनु उचित हुन्छ ।
नेपालका पुरुष तथा महिलामा बाँझोपन देखिनुको एउटा कारण पोषणयुक्त खानाको कमी पनि हो । प्रजनन स्वास्थ्य राम्रो बनाउनका लागि पोषणयुक्त खानामा जोड दिनुपर्छ । पोषणयुक्त खाना भन्नाले मकै, कोदो, गहुँ, फापर, कर्कलो, विभिन्न हरिया साग र तरकारीहरु, फलफूल, पाकेको फर्सी, भटमास, दाल आदि गेडागुडी आदि हुन् । यसका साथै मासु, माछा, अण्डा दूध पनि पोषणयुक्त खाद्यवस्तु हुन् । साथै लागूपदार्थको दुव्र्यसन, धूमपान, मादकपदार्थको अधिक सेवन पनि बाँझोपनको कारक हो ।
बाँझोपनको उपचार
बाँझोपनको उपचारका लागि दम्पती नै जाँदा राम्रो र जति छिटो चाँडो गएको राम्रो । औषधि उपचारबाट सन्तान प्राप्त नभएका अवस्थामा आईभीएफ (टेस्टट्युब बेबी) प्रविधिको सेवा पनि लिन सकिन्छ ।
महिलाहरुको अण्डवाहिनी नली बन्द भई बाँझोपन भएको अवस्थामा नलीको अप्रेसन गरी खोल्ने प्रयास भएको पनि पाइन्छ । यो विधि खर्चिलो भए तापनि त्यति प्रभावकारी नभएकाले निःसन्तान केन्द्रले यसको वैकल्पिक उपचारका रुपमा अप्रेसन नगरी नली खोल्ने उपचार पद्धति सुरु गरिएको छ । बाँझोपनको सामान्य उपचार त्यति खर्चिलो नभए पनि यसको विशेषज्ञ उपचार अलि खर्चिलो छ । त्यसैले कतिपय दम्पतीले उपचार सुरु गरे पनि उपचार बीचैमा छोड्ने गरेको पनि देखिन्छ । चाहेको बेला गर्भधारण गर्नु, सन्तान जन्माउन पाउनु महिलाको मौलिक अधिकार भएझैं सन्तान नभएका अवस्थामा सन्तान प्राप्तिको उपाय खोज्न पाउनु पनि महिलाको अधिकार हो । त्यसकारण बाँझोपनका कारण सन्तान प्राप्त नभएमा दम्पतीले समयमै उपचार सेवा लिएर सन्तान प्राप्तिको अवसर उपयोग गर्नुपर्छ । बाँझोपन पुरुष र महिला दुवै वा कुनै एक जनामा भएको स्वास्थ्य समस्याका कारण हुने भएकाले दम्पतीले नै स्वास्थ्य परीक्षण गरी उपचार गर्नुपर्छ ।

Leave A Comment