क्याबिन रेस्टुराँको नियति : मसाज सेन्टर

शनिबार, २१ साउन २०७४, ११ : ५६ शुक्रवार , Kathmandu
क्याबिन रेस्टुराँको नियति : मसाज सेन्टर

नेपालमा यौन व्यवसाय कानुनी रुपमा प्रतिबन्धित छ, दण्डनीय छ र यौन पेशालाई सामाजिक रुपमा अस्वीकार गरिएको पनि देखिन्छ । राजधानी काठमाडौंं, पर्यटकीय सहर पोखरा लगायतका सानाठूला हरेक सहरहरूमा भने यो पेशा मौलाएको भेटिन्छ ।  राजमार्गमा विभिन्न आवरणमा खुलेका कतिपय रेस्टुराँ, होटल, रिसोर्टहरूले यौन र मदिरा बेचेर कमाइरहेका छन् । सीमावर्ती सहरहरू भारतीय नागरिकको तिर्खा मेटाउने नाममा चलेको धन्दा होस् वा पोखरा र काठमाडौँको ठमेलजस्ता क्षेत्रमा विदेशीका नाममा चलिरहेको देह व्यापारको अपार असार होस्, यी सबै कुरा चलिरहेका छन्, आफ्नै गतिमा ।  समाजमा, पर्यटकीय क्षेत्रमा यौन पेशा खुला राख्नुपर्छ वा पर्दैन ? नेपाली समाजलाई अब त्यस्तो पेशा चाहिएको छ वा छैन ? सरकार र खास गरेर नियम बनाउने संसद् मौनजस्तै देखिन्छन् । सरकारका जिम्मेवार निकाय प्रहरी, प्रशासन कानुनले वर्जित गरेको तर जताततै चलिरहेको यो पेशाबारे बेखबर जस्तै देखिन्छन्, बेला बेलामा कानुनका डण्डा चलाउँछन् तर अधिकांश अवस्थामा भित्रभित्रै मिलामतो र लेनदेनको चक्र चलिरहेको हुन्छ ।
कुनैबेला राजधानी लगायतका मुलुकका ठूला सहरमा क्याबिन रेस्टुराँको मौसम थियो । बग्रेल्ती खुलेका त्यस्ता रेस्टुराँले बेच्ने मेनुमा यौन हुँदैनथ्यो तर त्यसैका लागि मानिसको ओइरो लाग्ने गरेका दृश्य देखिन्थे । क्याबिन रेस्टुराँले गति छाडेर यौन पस्कन थालेपछि त्यसा रेस्टुराँहरू चोतर्फी आक्रमणमा पर्दै बन्द हुँदै गए, प्रहरीले बन्द गराउँदै गयो । यसको अवशानका पछाडि गोप्यता राख्नुपर्ने यौन पेशा समाजमा छरपस्ट हुने गरी सञ्चालन हुनु हो । कानुनका छुट र बन्देजका कुरा आफ्नै ठाउँमा हुन्छन् । तर कानुनी बन्देजसँगै सामाजिक दबाब थपियो भने त्यो चुनौतीपूर्ण बन्छ र अर्कै परिणाम ल्याउन सक्छ । अहिले काठमाडौँको ठमेल लगायत विभिन्न स्थानमा वैधानिक बाटोबाटै मसाज सेन्टर खुलेका छन्, खुल्दैछन् र अधिकांश त्यस्ता मसाज सेन्टरहरू क्याबिन रेस्टुराँकै शैलीमा चल्दैछन् र त्यस्तै नियतिको प्रतीक्षामा छन् ।
ठमेल पर्यटकीय हब हो, त्यहाँ बर्सेनि ठूलो संख्यामा पर्यटकहरू आउँछन् । नेपाल घुम्न आउने त्यस्ता पर्यटकहरूलाई राम्रो खानपिन, बसोबास, मनोरञ्जन आवश्यक हुन्छ र त्यो व्यवसायीहरूले पु¥याउनुपर्ने हुन्छ । विदेशी पर्यटकमध्ये कतिपय देह सुख पनि चाहन्छन् र व्यवसायीहरुले उनीहरुको चाहना पुर्याउनुपर्ने बाध्यतामा पनि हुन्छन् । त्यो चाहना पूरा गराउनु वैध तरिकाबाट सम्भव छैन तर यही चाहनालाई बहाना बनाएर मसाज सेन्टरहरू सञ्चालमा ल्याइएको देखिन्छ । अब प्रश्न उठ्छ, विदेशीको नाममा खुलेका सेन्टरमा नेपालीहरूको आकर्षण छ कि विदेशीहरूको ? खासमा विदेशीको भिडभाड हुनुपर्ने हो तर व्यवहारमा त्यस्तो छैन । नेपालीहरू मसाज सेन्टरका प्रमुख ग्राहक भएको र कतिपय सेन्टरले मसाज सेन्टरको आवरणमा यौन धन्दा गरिरहेको चर्चा बारम्बार उठ्ने गर्दछ । मसाज सेन्टरमा तालिम प्राप्त सिपालु मसाजकर्ता प्रशस्त छन् त ? छैनन् । देखाउने काम एउटा, गर्ने धन्दा अर्कै भएको उदाहरण बन्न सक्छन्, मसाज सेन्टरहरू ।
हामीलाई यौनालय चाहिएको हो वा मसाज सेन्टर ? सबैभन्दा पहिला त्यसको निरुपण हुन आवश्यक छ । ओपन सेक्रेट जस्तै अवैध रुपमा मौलाइरहेको यौन व्यवसायलाई नियमित गर्न ढिला भैसक्यो । त्यसका लागि स्पष्ट कानुन आवश्यक हुन्छ । सरकार, संसद्को ध्यान त्यसतर्फ जान आवश्यक देखिन्छ । सहरीकरण र समाजको विकाससँगसँगै कतिपय यस्ता मामला हुन्छन्, जसको चर्को विरोध हुन्छ र आवश्यकता पनि उत्तिकै । कानुनी रुपमा बन्देज लगाइएका विषय कानुनमा मात्र सीमित हुनुहुन्न, ती व्यावहारिक रुपमा पनि हुनुपर्छ । प्रहरी अधिकृतको मुडअनुसार प्रयोग हुने कानुनले समाधानभन्दा आतंक फैलाउँछ । तसर्थ नीति निर्माण गर्नेहरूले समयको मागअनुसार यौन व्यवसायलाई नियमित गर्दै नियमसम्मत चल्ने÷चलाउने बाटो लिनु उचित हुन्छ ।

Leave A Comment